Play

ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?- प्रधानमन्त्री देउवा

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली दार्चुला पुगेर गरेको भाषणलाई लिएर ओलीमाथि कटाक्ष गरेका हुन् ।
डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ? कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।’

उनले भाषणले सीमा विवाद समाधान नहुने भन्दै यसका लागि सार्थक कूटनीतिक पहल चाहिने र यो काम वर्तमान सरकारले गरिरहेको पनि बताए ।

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने प्रधानमन्त्री देउवाको विश्वास थियो । उनले राजनीतिक जीवनको सुरुवातबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमि’bout आफू जानकार रहेको उल्लेख गर्दै नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने पनि बताए ।

निर्वाचनपछि पनि गठबन्धनकै सरकार

प्रधानमन्त्री देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ,’ गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसविरुद्ध गठबन्धन बनेको पनि बताए । ‘त्यसैले चुनावपछि पनि गठबन्धन सरकार नै बन्छ, ओलीले अति नै गरेपछि हामी अदालत गएका हौं,’ उनले भने ।

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले शनिबार भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेबम खाणले देश विकासका लागि संघसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए ।

गृहमन्त्री खाणले लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेकोमा जोड दिए । उनले बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको पनि उल्लेख गरे ।

२०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०÷६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुँदे सहमति यसैको परिणाम भएको उनको भनाइ थियो । माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्व. गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए ।

बहुमत गठबन्धनको पक्षमा : महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले ४ मंसिरमा हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको बताए । उनले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यसभन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए । उनले भने, ‘अहिले देश एउटा सही बाटोतर्फ उन्मुख छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा. शशांका कोइरालाले पनि निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । नवलपुरको रजहरमा वामलोकतान्त्रिक गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले आगामी ४ मंरिको निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए ।

कार्यक्रममा कोइरालाले संविधानमाथि भइरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्षसम्म निरन्तरता पाउने बताउँदै ४ वर्षपछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे ।

उता, एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिर समेत गरे ।

एमाले उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ । यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ । एक्लैले सरकार बनाउने हैसियत राख्छ । तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौं । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ । र, निर्वाचनपछि सरकार बन्ने बेलामा पनि जारी रहन्छ । सरकारको नेतृत्व नेकपा एमालेका एकल बहुमत हुँदा पनि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गरेर यो सहयात्रालाई निरन्तरता दिन्छौं भनेर सोचिरहेका छौं । यो कुरा पनि यहाँहरूलाई बताउन चाहन्छु ।’

२० कार्तिक २०७९, आईतवार १४:१७ मा प्रकाशित
Nabintech