Play

नेपाल उधोग वाणिज्य महासंघको निर्वाचनमा घात- अन्तर्घात, पोखरेली व्यवसायी अन्जनको पक्षमा कांग्रेस र मारवाडी समुदाय पनि

गुरुकुल खबर


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभा तथा नयाँ नेतृत्व चयन अधिवेशन २०७९ चैत २८, २९ र ३० गते काठमाडौंमा सम्पन्न भएको छ । महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएटस उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएका छन् । विधान अनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वत अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदमा निर्वाचन भएर नयाँ नेतृत्व चुनिएको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले तीन समूह बनाएर चुनावी मैदानमा उत्रिएको भए पनि वरिष्ठ उपाध्यक्षमा अञ्जन समूहबाट अञ्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा संघाई समूहका सुरकृष्ण वैद्य र एशोसिएटस उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकालले निर्वाचन जित्न सफल भएका छन् ।

वरिष्ठ उपाध्यक्षको पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.५१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत ल्याएपछि पहिलो चरणको निर्वाचनबाट संघाई बाहिरिएका थिए । दोस्रो चरणको निर्वाचन अगाडि दुई वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन र उमेशलालबीच उमेशले छाड्ने र अञ्जन श्रेष्ठलाई समर्थन गर्ने सहमति भएपछि अञ्जन वरिष्ठ उपाध्यक्षमा सहमतिका साथ निर्वाचित भएका छन् ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष ढकाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन । सो अवसरमा ढकालले वरिष्ठ अध्यक्षमा भएको सर्वसम्मत सहमतिका लागि प्रदेश र केन्द्रीय सदस्यहरुलाई आभार प्रकट गरेका थिए ।

सर्वसम्मतिका लागि दुवै वरिष्ठ उपाध्यक्षको उदार सोचले सम्भव भएको बताएका थिए । निजी क्षेत्रले राष्ट्रको उत्पादन, रोजगारी, राजस्व र वस्तुको आपूर्ति प्रणालीमा ठुलो योगदान गरेको बावजुद पनि यसलाई हेर्ने राज्य, सरकार र कर्मचारीको दृष्टिकोण राम्रो नरहेको र आम दृष्टिकोण परिवर्तन गर्न आफूले पहल गर्ने सो अवसरमा विश्वास दिलाएका थिए । महासंघका नव निर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो रहेको छ ।

वि.सं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले वि.सं २०४५ मा किराना पसलबाट आफ्नो व्यवसाय सुरु गरेका थिए । त्यसपछि वि.सं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार भन्दा बढीलाई प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । महासंघको अध्यक्षमा निर्वाचित भएपछि ढकालले २०८० बैशाख ३ गते नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न गरिसकेका छन् । बैठकमा औपचारिक परिचय, बधाई र नयाँ वर्षको शुभकामना आदनप्रदान र विशिष्ट सदस्य, कोषाध्यक्ष, पाँच सदस्य चयन र विधान संशोधनका विषयमा छलफल भएको स्रोतले बताएको छ ।

कसरी भयो भरतराजको पराजय ?

महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठले ८ सय ४६ मत ल्याएर जितेकी छिन । उनको प्रतिस्पर्धी उम्मेदवार भरत आचार्यले ७ सय ८१ मत पाएका थिए । आचार्य वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार थिए । तर पनि उनले चुनाव जित्न सकेनन् ।


कसले कति मत पाए ?

एसोसिएटतर्फ १६ सय ४९ मत खसेको थियो । एशोसिएटसबाट वरिष्ठ उपाध्यक्षमा संघाईलाई सबै भन्दा बढी ६ सय १० मत परेको थियो । त्यसपछि दोस्रो मत अञ्जनलाई ५ सय ५८ मत र उमेशलाललाई ४ सय १५ मत परेको थियो । ८ मत बदर भएको थियो । जिल्ला नगरबाट १ सय १७ मत खसेकोमा अञ्जनलाई ४७, संघाईलाई ३९ र उमेशलाललाई २८ मत परेको थियो । ३ मत बदर भएको थियो ।

