नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले कांग्रेस अब राष्ट्रिय राजनीतिको नया भुमिकामा प्रवेश गरेको बताएका छन । परिवर्तित राजनीतिक अवस्था बारेमा आंफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कोईरालाले कांग्रेस केन्द्र देखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने अवस्था हठात आएको उल्लेख गरेका छन ।
कोईरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको र थप शसक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्ने संकल्प समेत गरेका छन ।
कोईरालाले सार्वजनिक गरेको उनको दृष्टिकोणको पुरा अंश –
संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाललाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।
संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।
संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु ।
कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो । राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो ।
गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ। विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसवाट शिक्षा लिन सक्नुपर्छ ।
कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामी बीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।
साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन । साथीहरु निरास हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।
कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।
अन्तमा, सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ।
जय नेपाल ।
डा.शेखर कोइराला