Play

ढाकाकुमार भन्छन्: मविरुद्ध कसैले पनि उजुरी दिएको थिएन, सञ्चारमाध्यममा आएको समाचारकै भरमा कारबाही गरियो, रविजीलाई पनि त्यस्ता न्यूज कति आएका थिए. त्यो पनि त सोच्नुपर्‍यो नि !

गुरुकुल खबर


काठमाडौं । राजनीतिमा लागेर छोटो समयमै संसदमा पुगेका डा. ढाकाकुमार श्रेष्ठ भ्रष्टाचार काण्डमा मुछिएर शीघ्र पतन भएका छन् । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो सार्वजनिक भएपछि उनको राजनीतिक करिअर धरापमा परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले सोही अडिओलाई आधार बनाएर ढाकालाई पार्टीबाट निष्कासन गर्‍यो । साथै उनलाई सांसदबाट समेत हटाउन संसद सचिवालयलाई पत्राचार गरिएको छ । पार्टीले ढाकाको स्थानको विन्दबासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णयसमेत लिइसकेको छ ।

ढाकाले भने केन्द्रीय समितिको निर्णयमा असहमति जनाउँदै पार्टीभित्र पुनरावेदन गरेका छन् । साथै उनले हिजो सभामुख देवराज घिमिरेलाई भेटेर आफूलाई सांसदबाट नहटाउन अनुनयसमेत गरे । पार्टीले आफूमाथि गरेको कारबाही प्रक्रियासम्मत नभएको ढाकाको दाबी छ ।

ढाकाले पार्टीको विधान मिचेर आफूमाथि कारबाही गरिएको बताए । कसैको उजुरी परेपछि मात्रै अनुशासन समितिले छानबिन र कारबाही गर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ ।

‘मविरुद्ध कसैले पनि उजुरी दिएको थिएन । सञ्चारमाध्यममा आएको समाचारकै भरमा कारबाही गरियो । मैले कानूनी परामर्श गर्दा यसरी कारबाही गर्न नमिल्ने रहेछ’, उनले भने ।

सार्वजनिक भएको अडियोमा सुनिने आवाज आफ्नो नभएको जिकिर ढाकाले गर्दै आएका थिए । नेपाल प्रेससँगको कुराकानीमा पनि उनले आफूले अन्य सन्दर्भमा बोलेका कुराहरुलाई जोडजाड गरेर यो अडियो बनाइएको हुनसक्ने आशंका व्यक्त गरे । पार्टीको कोर टीमका विषयमा उनले अनभिज्ञता प्रकट गरे।

‘अडियो नै मेरो होइन भनिसकेपछि कोर टीमबारे मलाई थाहा हुने कुरै भएन’, उनले भने, ‘मलाई पार्टीमा कसैले मन्त्री बन्न पैसा मागेको पनि थिएन ।’

उनले आफूमाथि कारबाही भएमा कोर टीम सार्वजनिक गरिदिन्छु भनेर पार्टीलाई चेतावनी दिएको कुरा पनि अस्वीकार गरेका छन् ।

– तपाईंले पार्टीमा के भनेर पुनरावेदन गर्नुभएको हो ?

मलाई कारबाही गर्दा प्रक्रिया पुगेको छैन, कानूनसम्मत छैन भनेको छु । कारबाही फिर्ता हुनुपर्छ भन्ने माग गरेको छु ।

लिखित स्पष्टीकरण नै सोध्नुपर्छ भन्ने हाम्रो विधानमा रहेछ । अर्कोतिर सांसदबाट हटाउने सिफारिस गर्दा पनि कुनै पनि मापदण्ड पुगेको छैन । राजनीतिक दलसम्बन्धी ऐनमा कस्तो बेला सांसदको पद रिक्त हुने भन्ने सर्त उल्लेख गरिएको छ । तर, त्यमसा मेरो कुनै पनि क्राइटेरिया मिलेको छैन ।

– के प्रक्रिया पुगेन र ?

