Play

निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन माओवादी अध्यक्ष प्रचण्डको आग्रह

गुरुकुल खबर


काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा बिहीबार आयोजित सत्ता गठबन्धन गोरखाका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले मंसिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने रहेको बताए । यो सामान्य निर्वाचन मात्र नभएको भन्दै प्रचण्डले अन्य निर्वाचनभन्दा भिन्न भएकाले निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्ने बताए । आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताए ।

नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउन गठबन्धनका उम्मेदवारलाई विजयी गराउनै पर्ने भन्दै यसभए मात्र अहिलेको राजनीतिक प्रक्रियाको सफलताबाट आर्थिक विकास अगाडी बढ्ने उनले बताए । गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन नसके र आर्थिक क्रान्तिको खाका कोर्न नसके यो परिवर्तन दिगो रुपमा जान नसक्ने बताए ।

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए । संविधानसभाबाट जारी संविधान, गणतन्त्र र संघीयताको रक्षार्थ अग्रगमन शत्तिहरु एक भएर निर्वाचनमा प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नुपर्ने बताए ।

गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताए । कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

चुनौतीपूर्ण भौगोलिक वनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचूर सम्भावना रहेको उनको भनाइ थियो । बेनिघाट–आरुघाट–लार्के सडकको निर्माण सुरु भएको जानकारी गराउँदै यसलाई जतिसक्दो छिटो सम्पन्न गरि बूढीगण्डकी, दरौँदी, चेपे र मस्र्याङ्दी नदीको उत्तर–दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरेपछि मात्रै गोरखामा आधारभूत पूर्वाधार तयार हने बताए । पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी संकलन गरेर प्रशोधन केन्द्र बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताए । आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कमला पन्तले गोरखाली जनताको विकासको आकांक्षा सम्बोधन गर्नेखालका योजना ल्याउन गठबन्धनका उम्मेदवारलाई आग्रह गगरिन् । गोरखा क्षेत्र नं २ (२)का उम्मेदवार सुरेन्द्र पाण्डेले संविधान, गणतन्त्र, सङ्घीयतामाथिको खतरा कायमै रहेकाले वाम–लोकतान्त्रिक गठबन्धन गरेर प्रतिगमनकारी शक्ति विरुद्ध निर्वाचनमा होमिनुपरेको बताए । सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरीलाई बिर्सेर आसन्न निर्वाचनमा एक भएर लाग्न नेता कार्यकर्तालाई उनको आग्रह थियो ।

गोरखा क्षेत्र नं १ (१) का उम्मेदवार कृष्ण धितालले जिल्लामा प्रतिस्पर्धी रहेका दलहरु एक भएर निर्वाचनमा होमिँदा जनतामा उत्साह पैदा भएको जनाउँदै आगामी दिनमा पनि जनअपेक्षा पूरा हुने गरी काम गर्नुपर्ने बताए । क्षेत्र नं २ (१) का उम्मेदवार फणिन्द्र देवकोटाले हिजोका दिनमा व्यवस्था बदल्न एक भएका राजनीतिक दल अब देश र जनताको अवस्था बदल्न पनि एक ढिक्का हुनुपर्नेमा जोड दिए । गोरखा क्षेत्र नं १ (२) का उम्मेदवार नन्दप्रसाद न्यौपानेले जनअपेक्षा पूरा गर्न गठबन्धनका उम्मेदवारका रुपमा लागेकोे जनाउँदै नागरिकप्रति उत्तरदायी भएर सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कांग्रेसका गण्डकी प्रदेशको महामन्त्री किरणबाबु श्रेष्ठले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धन गरिएको बताए । प्राप्त उपलब्धिलाई ध्वस्त गर्ने प्रतिगामी प्रवृत्तिका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएकोमा जोड दिए ।

१८ कार्तिक २०७९, शुक्रबार ०७:०३ मा प्रकाशित
Nabintech