Play

 बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस पहिलो, कर्णाली प्रदेशमा एमाले शून्य, सुदूरपश्चिम प्रदेशमा माओवादी शुन्य

गुरुकुल खबर


काठमाडौं- प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ।  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ ।

बागमती प्रदेशमा कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायमै छ । कांग्रेसको पछिपछि रहेको एमालेले ९ सिटमा जित र ४ मा अग्रता बनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा कांग्रेसले १२ मा जित र ४ मा अग्रता बनाउँदा एमालेले १२ सिटमै जितेको छ । तर एमालेको अग्रता कुनै पनि सिटमा छैन । यस्तै लुम्बिनी प्रदेशमा कांग्रेसले १४ सिट जितिसक्दा ३ मा अग्रता कायमै छ ।

यस्तै एमालेले १२ सिट जितेको छ । अझै एमालेले ६ सिटमा अग्रता बनाएकाले कांग्रेसलाई पहिलो स्थान कायमै राख्न भने चुनौती छ ।

यस्तै कर्णाली प्रदेशमा कांग्रेसले ६ सिटमा विजय हासिल गर्दा ३ मा अग्रता कायमै छ । यस्तै पछिपछि रहेको माओवादीले ६ सिटमै जितेपछि अग्रता २ स्थानमा मात्रै छ । यस्तै सुदूरपश्चिम प्रदेशमा माओवादीको अग्रता छ । माओवादीले ७ सिटमा जित हासिल गर्दा एकमा अग्रता छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले ६ सिटमा जित दर्ता गर्दा ५ मा अझै अग्रता छ । यस हिसावले माओवादीलाई अग्रता टिकाइराख्न चुनौती छ।  यस्तै प्रदेश १ मा भने एमाले पहिलो दल बन्ने पक्कापक्की जस्तै छ । एमालेले १७ सिटमा जित र ८ मा अग्रता बनाएको छ । यस्तै दोस्रोमा कांग्रेसले १० सिटमा जित र ६ मा अग्रता बनाएको छ । सत्ता गठबन्धनका बीच पनि एमालेले प्रदेश १ मा आफ्नो प्रभाव जमाइराख्न सफल भएको हो ।

यस्तै एमालेका लागि प्रतिकुल रहेको मधेस प्रदेशमा पनि अवस्था सुधार गरेको छ। मधेस प्रदेशसभामा हालसम्म १२ सिट जितिसकेको छ भने २ मा अग्रता कायमै छ । यस्तै कांग्रेसले ११ सिट जित्दा एकमा अग्रता कायमै छ । मधेस केन्द्रीत दल जसपा र लोसपा सो प्रदेशमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । मधेसमा एमालेले जसपासँग तालमेल गरेको थियो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ ।

यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

आयोगका अनुसार मतगणना भइरहेका स्थानमा कांग्रेस ६, एमाले ४, माओवादी ६, राप्रपा २ र एकीकृत समाजवादी १ सिटमा अगाडि छन् । बागमती प्रदेशमा समानुपातिकतर्फ भने झिनो मतान्तरले एमाले अगाडि देखिएको छ ।

कर्णाली प्रदेशमा नेकपा एमाले शून्य

कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यो समाचार तयार पार्दासम्म प्रदेशका १० जिल्लामध्ये ८ जिल्लाकाे नजिता सार्वजनिक भइसकेको छ । एमालेले प्रतिनिधिसभामा खाता खोल्न सकेको छैन ।

हुम्लामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ ।

रुकुम पश्चिममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर भारी मतका साथ विजयी भएका छन् । प्रभाकरले ३९ हजार ५४९ मत ल्याएर विजयी भएका हुन् । प्रभाकरसँग प्रतिस्पर्धा गरेका एमालेका नन्दराम देवकोटाले १२ हाजर ९६१ मत मात्रै ल्याए ।

सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का प्रकाश ज्वाला ३५ हजार ७ सय मतसहित विजयी भएका छन् । यहाँ एमाले तेस्रो भएकाे छ । एमालेका राजेन्द्रवीर रायले १३ हाजर २९ मत मात्रै पाए ।

त्यसैगरी सुर्खेत निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ४२ हाजर ६०७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाही ३० हाजर ९८८ मत पाए । त्यस्तै, सुर्खेतकै  निर्वाचन क्षेत्र २ मा काँग्रेसकै हृदयराम थानी ३४ हजार ६२५ मत ल्याए ।

एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाए । दैलेख – निर्वाचन क्षेत्र १ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अम्मरबहादुर थापा १८ हजार २९७ मत सहित विजयी भएका छन् । एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत पाए । क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका दिक्पालकुमार शाही २० हजार १५८ मत ल्याए । एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत ल्याए ।

त्यसैगरी जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हाजर १५१ मत ल्याएर विजयी भएका छन् । एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत ल्याए । कालिकोटबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २३ हजार ७२७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत ल्याए ।

जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही २२ हजार ८१९ मतसहित विजयी भएका छन् । माओवादीकी गोमा गौतम (कुँवर) ले ११ हाजर ९५९ मत मात्रै ल्याइन् । यहाँ एमाले तेस्रो स्थानमा छ । एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत मात्रै पाएका छन् । अ

मुगु र डोल्पामा परिणाम आएको छैन । यहाँ पनि एमाले कमजोर भएकोले जित्ने सम्भावना कम रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र शुन्यमा

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र शुन्यमा झरेको छ। सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

 

१० मंसिर २०७९, शनिबार ११:२९ मा प्रकाशित
Nabintech