एउटा कुरा चाहिँ अनुशासन समितिले छानबिन गर्न कसैले उजुरी हालेको हुनुपर्ने रहेछ । त्यो उजुरी नपरिकन सञ्चारमाध्यममा आएको भरमा हुँदैन रहेछ । दोस्रो कुरा, कारबाही गर्नुअघि केन्द्रीय समितिले लिखित स्पष्टीकरण सोध्नैपर्ने रहेछ । यी प्रक्रियाहरु उल्लंघन भएका छन् ।

– तर, केन्द्रीय समितिले तपाईंलाई बैठकमै बोलाएर स्पष्टीकरणको मौका त दिएको हो नि ?

यसो बोलाइएको थियो । तर, त्यो गफसफ गरेको जस्तो मात्रै भयो । लिखित स्पष्टीकरण नै सोध्नुपर्छ भन्ने हाम्रो विधानमा रहेछ । अर्कोतिर सांसदबाट हटाउने सिफारिस गर्दा पनि कुनै पनि मापदण्ड पुगेको छैन । राजनीतिक दलसम्बन्धी ऐनमा कस्तो बेला सांसदको पद रिक्त हुने भन्ने सर्त उल्लेख गरिएको छ । तर, त्यमसा मेरो कुनै पनि क्राइटेरिया मिलेको छैन । त्यसैले मेरो सांसद पद कायम रहनेमा विश्वस्त छु ।

– तर, पार्टीले त तपाईंलाई हटाउने निर्णय गरेर अर्को सांसद सिफारिस पनि गरिसक्यो नि ?

त्यो उहाँहरुको अपरिपक्वता हो । उहाँहरुले फ्याट-फ्याट बोल्नुहुन्छ र गर्नुहुन्छ । कसले कानूनी सल्लाह दिइरहेको हो । कसले कसरी गरिरहेको हो । कानून भनेको त म्याथम्याटिक्स जस्तो हुँदोरहेछ फेरि । एकपटक कारबाही गरिसकेपछि र दोहोर्‍याएर गर्न पनि नमिल्ने रहेछ ।

– हिजो सभामुखसँग भेटेर छलफल गर्नुभएको थियो । उहाँले के भन्नुभयो ?

सभामुखले ममाथि कारबाहीको सिफारिसबारे निर्णय गर्नुभएको छैन । सभामुखसँग हिजो छलफल गरेको थिएँ । ठीकै छ डाक्टरसाब, अलि दिन सांसद नआउनु, मिलेपछि आउनुहोला भन्नुभएको छ ।

– तर, पार्टीले चिठी पठाइसकेपछि सभामुखले तपाईंलाई जोगाउन सक्नुहुन्छ र ?

त्यो विषयमा संसद सचिवालयले छानबिन गर्दै होला । म चाहिँ सभामुखज्यूबाट न्याय पाउनेमा विश्वस्त छु । फेरि त्यहाँबाट पनि गल्ती दोहोरिनुभएन । सभामुख जस्तो मान्छे कुनै पार्टीको स्वार्थमा पक्कै हिँड्नुहुन्न । उहाँ भनेको सबै जनताको प्रतिनिधि हो । सबै सांसदहरुको अभिभावक हो । अमुक पार्टी वा व्यक्तिको स्वार्थमा उहाँ हिँड्नुहुँदैन । जे संविधानमा, दलीय ऐनमा लेख्या छ, त्यहीअनुसारले कारबाही गर्नुपर्छ ।

सभामुखबाट मैले न्याय पाउने अपेक्षा गरेको छु । निःस्वार्थ भावनाले कानूनमा टेकेर निर्णय सुनाउनुहोला । उहाँबाट पनि भएन भने त मैले यो विषयलाई लिएर अदालतको ढोका नै ढक्ढकाउनुपर्ने हुन्छ । त्यसपछि अर्को विषय त छँदैछ ।

योबीचमा मैले थुप्रै जनासँग कानूनी सल्लाह लिएँ । ऐनमा सांसदको स्थान रिक्त हुने चार-पाँचवटा बुँदा रहेछन् । तीमध्ये कुनै बुँदामा नटेकिकन पार्टीले कारबाही गर्न मिल्दो रहेनछ । पार्टीले यो सांसद ठीक छैन, निकालौं भन्दैमा हुँदैन । नियम-कानूनमा टेकेर काम गर्नुपर्‍यो नि !

– अब तपाईं सभामुखले निर्णय गरुञ्जेल पर्खिनुहन्छ कि संसद बैठकमा जानुहुन्छ त ?

