Play

अन्नपूर्ण सेन्चुरी महोत्सव र म्याराथनको तयारी, घान्द्रुकमा एक रातमा १५ सय पाहुना राख्न सकिने,फोहोर गर्नेलाई ५ सय जरिवाना( भिडियो सहित )

गुरुकुल खबर


पोखरा । कास्कीको पर्यटकीय गाऊं घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा जेठ १७ देखि २० गतेसम्म घान्द्रुकमा अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो संस्करण हुने भएको हो ।

दोश्रो संस्करणसम्म भएर विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस ९कोभिड–१९०का कारण तीन वर्षदेखि रोकिएको महोत्सव यस वर्ष “पर्यटनका लागि सबै मौषम” भन्ने मूल नाराका साथ गरिन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ । महोत्सवको तयारी तिव्र पारिएको र हालसम्म ८० प्रतिशत तयारी सकिएको महोत्सव आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिएका छन ।

महोत्सवको अवसरमा आयोजित अन्नपूर्ण म्याराथन प्रमुख आकर्षणको रुपमा रहनेछ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको विश्व कीर्तिमान राखेको दिन अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसरमा पारेर म्याराथन गर्न लागिएको हो । महिला र पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गरिने संयोजक ललित गुरुङले बताए ।
अन्नपूर्ण आधारशिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुने कार्यक्रम रहेको छ ।

अल्टिमेट एडभेञ्चर नेपालको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजार रुपैया सहित पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सव संयोजक गुरुङले जानकारी दिए।

महोत्सवको अवसरमा गाउँस्तरीय भलिबल, बास्केटबल, छेलो, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, घैंटो फुटाउने, म्यूजिकल चेयरलगायतका खेलकुद गतिविधिहरुपनि हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानिय व्यवस्थापक विक्रम गुरुङले जानकारी दिए । भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक र प्रमाण पत्र प्रदान गरिने छ ।

महोत्सवको अन्य आकर्षणहरुमा झाँकी प्रदर्शन, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, हर्स राईडिङ गर्दै पर्यटकीय गाउँ घान्द्रुकको अवलोकन, पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम हुने समेत गुरुङले बताए जा।

महोत्सवले पर्यटनमा छाएको मन्दीको संकट मोचन गर्ने अपेक्षा गरिएको स्थानिय समाजसेवी किसम गुरुङले बताए । ‘कोभिड र अहिले छाएको मन्दीले पर्यटन व्यवसाय आक्रान्त छ । यो महोत्सवले पर्यटनमा देखिएको संकट मोचन गर्ने विश्वास हाम्रो छ – उनले भने ।

दोश्रो संस्करण पछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड – १९ का कारण तीन वर्षदेखि रोकिएको पर्यटन महोत्सव पुन: यस बर्ष देखि सन्चालनको तयारी गरिएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै उनिहरुले धान्द्रुक पर्यटकीय क्षेत्र भएकोले सफाईमा विशेष ध्यान दिन लागिएको र कसैले फोहोर गरेमा ५ सय रुपैया जरिवाना गर्न लागिएको जानकारी दिए ।
घान्द्रुकका होटलहरुमा एक रातमा १ हज़ार पाँच सय जति पाहुनालाई राख्न सकिने अवस्था रहेको र सिजनमा सबै होटल भरिभराउ हुने गरेको उनिहरुले बताए ।

घान्द्रुकमा स्थानीय उत्पादन नहुंदा फलफुल र तरकारी मात्र नभएर विभिन्न खानेकुरा एवं गाई भैंसीको दुध राखेर चिया समेत खान नपाउने अवस्था रहेकोले त्यसको अन्त्य गरि स्थानीय उत्पादन बढाउन र तिनकों प्रयोग गर्ने तर्फ पहल शुरु गरिएको उनिहरुले बताए ।

४ जेष्ठ २०८०, बिहीबार २१:१४ मा प्रकाशित
Nabintech