Play

काठमाडौंमा अहिलेसम्मको अवस्था हेर्दा एमाले निक्कै कमजोर

गुरुकुल खबर


मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा शेखर कोइरालाले अग्रता कायम गरेका छन् । चार हजार छ सय ९६ मतगणनामा गर्दा कोइराला एक हजार सात सय ७७ मतसहित अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालबाबु पण्डितले एक हजार ६ सय ३२ पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गरेका छन् ।

नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् । व्यवशायी चौधरीलपहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका हुन् यस अघि उनी समानुपातिकबाट सासद बनेका थिए ।

त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणा देशका अधिकांस स्थानमा भइरहेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै आधारभूत रुपमा निर्वाचनको परिणाम आकलन गर्न थालिएको छ । करिबकरिब कुन दलको अवस्था के हुन्छ भन्ने आम मानिसले पनि आकलन गर्न सक्ने अवस्था बनेको छ ।

निर्वाचनमा होमिएका दलको अवस्था, निर्वाचनका सन्दर्भमा बनेका गठबन्धन र निर्वाचनसम्म आइपुग्दा उम्मेदवारबारे मतदाताले बनाएको दृष्टिकोणका आधारमा कुन दलको अवस्था के हुन्छ भन्ने अनुमान गर्न सहज भएको हो ।

अघिल्लो आमनिर्वाचनमा फरक डाइमेन्सन थियो । तर, यसपटक ठ्याक्कै विपरीत बनेको छ । २०७४ को आमनिर्वाचनमा एमाले, माओवादी र अन्य दल मिलेर वाम गठबन्धन बनेको थियो । वाम गठबन्धन बन्दा कांग्रेस एक्लै चुनावी मैदानमा थियो ।

वाम गठबन्धन बनेकै कारण कांग्रेसले २०४८ यता जित्दै आएको धेरै क्षेत्र गुमायो । पुनः पहिलो दल बन्ने कांग्रेसको चाहना पूरा भएन । पहिलो दल बन्ने शक्ति हुँदा हुँदै पनि दोस्रो दलमा सीमित बन्यो । तर, यसपटक ठ्याक्कै उल्टो भएको छ ।

अघिल्लो निर्वाचनमा एमालेलाई सबैभन्दा ठूलो दल बनाउन सारथीको भूमिका खेलेको माओवादी यसपटक एमालेसँग छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहितका दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनेको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनका कारण यसपटक एमालेले अघिल्लो निर्वाचनमा कांग्रेसले व्यहोरेको नियति बेहोर्नुपर्ने अवस्था बनेको छ ।

देशका अधिकांश निर्वाचन क्षेत्रमा एमाले पराजित हुने प्रक्षेपण हुने गरेको छ । विगतका निर्वाचनमा बलियो पकड जमाएका धेरै क्षेत्र एमालेले गुमाउने अनुमान गरिएको छ । त्यसमध्ये, काठमाडौंका निर्वाचन क्षेत्रहरू पनि हुन् ।

यहाँ, काठमाडौंका १० निर्वाचन क्षेत्रको वस्तुगत अवस्था विश्लेषण गर्ने प्रयास गरिएको छ । हालसम्मको अवस्था हेर्दा एमालेले काठमाडौंका १० वटै क्षेत्रमा पराजय बेहोर्नुपर्ने देखिन्छ ।

काठमाडौंमा मुख्यगरी वाम–लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । अन्य क्षेत्रमा एमाले, जसपा र राप्रपाबीच तालमेल भए पनि काठमाडौंमा एमाले एक्लै प्रतिस्पर्धामा छ । केही स्वतन्त्र पनि चुनावी मैदानमा छन् ।

अघिल्लो निर्वाचनको परिणाम
०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौंका १० मध्ये ६ क्षेत्रमा जितेको थियो । काठमाडौं–२ मा माधवकुमार नेपाल्, काठमाडौं–३ मा कृष्ण राई, काठमाडौं–५ मा ईश्वर पोखरेल, काठमाडौं–७ मा रामवीर मानन्धर, काठमाडौं–८ जीवनराम श्रेष्ठ र काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए ।

त्यसैगरी, कांग्रेस १० मध्ये ४ वटा क्षेत्रमा विजयी भएको थियो । काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–४ मा गगन थापा, काठमाडौं–६ मा भीमसेनदास प्रधान र काठमाडौं–१० मा राजन केसी विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनको मुख्य घटक माओवादी भने काठमाडौंमा निल भयो । वाम गठबन्धनबाट काठमाडौं–१ र १० पाए पनि माओवादीले जित हात पार्न सकेन ।

