पोखरा — आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले मंगलबार तीन स्वर्ण हात पार्दै नवौं राष्ट्रिय खेलकुद २०७९ मा सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् ।
फिस्टेल एकेडेमीमा सम्पन्न पौडी प्रतियोगिताको अन्तिम दिन महिला ४ सय मिटर फ्रिस्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक (दुवै व्यक्तिगत स्पर्धा) र मिक्स ४ सय मिटर फ्रिस्टाइल रिले (टिम स्पर्धा) मा स्वर्ण जितेकी हुन् । एलेक्स शाह, गौरिका सिंह र नासिर हुसेन, गौरिकासँगै रिलेमा आर्मीलाई स्वर्ण दिलाएकी हुन् ।
डुआनाले अघिल्ला तीन दिन ६ स्वर्ण र १ रजत हात पारेकी थिइन् । यस क्रममा उनले ५ पटक राष्ट्रिय कीर्तिमान पनि बनाइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण र ६ रजतसहित ११ पदक जितेकी थिइन् ।
कुल ३५ स्पर्धा रहेको पौडीमा आर्मीकै नासिरले ७ स्वर्ण, २ रजत र १ कांस्य गरी १० पदक हात पारे । एनआरएनएकी एस्ली सापकोटा डंगोल ६ स्वर्ण र २ रजत गरी आठ पदक प्राप्त गरिन् । त्यस्तै, ओलम्पियन गौरिका सिंहले ५ स्वर्ण र १ रजत गरी ६ पदक जितिन् । अर्का ओलम्पियन एलेक्सले ५ स्वर्ण, १ रजत र १ कांस्य गरी सात पदक जिते ।
राष्ट्रिय खेलकुदको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान करिश्मा कार्की र गौरिकाको नाममा रहेको छ । दुवैले १२–१२ स्वर्ण जितेका थिए । उक्त सफला करिश्माले पाँचौं संस्करण (२०६५ साल) मा गौरिकाले आठौं संस्करण (२०७६) मा हात पारेका थिए ।