वस्तुगत संघको १ सय २३ मत रहेकोमा उमेशलाललाई सबै भन्दा धेरै ६९ मत आएको थियो । वस्तुगतमा दोस्रो मत अञ्जनले ४१ र संघाईले १२ मत पाएका थिए । वस्तुगतमा संघाई कमजोर रहेको पाइयो । कांग्रेस निकट रहेका पोखराका उद्यमी व्यवसायी वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तीन वर्षपछि महासंघको स्वत अध्यक्ष बन्ने अवस्थामा पुगेका छन् ।

सुरकृष्णको सरप्राइज जित

जिल्ला नगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघाई समूहका भक्तपुरका व्यवसायी सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । उनको जितलाई सरप्राइज रूपमा हेरिएको छ । गत आम निर्वाचनमा कांग्रेसका समानुपातिक उम्मेदवार रहेका वैद्य प्रतिस्पर्धीका तुलनामा कम चर्चित थिए । तर पनि जित हासिल गरे । उनका पक्षमा कांग्रेसले जिल्लाबाटै ह्वीप नै जारी गरेको थियो ।

जिल्ला नगरको १ सय १७ मत खसेकोमा वैद्यले ४३ मत, अञ्जन समूहका हेटौंडाका व्यवसायी अजयराज सुमार्गीले ३७ मत र उमेशलाल समूहका दिनेश श्रेष्ठले सबैभन्दा थोरै ३४ मत पाएका थिए । जिल्ला–नगरको ३ मत बदर भएको थियो । जिल्ला नगरमा दिनेशले जित्ने चर्चा भएपनि उनको पदलोलुप आकांक्षाले गर्दा नराम्रो हार व्यहोरेका छन ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका संस्थापक अध्यक्ष र निवर्तमान जिल्ला– नगर उपाध्यक्ष रहेका दिनेशले तेस्रो मत पाएर लज्जास्पद हार व्यहोर्नु परेको छ । तर, जिल्ला–नगरका उद्यमी व्यवसायी मतदाताहरूले उनलाई पत्याएनन ।

वस्तुगतको १ सय २३ मत खसेकोमा हेमराजले ६१ मत पाएका थिए । यसैगरी, वस्तुगत उपाध्यक्षमा अञ्जन समूहका मनिषकुमार प्रधानले ५३ मत र संघाई समूहका सुकुन्तलाल हिराचनले ७ मत मात्र ल्याएका थिए । हेमराज महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालका सहोदर भाइ हुन् ।

अञ्जन समूहमा पनि अन्तरघात !

अञ्जन समूहले वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमा ३७.९९ प्रतिशत मत पाएको थियो । उनको समूहका जिल्ला–नगर र वस्तुगत उपाध्यक्षका उम्मेदवारहरूले त्यो अनुपातमा मत पाउन सकेनन् । तिनै समूहमा इमान्दारपूर्वक सबै उम्मेदवारलाई मत नआएको र अन्तरघात भएको उद्यमी व्यवसायीबीच चर्चा चलेको छ ।

जस्तो कि जिल्ला नगरको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जनलाई ४७ मत परेको थियो । तर अञ्जन समूहबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अजयराजलाई ३७ मत मात्र प¥यो । त्यो समूहको १० मत उनलाई प्राप्त भएन ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष उम्मेदवार संघाईले जिल्ला–नगरबाट ३९ मत पाएका थिए । जबकि उनको समूहबाट जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार भएका सुरकृष्ण श्रेष्ठले ४३ मत प्राप्त गरेर बिजेता बने । संघाईलाई भन्दा उनलाई ४ मत बढी भयो ।

यस्तै वरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाललाई जिल्ला–नगरमा २८ मत प्राप्त गरेका थिए । जबकि सोही समूहका जिल्ला नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले ६ मत बढी प्राप्त गरी ३४ पु¥याए । यसरी तीनवटै समूहभित्रै केही मतदाता नगदमा बिकेर घात–अन्तरघात गरेको व्यवसायीहरुका चर्चा चलेको छ ।

अञ्जनलाई कांग्रेस र माडवारीको सहयोग !

