Play

महानगरपालिकाद्वारा लामेआहालमा नै फोहोर बिसर्जन

गुरुकुल खबर


पोखरा, फोहोरमैला बोकेका पोखरा महानगरपालिकाका गाडीहरूले १३ दिनपछि ल्याण्डफिल साइट लामेआहाल पुगेर फोहोर बिर्सजन गरेका छन् । महानगरको अस्थायी ल्याण्डफिल साइट सञ्चालनमा स्थानीयहरूले अवरोध गरेपछि फोहोरका गाडीहरू १२ दिनदेखि त्यस स्थानमा जान दिइएको थिएन ।

पोखराको दमकल शाखाबाट छुटेका फोहोरका ३० वटा गाडीहरूले वडा नं.३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल पुगेर फोहोर बिर्सजन गरेका हुन् । सोमबार बसेको जिल्ला सुरक्षा समिति कास्कीको बैठकले फोहोर बिर्सजनको काममा भैरहरको स्थानीय अवरोधलाई समन्वयात्मक ढङ्गले हटाउँदै फोहोर बिसर्जन गर्ने कार्यलाई सुचारु गर्ने निर्णय गरेसँगै मगंलबार फोहोर बिसर्जन गरिएको हो ।

अस्थायी ल्याण्डफिल साइट सञ्चालनका क्रममा गरिएको सहमति कार्यान्वयनका सवालमा केही कमजोरी भएको भन्दै स्थानीयहरूले फोहोर नल्याउन भनेका थिए । यस सम्बन्धमा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी लगायत वडा अध्यक्षहरूको समेत उपस्थितिमा केही दिन अघि सार्वजनिक छलफल गरिएको थियो ।

सो क्रममा महानगरका प्रमुख आचार्यले फोहोरमैलाको दिगो समाधानका लागि स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको र अत्याधुनिक प्रविधि खरिदका लागि ग्लोबल टेन्डर आह्वान भई उपयुक्त कम्पनी छनौटको प्रक्रियामा रहेको बताएका थिए । अस्थायी ल्याण्डफिलका सम्बन्धमा गरिएको सम्झौता अक्षरशः कार्यान्वयनका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले विश्वास दिलाएका थिए । समस्याको समाधानका खातिर थप छलफल गर्न आफूहरू निरन्तर लागिरहेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए ।

असन्तुष्ट स्थानीयहरूसँग यसअघि भएको पटक पटकको छलफलमा पनि महानगरपालिकाले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउँदै आएको छ । तर, केही स्थानीयहरूले फोहोर ल्याउनै नदिने अडानका साथ अदालतसम्म पुगेको यस विषयका सम्बन्धमा उच्च अदालत पोखराले समेत फोहोर बिर्सजन गर्ने कार्यमा अवरोध सृजना नगर्न भनेको थियो । मङ्गलवार फोहोर बिर्सजन कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सुरक्षाको प्रबन्ध मिलाएका थिए । हाल पोखरा महानगरपालिकाले बजार क्षेत्रमा फोहोर सङ्कलनको काम गरिहरेको छ ।

यसैबिच पोखरा महानगरपालिकाले फोहोर मैला व्यवस्थापन नियमावलीको नियम २४ को खण्ड (छ) मा गरिएको व्यवस्था बमोजिम घर, कम्पाउन्ड वा परिसरको फोहोर मैला सडक वा अन्य सार्वजनिक स्थलमा जथाभाबी राख्ने, फाल्ने वा थुपार्ने कसुर गरेको पाइए रु.५ हजार देखि १५ हजारसम्म जरिवाना गर्ने समेत बताएको छ ।

२४ श्रावण २०८०, बुधबार १५:०६ मा प्रकाशित
Nabintech