यसपटक के होला ?
अघिल्लो निर्वाचनमा ६० प्रतिशत जित निकाल्न सफल एमाले अहिलेसम्मको अवस्था हेर्दा निक्कै कमजोर देखिएको छ । एमाले कमजोर देखिनुको पहिलो कारण एमालेविरुद्ध बनेको वाम–लोकतान्त्रिक गठबन्धन हो । र, एमाले विभाजन दोस्रो कारण हो ।

अघिल्लो निर्वाचनमा एमालेबाट विजयी माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ एकीकृत समाजवादी गठन गरेर एमालेबाट बाहिरिएका छन् ।

उनीहरु यसपटक एमालेविरुद्ध बनेको गठबन्धनबाट उम्मेदवार बनेका छन् । त्यसैगरी, काठमाडौंका लोकप्रिय एमाले नेता रामवीर मानन्धर बागी भएर मैदान उत्रेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धन बन्नु र एमाले कमजोर हुनुको फाइदा यसपटक भने कांग्रेसले लिने देखिन्छ । त्यसैगरी, अघिल्लो निर्वाचनमा निल भएको माओवादी पनि गठबन्धनकै बलमा केही सिट जित्ने अवस्थामा देखिन्छ । गठबन्धनकै बलमा एकीकृत समाजवादीले काठमाडौंमा उपस्थिति जनाउने अवस्था बनेको छ ।

स्थानीय तह निर्वाचनमा देखिएको मतदानको रुझान हेर्ने हो भने काठमाडौंको परिणाम यो नै हुन्छ भन्ने सहजनै अनुमान लगाउन अलि मुस्किल भने हुन्छ । किनकी, विभिन्न कारण चर्चामा रहेका केही व्यक्ति स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । स्वतन्त्रका कारण मतपरिणाम फरक पर्ने सम्भावना रहन्छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रको वस्तुगत अवस्था
प्रतिनिधिसभाको मतपरिणाम कस्तो रहला भन्ने विश्लेषणको पहिलो आधार बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा दलहरुले वडा स्तरमा पाएको मत हो । सँगै, अघिल्लो निर्वाचनमा दलले पाएको मत पनि सहायक आधार बन्न सक्छ । यसै आधारमा काठमाडौंका १० क्षेत्रको अवस्था विश्लेषण गरौं ।

काठमाडौं–१ः प्रकाशमानलाई एमालेले रोक्न सक्दैन
बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार काठमाडौं–१ मा पर्ने वडाहरुमा कांग्रेसले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, माओवादीले १ हजार १५९ मत पाएको थियो ।

यहाँ गठबन्धनको कुल मत ११ हजार ५४ मत हो भने एमालेको ९ हजार ५४१ रहेको छ । यस आधारमा गठबन्धन भन्दा एमालेको मत १ हजार ५१३ कम छ । यस आधारमा प्रकाशमान नै विजयी हुने देखिन्छ ।

यसपटक पनि यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रकाशमान सिंह नै उम्मेदवार छन् भने मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका किरण पौडेल चुनावी मैदानमा छन् ।

०७४ मा सिंहले थोरै मतले जितेका थिए । स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा यसपटक पनि उनी एक हजारसम्मको मतान्तरले विजयी हुने सम्भावना देखिन्छ ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह १० हजार ९३६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र १० हजार ११८ मत प्राप्त गर्दै पराजित भएका थिए । सिंहको मतान्तर ८१८ थियो ।

काठमाडौं–२ः भारी मतले गठबन्धन विजयी हुँदै
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं–२ मा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादीले ३ हजार १३१ मत पाएको थियो ।

यस क्षेत्रमा गठबन्धनको मत २५ हजार १७० रहेको छ भने एमालेको १७ हजार ३२८ रहेको छ । यस आधारमा काठमाडौं–२ मा गठबन्धनभन्दा एमाले मत ७ हजार ८४२ कम रहेको छ ।

यसपटक यस निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादीका ओनसरी घर्ती चुनावी मैदानमा छन् । एमालेका मणिराम फुयाल ओनसरीका मुख्य प्रतिस्पर्धी हुन् ।

