Play

पोखराको फोहोर लामेआहालमै व्यवस्थापन गरिने

गुरुकुल खबर


पोखरा, पोखराको फोहोर लामेआहालमै व्यवस्थापन गरिने भएको छ । स्थानीयको विरोधपछि २ सातादेखि फोहोर उठ्न नसकेकोमा अदालतको आदेशसँगै पोखरा महानगरले मंगलबार लामेआहालमै फाल्ने जनाएको छ ।

फोहोर बिसर्जनमा कुनै बाधा अवरोध भए बल प्रयोग गरिने महानगर प्रवक्ता मोती तिम्सिनाले अवगत गराए । ‘स्थानीयसँग हामी पटक–पटक छलफलमा बस्यौं । राजनीतिक दलसँग पनि बैठक भयो,’ उनले भने । उनका अनुसार महानगरले १६ बुँदे सम्झौता अक्षरसः पालना गर्ने, महानगरले गर्नुपर्ने व्यवस्थापकीय पाटो कडाइसाथ गर्ने, कही कतै कमजोरी हुन नदिने, स्थानीयको स्वास्थ्यमा सजग हुँदै संरचना निर्माणको काम गर्ने गरी फोहोर उठाउने सहमति भएको छ ।

तर लामेआहालमा फोहोर मैला रोक्न गठित संघर्ष समितिले भने त्यस्तोखालको सहमति नभएको जनाएको छ । तारान्तर छलफल भए पनि फोहोर फाल्ने विषयमा सहमति नभएको संघर्ष समितिका सचिव भुवानीप्रसाद पौडेल बताउँछन् ।
मंगलबार फोहोर ल्याएमा विरोध गर्ने उनले बताए । ‘हामीले नाराबाजी गर्छौं,’ उनले भने, ‘उहाँहरुले धरपकड गर्नुभयो भने त त्यहाँको स्थिति के हुन्छ भन्न सकिन्न तर अप्रिय घटना घटाउने पक्षमा छैनौं ।’ उनका अनुसार यस विषयमा केहीले सहमति जनाए पनि धेरैको असहमति छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै ६ महिनादेखि लामेआहालमा अस्थायीरुपमा फोहोर बिसर्जन हुँदै आएकोमा महानगरसँग सहमति पूरा नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए । सो विषयमा स्थानीय अदालत पुगेका थिए ।
उच्च अदालत पोखरामा उनीहरुले रिट दायर गरेपछि फोहोर कता फाल्ने भन्ने विषय अन्यौल थियो । लामेआहालमा फोहोर फाल्न रोक्न अन्तरिम आदेश माग गर्दैस्थानीय रविन केसीसहित ३ जनाले ११ साउनमा दायर रिटमा आइतबार अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको छ ।

अन्तरिम आदेश नआएकोले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म महानगरपालिकालाई कानुनी बाटो खुला भएको जनाइएको छ । कानुनी बाटो फुकुवापछि महानगरको टोलीले सोमबार स्थानीयसँग छलफल प्रयास गरेको खबर आदर्श समाज दैनिकमा छ ।

२३ श्रावण २०८०, मंगलवार ११:५८ मा प्रकाशित
Nabintech