Play

किसान परिवारले जन्माएको  नेता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

गुरुकुल खबर


काठमाडौं,  प्रजातान्त्रीक योद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरेर १४ वर्ष जेल जीवन बिताउनुभएका पौडेल गणतन्त्र नेपालको चौंथो राष्ट्रपति बन्नुभएको हो। लोकतन्त्रका लागि कोही कसैसँग सम्झौता नगर्नुभएका पौडेलको सङ्घर्ष र राजनीतिक उचाइको सम्मान भएको छ। उहाँ आठ राजनीतिक दलका दर्ताबाट साँझा उम्मेदवार बनेर राष्ट्रपति निर्वाचित हुनुभएको हो।

पौडेललाई नेपाली कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति पदका लागि मतदान गरेका हुन्।

किसान परिवारले जन्माएको  नेता 

पौडेलको जन्म वि.सं. २००१ असोज २९ गते आमा ऋषिमाया पौडेल र पिता दुर्गाप्रसाद  पौडेलका ज्येष्ठ सुपुत्रका रूपमा तनहुँ जिल्ला मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८ मा भएको हो।

मध्यमवर्गीय किसान परिवारमा जन्मनु भएका पौडेल २०१५ सालदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ। यसअघि  उहाँले  पोखरामा हिमालयन छात्र संघ स्थापना, २०१६ गर्नुभएको थियो। नन्दीरात्रि मावि नक्सालबाट विद्यालय शिक्षा प्राप्त गर्नुभएका उहाँले, नन्दीरात्रि मावि विद्यार्थी संघ र रानीपोखरी मावि विद्यार्थी संघ स्थापना गरी विद्यार्थी आन्दोलनलाई सशक्त बनाउनु भएको थियो। जुद्धोदय हाइ स्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराएर स्वतन्त्र विद्यार्थी युनियनको माग र त्यससम्बन्धी आन्दोलनको नेतृत्व उहाँले लिनुभयो।


पूर्व प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग रामचन्द्र पौडेल । फाइल तस्बिर  

उहाँ नेपाल विद्यार्थी संघका संस्थापक सदस्य (२०२७) हुनुहुन्छ। यसअघि गण्डकी छात्र संघको संस्थापक अध्यक्ष पौडेलले पश्चिमाञ्चलमा विद्यार्थी आन्दोलनको विगुल बजाउनुभएको थियो। जयन्तु संस्कृतम् आन्दोलनमामा आवद्ध पौडेल पोखरामा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापना गरी संथापक सचिव हुनुभयो।

वि.सं.२०२५ सालमा सुन्दरीजल जेलबाट रिहा हुनुभएपछि बीपी कोइराला रामचन्द्र पौडेललाई भेट्न सेन्टरल जेल जानुभयो। त्यहाँ नै बीपीसँग पौडेलको पहिलो भेट भयो। त्यस बखत बीपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेता मनमोहन अधिकारी तथा शम्भुराम श्रेष्ठलगायतलाई भेट्नु भएको थियो।

नेपाल विद्यार्थी संघको संस्थापक सदस्य (२०२७) पौडेल पहिलोपटक २०३४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभयो। पार्टीद्वारा सञ्चालित हरेक आन्दोलनमा निरन्तर संलग्न उहाँ पार्टीको उपसभापति हुँदै कार्यवहाक सभापति (२०७२) भएर पार्टीको १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभयो। त्यसपछि पनि पौडेल केन्द्रीय सदस्य तथा वरिष्ठ नेताका हैसियतमा पार्टीमा सक्रिय हुनुहुन्छ।

राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म पटकपटक गरी १४ वर्ष बन्दी जीवन बिताउनु भएका पौडेलका सन्दर्भमा ‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर नेपाली राजनीतिमा चर्चा गरिन्छ। पहिलो पटक उहाँ २०१८ सालको भरतपुर काण्डको विरोधमा उत्रदा गिरफ्तार भएर जेल पर्नुभएको हो। रमाइलो झोडा काण्डको विरोध स्वरूप कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम आयोजना गर्दा नेता पौडेल गिरफ्तार भएर २०२८ बाट २०३२ करिब पाँच वर्ष लामो बन्दी जीवनमा पर्नुभयो। उहाँसँगै पक्राउ परेका सरोज कोइरालाको पञ्चायती शासनले २०३० मा हत्या गरेको थियो।