स्थानीय तह निर्वाचनकै मतपरिणामका आधारमा हेर्ने हो भने यस पटक एमाले यस क्षेत्रमा भारी मतले पराजित हुने देखिन्छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन एमालेका उम्मेदवार माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मात्र मत प्राप्त गर्दै पराजित भए ।

काठमाडौं–३ः झिनो मतले कांग्रेस विजयी हुँदै
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले १५ हजार ७९५, एमालेले १४ हजार ८७६, माओवादीले १ हजार ७३०, राप्रपाले १ हजार ३१४, र एकीकृत समाजवादीले १ हजार ५६ पाएको थियो ।

गठबन्धनको कुल मत १८ हजार ५८८ रहेको छ भने एमालेको १४ हजार ८७६ रहेको छ । यस आधारमा यस क्षेत्रमा गठबन्धनभन्दा एमालेको मत ३ हजार ७१२ कम रहेको छ ।

तर, यहाँ भने वाम–लोकतान्त्रिक गठबन्धन एक छैन । कांग्रेसबाट सन्तोष चालिसे र माओवादीबाट बद्रीप्रसाद बजगाई मैदानमा छन्  । त्यसैगरी, एमालेबाट उनै कृष्णबहादुर राई प्रतिस्पर्धामा छन् ।

स्थानीय निर्वाचनमा दलले पाएको मतको आधारमा हेर्दा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिन्छ । तर, कांग्रेस र एमालेको मात्र मत दाज्दा एमालेभन्दा कांग्रेस ९ सय १९ मतले अगाडि छ । यस आधारमा यस क्षेत्रमा पनि कांग्रेस झिनो मतले विजयी हुनसक्छ ।

०७४ को निर्वाचनमा काठमाडौं–३ बाट एमालेका कृष्ण राई १९ हजार १६९ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ पाएका थिए । मतान्तर ४ हजार २८५ थियो ।

काठमाडौं–४ः यसपटक पनि गगन विजयी हुँदै
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, एकीकृत समाजवादीले २ हजार ४१४, राप्रपाले २ हजार २९३, माओवादीले ८ सय ४४, जसपा ३ सय १७ मत पाएको थियो ।

यस क्षेत्रमा गठबन्धनको कुल मत १९ हजार ३३८ रहेको छ भने एमालेको १६ हजार ५०७ रहेको छ । यस आधारमा काठमाडौं–४ मा गठबन्धनसँग एमालेभन्दा २ हजार ८३१ कम मत छ ।

यस पटक पनि यो निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी कांग्रेसका गगनकुमार थापा र एमालेका राजन भट्टराई चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनकै मतलाई आधार मान्ने हो भने यसपटक पनि भट्टराईको संसद यात्रा रोकिने देखिन्छ ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार गगनकुमार थापा २१ हजार ५५८ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए । थापा र भट्टराईबीचको मतान्तर ३ हजार ४१८ थियो ।

काठमाडौं–५ः एमालेले झिनो आशा गर्ने क्षेत्र
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रमा एमालेले १९ हजार ७०३, कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकीकृत समाजवादीले १ सय ८२७, माओवादीले १ हजार १६८ र जसपाले ५८ मत पाएको थियो ।

यहाँ गठबन्धनको जम्मा मत १७ हजार ८४८ रहेको छ । यहाँ भने एमाले १ हजार ८५५ मतले अगाडि छ । तर, स्थानीय मतकै आधारमा यहाँ एमाले विजयी हुने सम्भावना छैन ।

यस निर्वाचन क्षेत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिस्पर्धामा छन् । त्यसैगरी, युवामाझ लोप्रिय रञ्जु दर्शना पनि मैदानमा छन् ।

२०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार हुँदा उनले २३ हजार ४३९ पाएका थिए । यस आधारमा यहाँ फरक प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिन्छ ।

तर, युवा नेताका रुपमा स्थापित पौडेल मैदान उत्रदा यसपटक एमालेलाई मतदान गर्दै आएका धेरैले मत सिफ्ट गर्ने विश्लेषण हुने गरेको छ । सोही मतले पौडेल विजयी हुने प्रक्षेपण हुने गरेको छ ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल २३ हजार २९ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए । उनीहरुबीच मतान्तर ९ हजार ८६० थियो ।

​​​​​​​काठमाडौं–६ः भारी मतले भीमसेनदास निर्वाचित हुँदै
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले १७ हजार २७७, एमालेले १४ हजार ३०३, माओवादीले २ हजार ४६२, एकीकृत समाजवादीले १ हजार ८५९, राप्रपाले १ हजार ८१६ मत पाएको थियो ।

