पोखरा । नेकपा एमाले कास्की क्षेत्र नं. ३ (१) ले माछापुच्छ्रे गाँउपालिकामा आफ्नो चुनावी अभियानलाई जारी राखेको छ।
शनिबार वडा नं ७ धम्पुसमा आयोजित घरदैलो तथा कोणसभा कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई माटोको नाताले पनि मत दिनेमा विश्वस्त रहेको बताएका छन् ।
उनले भने ‘मेरो जीतका लागि धम्पुसवासी सबै पार्टीभन्दा माथि उठी स्थानियका नाताले मत दिनुहुन्छ भन्ने विश्वासमा छु । र, मलाई अत्याधिक बहुमतले विजय गराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’
आफूले धम्पुसमा पर्यटन, जल, जमिन, जडिबुटी लगायतको समुचित प्रयोग गरी विकास गर्ने पनि उनले स्पष्ट पारे । आफ्नो उम्मेदवारी भनेको आम धम्पुसवासीको हो भनेर बुझिदिन पनि उनको आग्रह छ ।
चुनाव जिते पनि हारे पनि खानीगाउँमा पानीको सहजता तथा खेल मैदान निर्माण, कोत्लेदेखि ल्वाङ र घान्द्रुक जोड्ने सडक स्तरउन्नती लगायतका विकासमा आफ्नो पहल रहने उम्मेदवार गुरुङले स्पष्ट पारे ।
एमाले पोलिटव्यूरो सदस्य सीता गिरी वलीले नेपालको समृद्धि लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताइन् ।
सभामा एमाले प्रदेश सदस्य लालबहादुर परियार, वामपन्थी बुद्धिजिवी पूर्ण गिरी, गणेशमान् जिताऊ अभियानका प्रेम सुनार, एमालेका स्थानीय नेताहरु सम गुरुङ, अमर गुरुङ, गोविन्द भण्डारी, यमबहादुर गुरुङ, चन्द्रबहादुर विक, कुलप्रसाद भण्डारी, हरिप्रसाद विक, स्थानीयहरु कृष्ण विक, थमन विक लगायतले पनि धारणा राखेका थिए ।