महासंघको चुनावी प्रतिस्पर्धाको राजनीतिमा अञ्जन बलियो देखिएका छन् । त्यही भएर(उमेशको निर्वाचनमा भएको करोडौं खर्च बारे भित्री सहमति, के कसो भयो ?) प्रतिस्पर्धी उमेशलालले दोस्रो चरणको निर्वाचन नगइ अञ्जनलाई समर्थन गरे । महासंघमा नेवार र माडवारी समुदायको बर्चस्व देखिन पुगेको छ । अञ्जन काठमाडौं उपत्यका बाहिरका नेवार भएकाले माडवारी र पर्वते क्षेत्री–बाहुन व्यापारीप्रति उदार छन् । त्यो तुलनामा उमेशलाल केही मात्रामा अनुदार र संकीर्ण रहेको आरोप लाग्दै आएको छ ।

उमेशलालको समूहबाट माडवारी समुदायलाई नच्यापिएकाले पनि उनले माडवारी समुदायको मत पाउन नसकेको विश्लेषण गरिएको छ । तर संघाई समूहसँग रुष्ट माडवारी समुदायका उद्योगी व्यापारीले अञ्जनलाई राम्रै मत दिएका छन् । अञ्जनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अन्य नेताहरूले जिल्ला–नगरबाटै ह्वीप लगाएकाले उनका पक्षमा जिल्ला–नगरको मत बढी आएको भन्ने विश्लेषण भइरहेको छ । तर उमेशलालका पक्षमा एमाले र प्रधानमन्त्री प्रचण्ड कसैले पनि उमेशलालको पक्षमा सहयोगको माहोल बनाउन चाहेनन् ।

हुन त उमेशलाल वि. स. १९९७ सालका राजनीतिक आन्दोलनका शहीद गंगालालका भतिजा, नेकपाका संस्थापक महासचिव पुष्षलाल श्रेष्ठ, एमाले नेतृ सहाना प्रधानका छोरा तथा एमालेका अध्यक्ष मनमोहन अधिकारीका सालीका छोरा हुन् । उनी नेपालको कम्युनिष्ट उच्च परिवारका सदस्य भएपनि सकृय र देखिने गरि राजनीतिमा संलग्न छैनन् । त्यति हुँदाहुँदै पनि उनलाई एमाले पक्षको उम्मेदवारको आरोप लाग्यो ।

अञ्जनका पक्षमा देउवा

अञ्जनलाई कांग्रेसले मत दिन आफ्ना कार्यकर्तालाई जिल्ला–नगरदेखि नै निर्देशन दिएको थियो । केन्द्रमा रहेका कांग्रेस निकट उद्यमी व्यवसायीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मत दिन ह्वीप लगाएका थिए । तर देउवा पत्नी डा. आरजु राणा भने रामचन्द्र संघाईका पक्षमा खुलेकी थिइन । उनले आफू निकट व्यवसायीहरूलाई संघाईलाई मत दिन भनेको कमलादीमा चर्चा चलेको थियो ।

वरिष्ठ उपाध्यक्षमा कसैको बहुमत नआएपछि २०७९ चैत ३० गते बिहीवार बिहान अञ्जनले देउवालाई भेटेर संघाईको समर्थन आफूलाई दिलाउन आग्रह गरेका थिए । संघाईले वचन पनि दिएका थिए । तर, उमेशलालले नै अञ्जनलाई समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन नभई सहमतिमा अञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

महासंघमा अञ्जन बलियो !

