Play

कुन कुन पार्टीले कसलाई बनाउंदैछन समानुपातिक सांसद ? ( नामावली सहित )

गुरुकुल खबर


काठमाडौं, 

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातितर्फ सांसदको नाम टुंगो लगाएको छ । केन्द्रले १४ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
माओवादीले खसआर्यमा हितराज पाण्डे, विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्माको नाम सिफारिस गरेको छ । यस्तै आदिवासी जनजातितर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाएको छ ।

यता, मधेसीमा मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाएको छ । मुस्लिम महिलामा भने कल्पना मियाँको नाम सिफारिस गरेर आयोग पठाएको छ ।

राप्रपा

राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । 

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।

जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ ।

प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।

खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेका पशुपति शमशेर जबराको नाममा विवाद थिएन । तर दोस्रो पुरुषमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका वुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. प्रकाशचन्द्र लोहनी र मधेशी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विवाद थियो । कार्यसम्पादन समितिले तामाङको नाम चयन गरेको स्रोतको भनाइ छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधि सभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।

सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र लुम्बिनी प्रदेशमा अम्बिका काफ्ले प्रदेश सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ । मधेस प्रदेशको भने अझै मिल्न बाँकी रहेको बताइएको छ ।

जनमत पार्टी

जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ।

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो।

पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र बसन्तकुमार कुशवाहा (मधेशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ।

त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत, अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), बसन्तकुमार कुशवाहा (मधेशी), हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी (आदिवासी जनजाति महिला) सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

नेपाल समाजवादी पार्टी

नेपाल समाजवादी पार्टीले समानुपातिक सासंदकाे  नाम पठाएको छ।

दुई दिन बसेको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचनको समिक्षा र वर्तमान राजनीतिबारे छलफल गरेको छ। योसँगै समानुपातिक सासंदहरूको नाम निर्वाचन आयोगमा पठाएको हो।

मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिक तर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय गरेको हो। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले यस निर्वाचनमा एकल चुनाव चिन्ह लिएको थियो। त्यसअनुसार यादवलाई माओवादी केन्द्रले समानुपातिक सासंद बनाएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ। समानुपातिक मतअनुसार १३ सिट पाएको रास्वापाले १३ जना समानुपातिक सासंदको सूची तयार गरी निर्वाचन आयोगमा आयोगमा बुझाउन लागेको हो। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

यी हुन् रास्वपाका १३ समानुपातिक सांसद :

१. डा. ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोलप्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा रानामगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. डा. चन्दा कार्की (खस आर्य महिला)

१०. निशा डांगी (खस आर्य महिला)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

२४ मंसिर २०७९, शनिबार २०:१७ मा प्रकाशित
Nabintech