काठमाडौँ — नेपाली कांग्रेसले ५ वर्ष अघिको चुनावको तुलनामा यो चुनावमा उल्लेखनीय प्रगति गरेको छ । शक्तिशाली वाम मोर्चासँग एक्लै लड्दा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस अहिले अघिल्लो चुनावमा एमालेसँगको गठबन्धनमा रहेका दलहरूलाई समेत मिलाएर नयाँ गठबन्धन बनाएर चुनावमा गएको थियो ।
उक्त गठबन्धनको लाभ कांग्रेसले मजैसँग लियो, अहिलेसम्म प्राप्त मत परिणाममा कांग्रेसले ५२ सिट जितिसकेको छ, दुई सिटमा अग्रता लिएको छ । यो ५ वर्षअघिको तुलनामा दुई गुणाभन्दा बढी हो ।
यद्यपि कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै क्षेत्र जोगाउन भने सकेको छैन । उसले जितेकामध्ये केबल ९ क्षेत्र जोगाएको कांग्रेसले ४३ वटा नयाँ क्षेत्रमा आफूलाई फैलाएको छ ।
कांग्रेसले अघिल्लोपटक जितेकामध्ये चार वटा क्षेत्रको मतान्तर एक हजारभन्दा कम थियो । तीमध्ये तीन वटामा (सुनसरी–३, उदयपुर–१ र बर्दिया–१) एमाले तथा एउटा (काठमाडौं १) मा विवेकशील साझा प्रमुख प्रतिष्पर्धी थिए ।
यी चारमध्ये बर्दिया–१ र काठमाडौं–१ कांग्रेसले जोगाएको छ भने सुनसरी–३ र उदयपुर–१ को मतगणना सकिएको छैन । सुनसरीमा कांग्रेसका विजयकुमार गच्छादारलाई एमालेकी भगवती चौधरीले फराकिलो अन्तरले पछाडी छाडेकी छन् भने उदयपुरमा पनि परराष्ट्रमन्त्री नारायण खड्कालाई एमालेकै मन्जुकुमारी चौधरीले पच्छाइरहेकी छिन् ।
अघिल्लो चुनावमा कांग्रेसले जितेकामध्ये मतान्तर ५ हजार भन्दा कम तर १ हजार भन्दा बढी भएका क्षेत्र १२ थिए । जसमध्ये सात वटामा एमाले निकटतम प्रतिद्वन्द्व थियो । ती सात क्षेत्रमध्ये तीन वटा (रौतहट–४, रसुवा र काठमाडौं–४) कांग्रेसले जोगाएको छ । तीन वटा (मोरङ–२, सिरहा–१ र बारा–१) एमालेले लग्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा (काठमाडौं–६) जितेको छ ।
२०७४ मा कांग्रेस उम्मेद्वारले ५ हजार भन्दा कम मतान्तरले जितेकामध्ये २ वटामा (काठमाडौं–१० र नवलपरासी सुस्ता बर्दघाट पूर्व–१) मा माओवादी केन्द्र, दुई वटामा (रौतहट २ र कपिलवस्तु ३) फोरम र एउटामा (सर्लाही–४) राजपाका उम्मेद्वार प्रमुख प्रतिष्पर्धी थियो । माओवादी केन्द्र प्रमुख प्रतिष्पर्धी रहेका दुवै क्षेत्र कांग्रेसले जोगाएको छ ।
फोरम प्रतिष्पर्धी रहेकामध्ये एउटामा स्वतन्त्र उम्मेद्वार (रौतहट–२) तथा एउटामा एमालेका उम्मेद्वार (कपिलवस्तु–३) विजयी भएका छन् । तत्कालीन राजपा प्रमुख प्रतिष्पर्धी रहेको सर्लाही–४ मा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेका अमरेशकुमार सिंहले चुनाव जितेका छन् ।
कांग्रेसले २०७४ मा जितेका २३ क्षेत्रमध्ये ९ वटा मात्र अहिले जोगाउन सक्यो । बचेका १४ वटा क्षेत्रमध्ये एमालेले ६ वटा (मोरङ–२, सुनसरी–२, सिरहा–१, बारा–१, रूपन्देही–५ र कपिलवस्तु–३) कांग्रेसबाट खोस्न सफल भयो । सुनसरी–३, सुनसरी–४ र उदयपुर–१ को नतिजा आइसकेको छैन ।
स्वतन्त्र उम्मेद्वार दुई वटामा (सर्लाही–४ र रौतहट–२), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र लोसपाले एक/एक क्षेत्रमा क्रमश: काठमाडौं–६, नवलपरासी बर्दघाट पश्चिम सुस्ता–२ र रूपन्देही–४ मा विजयी भए ।
कांग्रेसले अहिलेसम्म जितेका ५३ वटा क्षेत्रमध्ये आफूले अघिल्लोपटक जितेकाबाट ९ वटा जोगाएको हो भने ४३ वटा नयाँ क्षेत्रमा आफूलाई फैलाएका हो । जसमध्ये एमालेबाट ३२ वटा, माओवादी केन्द्रबाट ५ वटा, तत्कालीन फोरमबाट ४ वटा र तत्कालीन राजपाबाट दुई वटा प्राप्त गरेको हो ।