यहाँ गठबन्धनको कुल मत २१ हजार ५९८ रहेको भने एमालेको १४ हजार ३०३ रहेको छ । यस आधारमा एमाले ७ हजार २९५ मतले पछाडि छ ।
यसपटक यस क्षेत्रमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुँदैछ ।

पूर्वप्रहरी प्रमुख खनाललाई अन्तिम समयमा पार्टी प्रवेश गराउँदै एमालेले उम्मेदवार बनाएको हो । त्यसैले पनि एमालेका लागि यसपटक सहज छैन । यहाँ प्रधान नै पुनः भारी मतका साथ विजयी हुने देखिन्छ ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार उनै भीमसेनदास प्रधान १६ हजार ७८५ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादीका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए । प्रधान र सुवेदीको मतान्तर १ हजार ३०० थियो ।

काठमाडौं–७ः सहज जितको अवस्थामा मानुषी
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस निर्वाचन क्षेत्रमा कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२, एकीकृत समाजवादीले ३ हजार ८३९, राप्रपाले २ हजार २७, माओवादीले ५७६ र जसपाले १६२ पाएको थियो ।

यहाँ गठबन्धनको कुल मत १८ हजार ७४४ रहेको छ भने एमालेको १२ हजार २०२ रहेको छ । यस आधारमा एमालेभन्दा गठबन्धनसँग ६ हजार ५४२ धेरै मत छ ।

यस यसपटक यहाँ गठबन्धनबाट माओवादीका मानुषी यमी भट्टराई र एमालेका  श्यामकुमार घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ । तर, यहाँको परिस्थिति विगतको भन्दा फरक हुने देखिन्छ । यहाँ एमालेका बागी रामवीर मानन्धर र जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा विजयी तथा यस क्षेत्रका लोकप्रिय नेता रामवीर नै बागीका रुपमा मैदान उत्रेका कारण एमालेका उम्मेदवारलाई ठूलो संकट छ । यसै आधारमा मानुषीको जित सुनिश्चित बनेको छ ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका रामवीर मानन्धर १८ हजार १०२ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ पाएका थिए । मानन्धर र थापाको मतान्तर ८ हजार २३ थियो ।

काठमाडौं–८ः भारी मतले पराजित हुँदै एमाले
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२, राप्रपाले ३ हजार १६०, माओवादीले १८९ मत पाएको थियो ।

यहाँ गठबन्धनको कुल मत १६ हजार २०३ रहेको छ भने एमालेको ९ हजार २५३ रहेको छ । यस आधारमा यस क्षेत्रमा गठबन्धनसामू एमाले ६ हजार ९५० ले पछाडि छ ।

यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ र एमालेका शिवसुन्दर राजवैद्य प्रतिस्पर्धामा छन् ।
स्थानीय निर्वाचनकै मतलाई आधार मान्ने हो भने यस निर्वाचन क्षेत्रमा पनि एमाले भारी मतले पराजित हुने देखिन्छ ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन एमालेका उम्मेदवार जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए । उनीहरूको मतान्तर ४४४ थियो ।

काठमाडौं–९ : माओवादीको साख जोगाउने क्षेत्र
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले १९ हजार ९१६, एमालेले १९ हजार २८२, राप्रपाले २ हजार ४०१, माओवादीले ६९५, एकीकृत समाजवादीले ४६५ मत पाएको थियो ।

यहाँ गठबन्धनको कुल मत २१ हजार ७६ रहेको छ भने एमालेको १९ हजार २८२ रहेको छ । यस आधारमा एमाले १ हजार ७९४ मतले पछाडि देखिन्छ ।

यसपटक यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादीका कल्पना धमला र  एमालेका पुरानै उम्मेदवार कृष्णगोपाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदै छ ।

स्थानीय तह निर्वाचनकै मत परिणामलाई आधार मान्ने हो भने यसपटक यस क्षेत्रमा एमाले पराजित हुने देखिन्छ । तर, यहाँ युवामाझ लोकप्रिय विवेकशील साझाका मिलन पाण्डे पनि मैदानमा रहेकाले मतपरिणाम केही तलमाथि हुनसक्ने अनुमान गरिन्छ ।

०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५२ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत पाएका थिए । उनीहरुबीच ८ हजार ५० को मतान्तर थियो ।

