Play

गठबन्धनको विजयका लागि सबै मिल्नुको विकल्प छैन, बागी उम्मेदवारी फिर्ता लिए उचित ठाउँमा व्यवस्थापन गरिनेछ- देउवा

गुरुकुल खबर


सुर्खेत, नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताउनु भएको छ। आइतबार वीरेन्द्रनगरमा भएको गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुपर्ने बताउनु भएको हो।

कर्णालीमा विभिन्न निर्वाचन क्षेत्रमा गठबन्धनविरुद्ध उम्मेदवारी दिएका नेतालाई उम्मेदवारी फिर्ता लिनसमेत उहाँले आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘‘अहिले गठबन्धनलाई सहयोग गर्नुहोस्। तपाईंहरुले बागी उम्मेदवारी फिर्ता लिएपछि उचित ठाउँमा व्यवस्थापन गरिनेछ।’

देउवाले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएकाले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको दाबी गर्नुभयो। प्रधानमन्त्री देउवाले गठबन्धनलाई चुनाव जिताए सरकारमा पठाएका पाँच वर्षमा रिजल्ट देखिनेगरी काम गर्ने उल्लेख गर्नुभयो।

यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीबाट आफूले प्राप्त गरेको ज्ञान गठबन्धन गर्दा काम लागेको दाबी गर्नुभएको छ। उहाँले एमाले माओवादी पार्टीबीच एकता हुँदा ओलीबाट ज्ञान सिकेको बताउनुभयो। ‘‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो। ओलीबाट प्राप्त गरेको ज्ञान आज गठबन्धन बनाउन काम लागेको छ’’, उहाँले भन्नुभयो। ‘‘नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको थियो। त्यसलाई कांग्रेस–माओवादीकै अगुवाइमा परास्त गर्ने काम भएको थियो। हाम्रो एकता देशको विकास, समृद्धिका लागि हो’’, उहाँले भन्नुभयो।

अध्यक्ष दाहालले कर्णाली प्रदेश सभामा सदस्यले गरेको भूमिकालाई गठबन्धनले नभुलेको बताउनुभयो। ‘‘कर्णालीबाट नै प्रतिगमनको विद्रोहले नै केन्द्रमा प्रवेश पाएको हो। विगतमा पनि कांग्रेस–माओवादीलेबीच यसअघि पनि साझेदारी भएरनै आन्दोलनमा सहभागी भएका थियौँ’’, उहाँले भन्नुभयो।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन अनुरोध गर्नुभयो। उहाँले कर्णाली प्रदेशमा एमालेका नेताले आफ्नो सरकार बनाउन विभिन्न प्रयास थालिए पनि प्रतिगमनकारी शक्तिविरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदान उच्च रहेको दाबी गर्नुभयो।

नेपालले भन्नुभयो, ‘‘प्रतिगमनका नेताले आफ्नो सरकार बनाउने प्रयास गरे। तर, सकेनन् त्यो भूमिका हामीले बिर्सेका छैनौँ। नेपालको राजनीतिमा व्यक्तिवादी हाबी भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति, सत्ता चलाए, त्यो अधिनायकवादी चरित्र हो। त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्त व्यस्त बनाए’’, उहाँले भन्नुभयो। नेपालले लोकतन्त्र जोगाउन, जनताको समान र न्यायकाको साथै जनताको जीवनको प्रत्याभूति गर्ने, गास, बास, कपास, व्यक्तिगत विकासका गठबन्धन अगाडि बढेको बताउनुभयो।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्णालीमा नेपाली कांग्रेसका नेता–कर्याकर्तालाई अब हसिँया हथौडादेखि नडराउन आग्रह गर्नुभएको छ। वरिष्ठ नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको दाबी गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो यो अभियान गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधान जोगाउने नै हो। यो वा त्यो दलका उम्मेदवार नभनी आफ्नै उम्मेदवार भनेर भोट हाल्नु होला। गिरिजाप्रसाद कोइरालालेदेखिको अभियान लिएर अगाडि बढेका छौँ।’’

६ कार्तिक २०७९, आईतवार २१:२३ मा प्रकाशित
Nabintech