Play

सत्ता गठबन्धन- चुनावी अनिल साझा तर घोषणापत्र भने अलग अलग

गुरुकुल खबर


काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।

सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक÷एक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् ।

साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् ।

समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलको साझा अपिल तयार हुँदै गरेको जानकारी दिए ।

‘हामी साझा अपिल तयार गर्दै छौं, संविधानको रक्षा, स्थायीत्व, विकास र समृद्धिका विषय साझा अपिलमा रहनेछन्, घोषणापत्र भने हाम्रो आआफ्नै बन्छन्,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भने ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । समितिमा कांग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्य तथा अन्य विषय विज्ञसमेत छन् । कांग्रेसले सबै वर्ग, समुदाय, उमेर समूह र भूगोलको विविधतालाई केन्द्रमा राख्ने भन्दै घोषणापत्रका लागि देशभरबाट सुझाव लिएको थियो ।

कांग्रेसको घोषणापत्र तयार समितिका एक सदस्यका अनुसार कांग्रेसले घोषणापत्रमा सत्ता र प्रतिपक्षमा रहँदा एकै धारणा रहनेगरी राष्ट्रियता, राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई प्राथमिकतामा राखेर मस्यौदा तयार पारेको छ । यसैगरी विगतमा भएका कमजोरी र आगामी नीतिलाई घोषणापत्रमा राखेको छ ।

यसैगरी, कांग्रेसले घोषणापत्रमा विगतमा प्रतिनिधिसभा विघटन भएको विषय र संविधानको कार्यान्वयनका विषयलाई पनि उठाउँदै छ भने आर्थिक समृद्धि घोषणापत्रमा कांग्रेसले प्राथमिकतामा राख्दै छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले पार्टीको घोषणापत्रको मस्यौदामाथि थप गर्नुपर्ने विषयमा राय लिएको छ ।

यसैगरी, माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र बनाउँदै छ । उसले पछिल्ला परिवर्तनपछिको उपलब्धि र संविधानको रक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनतालाई घोषणापत्रमा अघि सार्दै छ ।

यसैगरी, समानुपातिक समावेशी, संघीयताको व्यावहारिक कार्यान्वयनलाई माओवादी केन्द्रले घोषणापत्रमा समेट्दै छ भने सामाजिक आर्थिक रूपान्तरणलाई पनि सो दलले घोषणापत्रमा राख्दै छ । यसैगरी घोषणापत्रमा कुनै पनि वहानामा संसद् विघटन नगर्ने प्रतिबद्धता व्यक्त गरिने भएको छ ।

गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा घोषणापत्र बनाउँदै छ । सो दलले निर्वाचनका लागि ‘जनताको सुख, शान्ति र समृद्धिको सरोकार ः लोकतन्त्रको स्थिरता र विकास समाजवादको आधार’ नारा दिएर घोषणापत्र तयार गरिरहेको छ ।

सत्ता गठबन्धन आबद्ध अर्को दल राष्ट्रिय जनमोर्चाले मनोज भट्टको नेतृत्वमा घोषणापत्र बनाउँदै छ ।

१ कार्तिक २०७९, मंगलवार ०९:३६ मा प्रकाशित
Nabintech