म जान मिल्छ । जान सक्छु । तर, के भने अहिलेलाई सबै कुराहरु तात्तातै छ भनेर धैर्यधारण गरेर बसिराख्या छु केही दिन । मैले दुई वटामात्रै बैठक छोडेको हो । अस्तिसम्म त गएकै थिएँ । सल्लाह गरेर जान चाहिँ मिल्छ । अहिलेसम्म मेरो पद गएको छैन ।

सभामुखबाट मैले न्याय पाउने अपेक्षा गरेको छु । निःस्वार्थ भावनाले कानूनमा टेकेर निर्णय सुनाउनुहोला । उहाँबाट पनि भएन भने त मैले यो विषयलाई लिएर अदालतको ढोका नै ढक्ढकाउनुपर्ने हुन्छ । त्यसपछि अर्को विषय त छँदैछ । म त्यसमा पनि निर्दोष सावित भएर अगाडि आउँछु ।

– अर्को विषयको कुरा गर्दा सार्वजनिक भएको अडियो तपाईंले आफ्नो होइन भन्नुभएको थियो । अहिले पनि त्यसै भन्नुहुन्छ ?

यस्तो हो । अडियो नै काल्पनिक छ के ! मैले अन्त कताकता बोलें होला । त्यसलाई इडिटिङ गरेर बनाइएको छ ।

– अडियोको आवाज आफ्नै हो । तर, जोडजाड पारेको भन्न खोज्नुभएको हो ?

अँ, कुनै स्वर होला, कुनै काट्यो होला । कुनै के गर्‍यो होला । सुन्दा मेरो जस्तै सुनिन्छ । तर, नहुन पनि सक्छ । अहिलेको टेक्नोलोजीमा के हुँदोरैछ भने क्रोनिङ भन्ने हुँदोरहेछ । जस्तो कि तपाईं जे बोलिरहनुभएको छ नि त्यसमा टक्रक्क मेरो स्वर हाल्न मिल्दो रहेछ । त्यो त भ्वाइस टेस्ट गर्दा पनि पत्ता नलाग्दो रहेछ ।

जस्तो म र तपाईं बोल्यौं, कुनै मान्छेले तपाईंको भ्वाइसमा एबीसीडीको भ्वाइस हालिदियो भने क्रोनिङ भन्दोरहेछ त्यसलाई । तपाईं जुन-जुन कुरा बोलिरहनुभएको छ, अर्को व्यक्तिको स्वरमा टक्रक्कै आउँदो रहेछ । भोलि भ्वाइस टेस्ट गर्दा पनि उसैले बोलेको भन्ने ठहरिँदो रहेछ । योसम्मको प्रविधि छ नि त !

रविजीकै कुरा गरौं न । हुन त पार्टीको कुरा बाहिर किन गरौं भन्ने हो । तर, रविजीलाई पनि त्यस्ता न्यूज कति आएका थिए । न्यूजलाई नै आधार मान्ने हो भने त रविजी कहाँ पुग्नुहुन्थ्यो, त्यो पनि त सोच्नुपर्‍यो नि !

दुर्गा प्रसाईले यतिसम्म गरे होला त तपाईंलाई फसाउन ?

हुन सक्छ । जालझेल न हो । पार्टी-पार्टीको विवादमा म मुछिएँ । उसको स्वास्थ्यतिरको काम भइरहेको, म डाक्टर, म स्वास्थ्यमन्त्री बन्ने-नबन्ने भन्ने खालको बाहिर हल्ला आइरहेको । तर, पार्टीभित्र त्यस्तो कुरा भने भएको थिएन । अनि मिल्दोजुल्दो बनाएर, म सोझो देखेर फसाउन खोजे । पार्टीको लडाइँमा मलाई मोहरा बनाए ।

– तपाईंको दुर्गा प्रसाईंसँग फोनमा कुरा चाहिँ भएको थियो कि थिएन ?

भएको छैन सर । दुर्गा प्रसाईंसँग कहिले कथंकदाचित केही भयो होला । तर, गफ चैं गरेको छैन । स्वास्थ्यतिरको विषयमा, पैसाको बार्गेनिङ यताउति केही भएको होइन ।

– ह्वाट्सएपमा कुरा भएको हो ?

