Play

प्रतिनिधिसभामा रिक्त ३ सदस्य चुन्न आइतबार मतदान हुँदै

गुरुकुल खबर


पोखरा । प्रतिनिधिसभामा रिक्त ३ सदस्य चुन्न आइतबार मतदान हुँदै छ।

तनहुँ निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको क्षेत्र र  रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको बारा निर्वाचन क्षेत्र नं. २ मा मतदान हुनेछ।

यसैगरी नागरिकता विवादमा दोषी ठहर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित चितवन निर्वाचन क्षेत्र नं. २ मा पनि आइतबार नै मतदान हुँदै छ।

निर्वाचन आयोगले मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरेको छ।

उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन समितिहरूका अतिरिक्त निर्वाचन आयोगले विशेष अनुगमन टोलीसमेत खटाएको जनाएको छ।

आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।

मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत निर्देशन दिइसकिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले भनेको छ।

आयोगले प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी गराउन निर्देशन समेत दिएको आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

आयोगले निर्देशन दिएका निकाय

१.नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित र सघन अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने।

२.उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्ने।

३.बुँदा नं. २ मा उल्लेखित अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने।

४.निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दान दातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँ कतै भए गरेको पाइए कानुनबमोजिम तत्काल कारबाही गर्ने।

५.निर्वाचन आचारसंहिता, निर्वाचन आयोग तथा जिल्ला सुरक्षा समितिको निर्णय तथा अनुमति विपरीत निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन मतदान सम्पन्न नभएसम्म कब्जामा लिई आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउने।

 

९ बैशाख २०८०, शनिबार २२:२४ मा प्रकाशित
Nabintech