Play

नो नट अगेन’अभियान चलाउनेलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश

गुरुकुल खबर


काठमाडौँ — सर्वोच्च अदालतले ‘नो नट अगेन’अभियान चलाउनेलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले आइतबार‘नो नट अगेन’ अभियान चलाउने लाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

गत कार्तिक ८ गते निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’को प्रचार रोक्न निर्देशन दिँदै तत्काल पोस्ट हटाउन, फेसबुक पेज बन्द गर्न चेतावनी दिएको थियो । साथै आयोगले तत्काल पोस्ट नहटाए विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिबाना हुनसक्ने बताएको थियो ।

निर्वाचन आयोगको कदम असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो, नट अगेन’ अभियान चलाउनेलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध सर्वोच्च अदालतमा गत कार्तिक १४ गते रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले ‘नो नट अगेन’ अभियान चलाउनेलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको बताए ।

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानको विरुद्धमा सूचना जारी गर्नु नागरिकको लोकतान्त्रिक अधिकारको स्वतन्त्रतालाई निषेध गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षतालाई कुण्ठित गर्नु रहेको बताए । उनले कुनै पनि नागरिकले कुनै उम्मेदवारको पक्षमा र विपक्षमा प्रचारपसार गर्न पाउने अधिकार राख्ने भए पनि आयोगको उक्त कदमले लोकतन्त्र, संविधानको मर्म र आत्मामाथि नै प्रहार गरेको बताए ।

निर्वाचन आयोगले गत कार्तिक ८ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि दलहरुको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेनका फेसबुक पेज र ग्रुपहरुबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-दृष्य सामग्री प्रकाशन गरिएको भन्दै कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्ने भन्दै यस किसिमका गतिविधि नगर्न विज्ञप्ति जारी गरेको थियो ।

२१ कार्तिक २०७९, सोमबार ०८:३२ मा प्रकाशित
Nabintech