Play

कमलपोखरीको विशेषताः तालैभरि कमल घारी

तालको संरक्षणमा सम्वन्धित निकाय थप सक्रिय हुन जरुरी देखिन्छ


गुरुकुल खबर


पोखरा, लेखनाथका सात ताल र पोखराको फेवा गरी कास्कीलाई आठ तालको जिल्ला मानिन्छ । तर पोखरेली जनसंख्याको ठूलो हिस्सालाई अझै पनि थाह छैन फेवाबाट केही किलोमिटरको दुरीमा अर्को एउटा सुन्दर ताल पनि रहेको छ ।

बजार विचमै लुक्न पुगेको यो ताल हो बुडुवा ताल अर्थात् कमल ताल । यसलाई कमल पोखरी नामले समेत चिन्ने गरिन्छ । पछिल्ला बर्षहरुमा यही कमल तालको संरक्षण गरी आय आर्जनको माध्यम बनाउने अभियानमा स्थानीय दलित समुदाय कम्मर कसेर लागेका छन् । उनीहरुलाई अन्य समुदाय र सरकारी तथा गैरसरकारी निकायको समेत साथ मिल्न थालेको छ । ताललाई धर्म र पर्यटनको संगमस्थल बनाउने योजना उनीहरुको छ । रामसार सूचीमा समेत परिसकेको कमल तालको समस्या माटो, गेग्रयान र करौती झारले पुरिंदै जानु हो । तर पोखरा महानगरपालिका– १३ बाँझापाटनसँगै रहेको यो तालबाट अहिले ९० प्रतिशत करांैती झार हटाइसकिएको कमल पोखरी संरक्षण समितिको दाबी छ । बर्खाको समयमा गेग्रयान बोकेर तालमा आउने बाँसखोलाको पुछारमा तटबन्द समेत निर्माण गरिएको छ । यसले धेरै हदसम्म ताल पुरिनबाट जोगिने निश्कर्ष समितिको रहेको छ । आयआर्जनमै टेवा पुगोस् भनेर तालमा केही डुंगा समेत व्यवस्था गरिएको छ । डब्लूडब्लूएफ हरियो बनले विगतमा यस कामका लागि सहयोग गरेको थियो ।

पोखराको मुख्य बजार महेन्द्रपुलबाट चार किलोमिटर दक्षिणपूर्वमा रहेको यो तालको संरक्षणका लागि पोखरा महानगरपालिका, पर्यटन कार्यालय पोखरा, पोखरा उपत्यका नगरविकास समिति, सरकारले गठन गरेको ताल संरक्षण समिति, तत्कालिन जिल्ला विकास समिति कास्की, जिल्ला बन कार्यालय र हरियो बनले आर्थिक सहयोग गरेको कमलपोखरी संरक्षण समितिले जनाएको छ । सिमेण्टको पर्खालमाथि जाली राखेर ताल घेराबन्दी गरिएको छ । अझै घेराबन्दीको काम पूरा गर्न बाँकी रहेको, ताल वरपर नाली र पैदलमार्ग निर्माणको काम सम्पन्न गर्न बाँकी नै रहेको देखिन्छ । यी सबै काम सम्पन्न भएपछि तालमा बढी भन्दा बढी पर्यटक आकर्षित गर्ने र वरपर रेष्टुराँ तथा होटल निर्माण गर्न प्रोत्साहनगर्ने शोच समितिको रहेको छ । सँगै जोडिएको जयकोट सामुदायिक बन चरा अवलोकनका लागि उपयुक्त रहेको छ ।

आठ मिटर गहिरो र ३२ रोपनी क्षेत्रफलमा रहेको तालको प्रमुख आकर्षण कमल पनि हो । त्यही भएर तालको नाम कमल पोखरी राखिएको हो । बर्खाको समयमा कमल झनै फस्टाउँछ र असार महिनासँगै फूल्न पनि थाल्छ । कमल फुल्दा तालको मनमोहकता झनै बढ्छ । जण्डिसका विरामीका लागि जरा, पात र कमलको दाना औषधि हुने बताइन्छ । यसैका लागि कमलको जरा उखेल्ने क्रम बढेपछि आमा समूहको सक्रियतामा त्यस्तो कार्य रोकिएको छ । केही बर्ष अघि सम्म तालका माछा मार्न करेन्ट र विष समेत प्रयोग गर्ने गरिएकोमा त्यो कार्य पनि हाल बन्द गरिएको दाबी समितिको छ । तीन दशकअघि सम्म बुडुवातालको नामले बढी चिनिने ताल पछिल्ला बर्षहरुमा भने कमल पोखरीका नामले प्रख्यात छ । नागपञ्चमीका दिन यहाँ नागको पूजा हुन्छ र मेला पनि लाग्छ । थप आकर्षणका लागि तालको विचमा नागको विशाल मूर्ति समेत प्रतिस्ठापित गरिएको छ । ताल किनारमा विश्वकर्मा बाबा, दुर्गा, राधाकृष्ण र गणेश देवताको मन्दिर पनि बनाइएका छन् । नाग र विश्वकर्माको मूर्ति र मन्दिर दलित समुदायले नै बनाएका हुन् । कमल पोखरी आमा समुह गठन गरी महिलाहरुलाई समेत २०४८ सालदेखि ताल संरक्षणमा एकिकृत गरिएको छ ।

ताल संरक्षणका लागि, द्यौसी भैलो कार्यक्रम, चन्दा संकलन र श्रमदानजस्ता अभियान पनि संचालन गरिएको थियो । समाजसेवी धनपति तिमिल्सिनासँग जग्गा माग गरी पाटी बनाउने, केशबहादुर विकको सक्रियतामा टिम बनाई ताल सिमांकनको काम र मेसिनरी वाल तथा रेलिङ निर्माणका काम समेत भएका छन् । दर्शनार्थीकालागि पाटी निर्माण भने केश बहादुर विकको निजी लगानीमा गरिएको थियो । ताल सम्म पुग्ने बाटो निर्माणका लागि समाजसेवी धनपति तिमिल्सिना, कृष्ण गौतम (धैर्य) र शेरबहादुर कार्की लगायतका व्यक्तिहरुले जग्गा दान समेत गरेका थिए । समाजसेवी रामबहादुर पौडेल र पोखरा उपत्यका नगरविकास समितिका तत्कालिन अध्यक्ष विश्वप्रकाश लामिछानले पनि आर्थिक निकासमा साथ दिई ताल संरक्षणमा सघाएका थिए । ताल पुरिने क्रम अझै नरोकिएकाले यति सुन्दर तालको संरक्षणमा सम्वन्धित निकाय थप सक्रिय हुन जरुरी देखिन्छ ।

 

१९ असार २०८०, मंगलवार १२:०२ मा प्रकाशित
Nabintech