Play

कास्की क्षेत्र नं ३ मा गठबन्धन दलको चुनावी अभियान सुुरु

गुरुकुल खबर


पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि कास्की क्षेत्र नं ३ मा सत्तारुढ गठबन्धन दलले चुनावी अभियानलाई अगाडि बढाएका छन् । यसैक्रममा क्षेत्र नं ३ मा रहेका गठबन्धन दलका अगुवा कार्यकर्ताहरुको बैठकले विभिन्न समिति र उपसमिति समेत चयन गरेको छ ।

बुधबार साँझ सम्पन्न बैठकले आसन्न निर्वाचनलाई लक्षित गरी अनुगमन समिति, निर्देशक समिति, निर्वाचन प्रचारप्रसार समिति र विभिन्न उपसमितिहरु बनाउने निर्णय गरेको छ । अनुगमन समितिमा कास्कीको क्षेत्र नं ३ मा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका अग्रज नेताहरुलाई राखिएको छ ।
यसैगरी नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति मनोज गुरुङको संयोजकत्वमा गठित निर्देशक समितिमा विभिन्न पार्टीका ६५ जना नेताहरुलाई राखिएको छ । नेकपा माओवादी केन्द्रका भिमबहादुर विकको संयोजकत्वमा गठित निर्वाचन प्रचारप्रसार समिति र त्यस अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअनुसार युवा परिचालन, महिला परिचालन,विद्यार्थी, दलित, जनजाति, शिक्षक, भूपूसैनिक, बुद्धिजिवी परिचालन सहित ट्रेड युनियन र श्रमिक अनि भूमिहिन, साँस्कृतिक कार्यक्रम लगायत विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

बैठकमा निर्देशक समितिका संयोजक तथा नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गरुङले गठबन्धन दलका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने कुरामा जोड दिए । उनले क्षेत्र नं ३ को समग्र विकासकालागि गठबन्धन दल र उम्मेदवारहरुको प्रतिबद्धता गाउँ गाउँसम्म पुग्नु पर्ने बताए ।
नेपाली काँग्रेसका नेता अनन्दराज मुल्मीले गठबन्धनको औचित्य र यसको उपलब्धिका बारेमा मतदातालाई बुझाउनु पर्ने कुरामा जोड दिए ।

नेपाली काँग्रेसका नेता पोषनाथ शर्माले पार्टीको निर्यणलाई शिरोपण गर्दै गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेकाहरुलाई जिताउन आफु प्रतिबद्ध रहेको बताए ।
काँग्रेस नेता आईबहादुर गुरुङले जुन नेताको जुन क्षेत्रमा प्रभाव छ त्यस क्षेत्रमा पुगेर सोह् िनेताले मत माग्नु पर्ने बताए ।
नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमिति सदस्य गंगाधर पराजुलीले मतदाताहरुले सोध्ने विभिन्न प्रश्नको जवाफ तयार गरेर नेताहरु गाउँ टोलमा पुग्नु पर्ने, उम्मेदवारहरुको साझा एजेण्डा र प्रतिबद्धता विभिन्न माध्यमबाट मतदाता सामु पुर्याउनु पर्ने बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय दुर्गा विक, नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक त्रिभुवन पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार उपसमितिका सदस्य सचिव, काँग्रेस कास्कीका जिल्ला सह सचिव शंकर ढुंगाना सहित नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले आ आफ्नो भनाई राखेका थिए ।

यसैबीच, कास्की क्षेत्र नं ३ का गठबन्धन दलका उम्मेदवारहरुको परिचात्मक कार्यक्रम मंगलबार पोखरा महानगरपालिका २५ हेम्जामा सम्पन्न भयो । कार्यक्रममा क्षेत्र ३ बाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा केन्द्रका रामजी बराल, सोही क्षेत्रको प्रदेश क बाट प्रदेश सांसदका उम्मेदवार नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र प्रदेश ख का उम्मेदवार नेपाली काँग्रेसका प्रकाश बराल सहित विभिन्न दलका नेताहरुले आसन्न चुनावमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन सक्रिय हुनुपर्नेमा जोड दिए । संविधानको रक्षा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण र स्थायित्वकालागि काँग्रेस सहितको गठबन्धन देशमा आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति मनोज गरुङ र माओवादी केन्द्रका भिमबहादुर विक क्षितिजलगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

२ कार्तिक २०७९, बुधबार २३:०९ मा प्रकाशित
Nabintech