वस्तुगतमा अञ्जन कमजोर देखिएका छन् भने उमेशलाल शक्तिशाली । वस्तुगततर्फ अञ्जनले ६.७२ प्रतिशत मतभार पाउँदा उमेशलालले ११.३१ प्रतिशत पाएका थिए । संघाईले एकदमै कम १.९६ प्रतिशत मतभार पाएका थिए । यही कारण संघाई तेस्रो भएका हुन् ।

यसैगरी, जिल्ला÷नगरतर्फ अञ्जन बलियो देखिएका छन् । उनको मतभार २०.६१ प्रतिशत हुँदा उमेशलालको १२.२८ प्रतिशत र संघाईले १७.१० मतभार पाएका थिए । एशोसिएट्सतर्फ उमेशभन्दा अञ्जन नै बलियो देखिएका छन् । अञ्जनले १०.६६ प्रतिशत मत भार पाउँदा उमेशलालले ७.९२ प्रतिशत मतभार पाएका थिए ।

यद्यपि एशोसिएट्सतर्फ संघाईले सर्वाधिक ११.४० मतभार पाएका थिए । यसरी प्राप्त मतभारका आधारमा अञ्जनसँग उमेशलालको सामान्य प्रतिस्पर्धा भएको थियो ।

जिल्ला नगरबाट कस–कसले जिते ?

महासंघको जिल्ला–नगरको १८ केन्द्रीय कार्यकारिणी सदस्यमा उमेशलाल श्रेष्ठ समूहको १० जना र अञ्जन समूहबाट ७ जना मात्रै निर्वाचित भएका छन् । उमेशलाल समूहबाट निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोर कुमार आचार्य, गोकुल श्रेष्ठ, मञ्जु कुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, तारा बहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी, अञ्जन समूहबाट नवीन रिजाल, उज्वल प्रसाद कसजु, अमरेश चन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

वस्तुगतमा कस–कसले जिते ?

महासंघको वस्तुगत तर्फको १४ जना कार्यकारिणी सदस्यमा ८ जना सदस्य उमेशलाल श्रेष्ठ समूहका निर्वाचित भएका छन् । अञ्जन श्रेष्ठ समूहका पनि ६ जना सदस्य निर्वाचित भएका छन् । संघाई समूहले वस्तुगत सदस्यमा एउटा पनि सिट जित्न सकेन ।

उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की निर्वाचित भएका छन् । यसैगरी, अञ्जनको समूहबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की “राजु”, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली निर्वाचित भएका छन् ।

एशोसिएटसमा को–को निर्वाचित भए ?

महासंघको एशोसिएटतर्फ १९ जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन । सदस्यतर्फ पहिलो सबैभन्दा धेरै १ हजार ४ सय ४० मत डा. रामशरण थपलियाले र दोस्रो धेरै १ हजार ३ सय ७३ मत मनोज पौडेलले पाएका छन् । एशोसिएटसमा १ हजार ७ सय ४८ मतदाता रहे पनि १ हजार ६ सय ५० मत मात्र खसेको थियो ।

एशोसिएटतर्फ विजयी सदस्यहरुमा डा. रामशरण थपलिया, मनोज पौडेल, आनन्द कुमार बगेरिया, अम्बिका प्रसाद पौडेल, सुनिल नारायण श्रेष्ठ, सुशील थापा, शैलेन्द्र गुरागाईं, राजेश कुमार अग्रवाल, हेमन्त गोल्छा, देशबन्धु बस्नेत, अविनाश बोहोरा, गोपाल खनाल, उज्वल कुमार श्रेष्ठ, प्रवलजङ्ग पाण्डे, जुना माथेमा, शक्ति कुमार बेगानी, सन्दिप कुमार अग्रवाल, ऋषी अग्रवाल र मुकुन्द प्रसाद तिमल्सिना रहेका छन ।

चार सदस्य निर्विरोध निर्वाचित

द्विराष्ट्रिय संघबाट सुनिल केसी, लुम्बिनी प्रदेशबाट जमशेर मियाँ, सुदुर पश्चिम प्रदेशबाट जंग बहादुर मल्ल, संस्थापनबाट भीष्म प्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।

त्यसैगरी, कोसी प्रदेशबाट अञ्जन समूहका नरेन्द्र बहादुर खड्का र बागमती प्रदेशबाट उमेशलाल समूहका सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

सांघु न्युजबाट

३ बैशाख २०८०, आईतवार १६:१९ मा प्रकाशित
Nabintech