काठमाडौं–१०ः जित दोहोर्याउँदै कांग्रेस
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले २४ हजार ६७५, एमालेले १८ हजार ८३८, माओवादीले ४ हजार ९४२, राप्रपाले २ हजार ४९६, एकीकृत समाजवादीले १ हजार ३४२ मत पाएको थियो ।

यहाँ गठबन्धनको कुल मत ३० हजार ९५९ आएको छ भने एमालेको १८ हजार ८३८ रहेको छ । यस आधारमा यहाँ एमाले ठूलो मत अन्तर अर्थात १२ हजार १२१ मतले पछाडि छ ।

ठूलो मतअन्तरले अगाडि रहेको वाम–लोकतान्त्रिक गठबन्धन यहाँ भने एक छैन । कांग्रेसका राजेन्द्र केसी, एमालेका हिमेश केसी र माओवादीका अञ्जना विशङ्खे मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिन्छ ।

तर, स्थानीय निर्वाचनमा माओवादीले पाएको ४ हजार ९४२ मत घटाउँदा पनि कांग्रेसका उम्मेदवार ७ हजार १७९ मतले विजयी हुने देखिन्छ ।

यस निर्वाचन क्षेत्रबाट ०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार उनै राजेन्द्र केसी २४ हजार १९० मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत पाएका थिए । उनीहरूबीच २ हजार २८३ मतान्तर थियो ।

सारमा काठमाडौंको अवस्था–
आगामी निर्वाचनमा हार र जितको मुख्य आधार मानिएको स्थानीय निर्वाचनमा दलले पाएको मत र मुख्य प्रतिस्पर्धी दलबीचको मतान्तर माथि नै प्रस्तुत गरिसकिएको छ ।

स्थानीय तहको मतकै आधारमा एमाले काठमाडौंका १० मध्ये एक क्षेत्रमा झिनो मतले अगाडि देखिन्छ । माओवादी ३ र एकीकृत समाजवादी १ क्षेत्रमा विजयी हुने देखिन्छ भने बाँकी ६ क्षेत्रमा कांग्रेस विजयी हुने देखिन्छ ।

यसरी, अघिल्लो निर्वाचनमा ६ निर्वाचन क्षेत्रमा निर्वाचित हुँदै ६० प्रतिशत जित निकाल्न सफल एमाले यसपटक निल हुने सम्भावना रहेको छ ।

परिणाम प्रभाव पार्नसक्ने स्वतन्त्र फ्याक्टर
स्थानीय निर्वाचनको रुझान हेर्ने हो भने काठमाडौंमा स्वतन्त्र उम्मेदवारको उपस्थितिले मतपरिणाम प्रभावित हुने सम्भावना पनि रहन्छ ।

विभिन्न गतिविधिबाट चर्चामा आएका अधिकांश युवा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौंका सबै निर्वाचन क्षेत्रको मैदानमा छन् ।

युवा जमातले चलाएको ‘नो नट अगेन’ जस्ता अभियानको समेत प्रभाव पर्ने देखिन्छ । तर, संगठन बिना चर्चाकै आधारमा स्वतन्त्रले निर्वाचन जितिहाल्ने सम्भावना भने कम रहन्छ । काठमाडौंका बालेन र धरानका हर्क जस्तै अपवाद बाहेक अरु सम्भावना कम देखिन्छ ।

स्वतन्त्र उम्मेदवार निर्वाचित हुने सम्भावना कम भए पनि उनीहरूले प्राप्त गर्ने मतले ठूला पार्टीका उम्मेदवारको हार वा जितमा प्रभाव पार्ने सम्भावना भने अधिक रहन्छ ।

प्रस्तुत प्रक्षेपणको थप आधार–
प्रस्तुत सामग्री तयार पार्न स्थानीय तह निर्वाचनको मतलाई मात्र आधार बनाइएको छैन । हरेक निर्वाचन क्षेत्रका मतदातासँग पनि प्रत्यक्ष संवाद गरिएको छ ।

त्यसैगरी, हरेक क्षेत्रका सामाजिक संघ संस्थाका प्रतिनिधि, स्वयम् मैदानमा रहेका राजनीतिक दलका नेतृत्व र उम्मेदवारसँग पनि वस्तुगत अवस्थाबारे छलफल तथा संवाद गरी प्रस्तुत सामग्री तयार पारिएको छ ।

 

६ मंसिर २०७९, मंगलवार १०:३९ मा प्रकाशित
Nabintech