त्यही भनेर उहाँले भनिराख्नुभएको छ । हेरौं के कसो हुन्छ । म सत्यतथ्य बाहिर ल्याउँछु ।

– तपाईंको कुरा अलिकति बाझिएको छ नि ! आफ्नो आवाज होइन पनि भनिराख्नुभएको छ । फेरि कोर टीम सार्वजनिक गर्ने चेतावनी पनि दिनुभएको छ रे ! आफ्नो आवाज होइन भने कोर टीमको जिम्मेवारी किन लिनुभयो ?

म उहाँसँग त्यसरी बोलेकै छैन भने कोर टीमको कुरै आएन नि !

– पार्टीले कारबाही गरेमा कोर टीम सार्वजनिक गर्छु भन्नुभएको होइन र ?

त्यो त भन्ने कुरै भएन नि ! पार्टीले यदि त्यो अडियोकै हिसाबले मलाई कारबाही गरेको हो भने कोर टीम पनि उहाँहरुले नै जान्ने कुरा हो ।

– न्यूज कसरी आयो त तपाईंले त्यस्तो चेतावनी दिनुभयो भन्ने ? रवि लामिछानेले पनि प्रेसमिटमा तपाईंले जोकसैको नाम लिन सक्छु भनेर धम्याउनुभएको कुरा गर्नुभएको थियो ?

रविजीकै कुरा गरौं न । हुन त पार्टीको कुरा बाहिर किन गरौं भन्ने हो । तर, रविजीलाई पनि त्यस्ता न्यूज कति आएका थिए । न्यूजलाई नै आधार मान्ने हो भने त रविजी कहाँ पुग्नुहुन्थ्यो, त्यो पनि त सोच्नुपर्‍यो नि !

कान्तिपुरमा न्यूज आएपछि बिहानै देखेर मैले उपसभापतिज्यूलाई फोन गरेको थिएँ । सर यो न्यूज कसरी आएछ, मैले कान्तिपुरसँग केही पनि कुराकानी गरेको छैन भन्दा उहाँले तपाईंको फेसबुकबाट तानेको रे सर भन्नुभयो । अनि मसित स्क्रिनसट छ पनि भन्नुभयो । म दंग परें । फेसबुक सरर्र खोलेको मैले कहीँ पनि लेख्या छैन । मेरो दुईवटा फेसबुक छ, एउटा पेज र एउटा अकाउन्ट ।

पार्टीमा पैसा चाहिन्छ । पैसाविना पार्टी चल्दैन । सबै पार्टीमा त्यही नै ट्रेन्ड छ । हामीलाई पनि लेवी-सेवी उठाउने कुरा छँदैछ । तर, त्यस्तो कोर टीमले पैसा उठाउन लगाएको भन्ने चाहिँ होइन ।

पेजमा चाहिँ मेरो चारजना जति साथीहरु एडमिन छन् । म आफैं, मेरो पीए र दुईजना पत्रकार भाइहरु छन् । उपसभापतिज्यूले देखाएपछि खोजें । एउटा ग्रुपमा हालेको स्क्रिनसट रहेछ । कम्प्युटरबाट फोटो खिचेर त्यो हालेको जस्तो लाग्छ । ‘मलाई केही भयो भने पार्टी ध्वस्त पार्छु’ भनेर एक लाइन लेखिएको रहेछ । राति हालेर राति नै डिलिट गरेको रहेछ । राति १० बजेर २२ मिनेटमा हालेर ४–५ सय जनाको लाइक आएपछि हटाइएको रहेछ । तर, मैले हेर्दा थिएन । कसले हालेको हो ? त्यो पनि पत्ता लगाउनुपर्नेछ । कसरी पत्ता लगाउने होला सर यसलाई ?

– त्यो त तपाईंले नै प्रहरीको साइबर व्युरोमा उजुरी गर्नुपर्‍यो नि ?

अब त्यो कुन मान्छेले हालेको हो पत्ता लगाएर छोड्छु । बिर्सिरहेको थिएँ । आज यो पनि काम गर्छु ।

– तर, त्यो अडियो आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा कोर टीम छ, जसले पैसा उठाएर मन्त्री बनाउँछ भन्ने प्रचार भइरहेको छ । तपाईंको जानकारीमा त्यस्तो कोर टीम छ वा छैन ?