उपप्रधानमन्त्री र सभामु्खको अनुभव 

बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य निर्वाचित पौडेलले स्थानीय विकास, कृषि तथा सहकारी, गृह, सञ्चार, जलस्रोत, शिक्षा र शान्ति पुनः निर्माण मन्त्री/उपप्रधानमन्त्रीको अनुभव प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएर उहाँले सफलतापूर्वक सो जिम्मेवारी निर्वाह गर्नुभएको छ। पौडेललाई समाजवादी चिन्तक र प्रयोगकर्ताका रुपमा चिनिन्छ। सादा जीवन उच्च विचारमा विश्वस्त पौडेललाई स्वच्छ छविका नेता पनि भनिन्छ।

राजकीय सम्मान

उहाँले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ। पौडेललाई जापान सरकारले विश्वकै प्रतिष्ठित राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’, २०२० प्रदान गरेको छ। यसैगरी, उहाँ मानवअधिकार, संसद र प्रजातन्त्रसम्बन्धी विभिन्न पुरस्कार तथा सम्मानले विभूषित हुनुहुन्छ।

मध्यमार्गी नेता

नेपाली कांग्रेसभित्र समन्वय र मध्यमार्गी नेताका रूपमा परिचित नेता पौडेलले तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईबीचका कतिपय विवाद र असमझदारीमा समन्वयको भूमिका निर्वाह गर्नुभएको छ।

यस्तै, सभापति गिरिजाप्रसाद कोइराला तथा सिंह र भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन पौडेलको मध्यमार्गी भूमिका रहन्थ्यो। द्वन्द्वरत माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिको काममा कुशल र मध्यमार्गी भूमिका निर्वाह गर्नुभएका पौडेल १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको मस्यौदाकार हुनुहुन्छ।

‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्राधार हुनुहुन्छ। २०७९ मङ्सिर ४ को आम निर्वाचनपछि नेपाली कांग्रेस र माओवादी मिलेर सरकार बनाउनुपर्छ भन्दै पौडेलले  एमाले र माओवादीबीच प्रधानमन्त्री आधा आधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी २०७९ पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रेसले प्रचण्डलाई धोका दिएको’ भनेर सत्य बोल्नु भएको थियो।  पौडेल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर पनि चुनावी गठबन्धन जोगाउनु पर्छ भन्नेमा हुनुहुन्थ्यो। त्यही दिनदेखि ‘हाइज्याक भएको गठबन्धन फिर्ता गर्न’ पौडेलले राजनीतिक कौशल प्रदर्शन गर्नुभयो र नयाँ गठबन्धन बनाएर सङ्घीयदेखि प्रदेश सरकारमा नेपाली कांग्रेसको उपस्थिति सुनिश्चित गर्नुभएको छ।

नेपाली साहित्यमा स्नातकोत्तर पौडेलले संस्कृतमा शास्त्री गर्नुभएको छ। पौडेलका श्रीमती सविता पौडेल, चार छोरी (शर्मीला, संज्ञा, अनुज्ञा, अवज्ञा) र एक छोरा चिन्तन पौडेल हुनुहुन्छ। व्यास नपा–२ अमरापुरी, दमौली तनहुँका स्थायीबासी पौडेल काठमाडौंमा बोहोराटार,बालाजुमा बस्दै आउनु भएको छ। राष्ट्रपतिमा नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्नुभएका पौडेल राष्ट्रपति पदको शपथपछि राष्ट्रपति कार्यालय शीतल निवासमा बस्नुहुनेछ।

२५ फाल्गुन २०७९, बिहीबार २१:२६ मा प्रकाशित
Nabintech