Play

पोखराको भद्रकाली मन्दिर : धार्मिक आस्था र पर्यटकीय आकर्षणको संगम

गुरुकुल खबर


पोखरा, पर्यटकीय नगरी पोखरा प्राकृतिक र धार्मिक रुपले निकै समृद्ध मानिन्छ । धार्मिक क्षेत्रको कुरा गर्दा पोखराको भद्रकाली मन्दिर एउटा लोकप्रिय गन्तव्यका रुपमा रहेको छ । हरियो जंगलले ढाकेको सानो डाँडाको थाप्लोमा रहेको छ भद्रकाली मन्दिर । मन्दिर क्षेत्रको कूल परिधि भने ९ सय ५० मिटर रहेको छ ।

सुरुमा १९०१ सालमा भद्रकाली मन्दिरको लालमोहर भएको र रामचन्द्र खत्रीले गणेश मन्दिर स्थापना गरेको इतिहास सुनाउँछन् गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ । इतिहास अनुसार गणेश मन्दिरको पूजा गर्दै जाँदा पछि भद्रकाली देवीले ‘म पनि यहीं छु, मेरो कसैले सोधखोज गरेनन्, भन्ने गुनासो गौंडाका मुखका ढेवाजू परिवारलाई सपनामा गरिन् । मेरो पनि सोधखोज गरेर पूजा गरेमा तिम्रो परिवारलाई र तिम्लाई लाभ हुने छ’ भनेर ढेवाजू परिवारलाई भने अनुसार मन्दिर परिसरमा खोतलेर हेर्दा कालो वर्णको शिला देखिएको र तिनैलाई देवी मानेर पूजा गर्न थालिएको भनाइ छ । पछि भने ढेवाजू परिवार काठमाडौं गई अष्टभुजको ठूलो मूर्ति ल्याएर देबीको रुपमा प्रतिष्ठापित गरेको समितिले जनाएको छ ।

अहिले मन्दिर भएको थाप्लो सुरुमा मुडुला थुम्की, त्यसपछि गणेश मन्दिर स्थापनासँगै गणेश थुम्को र भद्रकालीको महिमा र प्रचारले पछि भद्रकाली डाँडा नामकरण भएको हो । आराध्यदेवीको रुपमा वरपरका बासिन्दा र पोखरावासीले यस क्षेत्रमा पूजा गर्छन् । भद्रकालीलाई धेरैले कुलदेवता र आराध्यदेवीको रुपमा पुज्छन् । भाकल र मनोकामना पूरा हुन्छ भन्ने मान्यताअनुसार कालीलाई दान गर्छन् । यहाँ गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर र हनुमानको मूर्ति पनि छन् । दसैंमा नवरात्रभरि यहाँ मेला लाग्छ । चैतेदसैंमा पनि भीड हुन्छ । मंगलबार, शनिबार र पूर्णिमामा पनि पूजा हुन्छन् । विवाह, व्रतबन्ध, संकल्प पूजाहरु, शतवीज छर्ने, नयाँ वर्ष र चैतेदसैं मेला तथा शुक्लपक्षको अष्टमी तिथिमा महाआरती जस्ता गतिविधि यहाँ हुन्छन् ।

गणेश तथा भद्रकाली मन्दिर सेवा समितिले यहाँ पानी टंकी निर्माण र सिँढी बनाउने, बिजुली लाने, मठमन्दिर मर्मत सुधार र रंगरोगन तथा संरचनाको पुनर्निर्माणका काम गरेको छ । मन्दिर क्षेत्रलाई देवी पञ्चायन शक्तिपीठको रुपमा विकास गरेर जाने भन्ने गुरुयोजना पनि बनेको छ । एउटा शिवालय बनाउने र सूर्यनारायणको मन्दिर स्थापना गरेर कालीलाई माझमा राख्ने योजना छ । २०७२ सालको महाभूकम्पले भद्रकाली मन्दिरमा क्षति पुगेको छ । यसको पुनर्निर्माण गर्न पुरातत्व विभागसँग स्वीकृत लिइएको छ । भविष्यमा यहाँ गुरुकुल आश्रम चलाउने, मन्दिर वरपर बनेको पैदल मार्ग पूर्ण गर्ने, उत्तरी भागलाई रमणीय बनाउने गुरुयोजना तयार भएको छ । भद्रकाली शान्ति वाटिका (पार्क) बनाउने योजना अन्तर्गत यहाँ ठुलो पोखरी पनि तयार गरिएको छ । मन्दिरको गुठीअन्तर्गत डाँडा र समथर गरेर कूल १ सय ३० रोपनी जग्गा रहेको छ । कुँडहरको तीन रोपनी र औद्योगिक क्षेत्र अघि मान्द्रे भन्ने ठाउँको छ रोपनी थप जग्गा मन्दिरको नाममा आउन बाँकी रहेको बताइन्छ ।

मन्दिर क्षेत्र हरियो जंगल र चराचुरुंगीको आवाजले जीवन्त लाग्छ । सानो थुम्को भए पनि यो क्षेत्र जैविक विविधताका हिसावले धनी रहेको छ । पछिल्लो पटक थुम्कोको वरपर समथर भागमा तलपट्टि पैदलमार्ग निर्माणको काम अगाडि बढेको छ । यसले मन्दिर क्षेत्रको आकर्षणमा थप टेवा पुर्याएको छ । मन्दिरसम्म जानका लागि सिढीको व्यवस्था गरिएको छ । डिलपट्टि फलामको रेलिंग राखिएको छ । एकातर्फबाट उक्लिएर अर्कोपट्टिबाट झर्ने सुविधा समेत यहाँ रहेको छ । देशविदेशका पर्यटक समेत भद्रकाली मन्दिर पुग्ने गरेका छन् । शारीरिक तन्दुरुस्तीका लागि समेत भद्रकाली मन्दिर क्षेत्रमा विभिन्न व्यक्तिहरुको चहलपहल देख्न सकिन्छ ।

(गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ सँगको कुराकानीमा आधारित)

२ श्रावण २०८०, मंगलवार १४:२१ मा प्रकाशित
Nabintech