अडियो नै मेरो होइन भनिसकेपछि कोर टीमको विषयमा पनि म कसरी भन्न सक्छु र ?

– ठीक छ, अडियोको कुरा छोडौं । तपाईंलाई पार्टीभित्र कसैले यति पैसा उठा, मन्त्री बनाउँछौं भनेर भनेको थियो र ?

छैन छैन, त्यस्तो बिल्कुल छैन । यस्तो हुन्छ नि सर, पार्टीमा पैसा चाहिन्छ । पैसाविना पार्टी चल्दैन । सबै पार्टीमा त्यही नै ट्रेन्ड छ । हामीलाई पनि लेवी-सेवी उठाउने कुरा छँदैछ । तर, त्यस्तो कोर टीमले पैसा उठाउन लगाएको भन्ने चाहिँ होइन ।

– रास्वपाबाट त तपाईं निष्कासित भइसक्नुभयो । अबको राजनीति के हुन्छ ?

अहिले यो कुरामा कमेन्ट नगरिहालौं । हेरौं न अब के हुँदै जान्छ । पार्टीले मलाई कुन रुपले कसरी लिन्छ । म सत्यतथ्य पहिले बाहिर ल्याउँछु । सत्य बाहिर ल्याइसकेपछि पनि पार्टीले मलाई राम्रोसँग स्वीकार नगर्ने हो भने त त्यहाँ बसेर के अर्थ भयो र ?

– सत्यतथ्य चाहिँ कहिले बाहिर ल्याउने ?

म त्यही काममा लागिरहेको छु ।

– तपाईंले एउटा सहकारीको रकम हिनामिना गरेको पनि आरोप लागेको छ नि ?

त्यो मिथ्या आरोप हो । मैले सहकारी एक वर्षअघि नै छोडेको हुँ । कार्यवाहक उपाध्यक्षलाई जिम्मा लगाएर छोडेको । म हुञ्जेल सबै ठीकठाक थियो । सानो सहकारी हो त्यो, करोडौंको होइन । अहिले कुरा गर्दा २४ लाख तिर्नुछ रे ग्राहकहरुलाई । मैले छोडेपछि अधिवेशन गरेर नयाँ समिति गठन गर्नुभयो । नयाँ कार्यसमितिले काम गर्न सकेन । बुझबुझारथ भएन भनेर इस्यु बनाएछन् । विज्ञप्ति निकालेछन् । मेरो नाम जोडेपछि पैसा पाइन्छ भन्ने भयो होला ।

तर, मैले बुझाउँदा सबै राम्रो र सहीसलामत थियो । पछिल्लो कार्यवाहक अध्यक्ष र समितिले काम गर्न सकेन भनेर मलाई मुछ्न भएन । म अझै पनि अभिभावकत्व गर्न तयार छु । केही तलमाथि भए त म आफैं अख्यितारमा छानबिनका लागि हाल्दिन्छु नि ! त्यो मेरो कर्तव्य हो । सहकारीको त मैले चियाभन्दा कहिल्यै केही खाएको छैन ।

उहाँले भन्नुभएको थियो कि ७२ घन्टाभित्र आफूलाई निर्दोष सावित गर्नुस् भनेर । मैले ७२ घन्टाभित्र सक्दिनँ दाइ, तर मेरो सफाइ म दिन तयार छु भनें । मैले गल्ती गरेको भए कारबाही गर्नुस्, देखिएन भने कारबाही नगर्नुस् भनेको हो । तर, केन्द्रीय समितिमा के के कुरा भो, ढ्याक्क कारबाही गर्नुभयो ।

– अब तपाईंको सांसद पद पनि गुम्यो भने राजनीतिबाट अलग हुनुहुन्छ कि के योजना छ ?

त्यो त भविष्यले गर्ने हो । पोलिटिक्समा आइसक्या छु । पोलिटिक्स त गर्ने नै हो ।

– पुनरावेदन समितिले कारबाहीमा पुनर्विचार गर्ला भन्ने लाग्छ ?

हेरौं । उहाँहरुले के सोच्नुहुन्छ । पार्टीलाई मेरो कति आवश्यकता छ वा छैन भन्ने कुराहरु होला । पहिले गण्डकी प्रदेशमा म एउटा खम्बा हो । गण्डकीलाई नम्बर एक बनाएको थिएँ मैले संगठनदेखि सबै कुरामा । अहिले आएर यो तरिकाले कारबाही गर्दा अलिकति दुःख लागेको छ ।

– पार्टीलाई पनि त बाहिरको प्रेसर छ नि होइन र ?

हजुरले भनेको कुरालाई ग्रहण गर्दै, पार्टीमा कस्तो हुन्छ भने परिपक्वता भन्छौं नि… बुढापाकाले भनेका कुराहरु राम्रो हुन्छ, सुन्नुपर्छ भन्ने कुराहरु हुन्छ । झ्यामझ्याम बोलेरमात्र हुँदैन । नियमसंगत जानुपर्छ । यो एउटा पार्टी हो । यसमा व्यक्तिको एकाधिकार हुँदैन । सबै सदस्यहरुको उत्तिकै दायित्व र हक-अधिकार हुन्छ । प्रक्रिया नपुर्‍याइकन सजाय दिनु भनेको राम्रो होइन ।

उहाँ (रवि लामिछाने) ले स्टन्टबाजी गरिहाल्नुभो बारामा, ७२ घन्टाभित्र कारबाही गर्छु भनेर । त्यसले गर्दा आफैं प्रेसरमा पर्नुभयो । अडियोको आधारमा मात्रै कारबाही गर्नु उचित थिएन होला । त्यसलाई पुष्टि गर्नुपर्थ्यो होला । पुष्टि गरेर कारबाही गर्ने हो भने आइएम रेडी । मैले भन्न खोजेको त्यत्ति हो । सुरुदेखि माग गरेको त्यही हो । म आफ्नो सफाइ आफैं लिएर आउँछु, त्यसपछि मलाई जे निर्णय गर्नुहुन्छ गर्नुस् भनेको थिएँ । आफूलाई निर्दोष सावित गरें भने पुनःस्थापना गर्नुस्, म जनतालाई बुझाउन जान्छु । यदि म गलत ठहरिएँ भने कारबाही गर्नुस् भन्दाभन्दै एकलौटी तरिकाले कारबाही भयो । जनतालाई बोले भन्दैमा हड्बडाएर काम गर्नुभएन नि !

– सभापतिसँग तपाईंको प्रत्यक्ष कुराकानी भयो ?

भएको हो । उहाँले भन्नुभएको थियो कि ७२ घन्टाभित्र आफूलाई निर्दोष सावित गर्नुस् भनेर । मैले ७२ घन्टाभित्र सक्दिनँ दाइ, तर मेरो सफाइ म दिन तयार छु भनें । मैले गल्ती गरेको भए कारबाही गर्नुस्, देखिएन भने कारबाही नगर्नुस् भनेको हो । तर, केन्द्रीय समितिमा के के कुरा भो, ढ्याक्क कारबाही गर्नुभयो । पछि मैले कानूनी सल्लाह लिँदै जाँदा मेरो त्रुटि भएको कम देखियो । पार्टीले नै त्रुटि गरेको देखियो । भोलि उहाँहरुले सच्याउनुभएन भने रिट हाल्ने कुरा हुन्छ ।

– अहिले सभापतिसँग संवाद भएको छ ?

अहिले छैन । उहाँ बिजी हुनुहुन्छ । मैले अहिलेसम्म पार्टीको विरोध पनि गरेको छैन । अहिले इलेक्सनको टाइम छ । यस्तो बेलामा मैले पनि धैर्यधारण गरेर बस्दा राम्रो हुन्छ भनेर बसिरहेको छु ।

उहाँहरुले पनि उ गरेर हिँड्नु हुँदैन । अडियोलाई नै सत्य मान्नुहुन्छ भने त पार्टीलाई पनि राम्रो भएन, मलाई पनि राम्रो भएन ।

ढाकाकुमार श्रेष्ठ र नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले गरेको टेलिफोन संवाद :

५ बैशाख २०८०, मंगलवार ०७:१४ मा प्रकाशित
Nabintech