पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी एक नेपाली सेनाका खेलाडीको आईतबार दुर्घटनामा परेर मृत्यु भएको छ । सराङकोटबाट पोखराको आकाशमा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको ‘टेक अफ’ अन्तिम बन्यो ।
दुर्घटनाको प्रत्यक्ष साक्षी बने प्याराग्लाइडिङ प्रशिक्षक सुरेन गुरुङ । विश्वमै प्याराग्लाइडिङका लागि उत्कृष्टमध्येको सराङकोटमा क्रस कन्ट्री प्रतियोगिताका लागि आइतबार बिहान ब्लुस्काई प्याराग्लाइडिङको टेक अफ जोनमा खेलाडी जम्मा भए । एपीएफका प्रशिक्षक गुरुङ ‘वाइन्ड डमी’ का रूपमा हावाको चाप र चाल बुझ्न पहिला उडे । अप्रतियोगी अरू दुई पाइलटले त्यसपछि सोलो उडान भरे । तीन जनाले सबै ठीकठाक रहेको निश्चित गरेपछि प्रतियोगीमध्ये सबैभन्दा पहिला निसिमले ११ः३० मा ‘टेक अफ’ गरे । गुरुङ निसिमभन्दा २०/३० मिटर माथि विपरीत दिशामा थिए । फर्किएर निसिमतिर हेर्दा ग्लाइडर घुम्दै गरेको देखे । ग्लाइडर दुईपल्ट घुमेको मात्रै के थियो, निसिम जमिनमा बजारिए ।
सराङकोटको टावरभन्दा मुन्तिर छ ब्लुस्काई टेक अफ, उक्त टेक अफभन्दा माथिपट्टि अपार्टमेन्ट बनिरहेको छ । टेक अफ गरेको ४/५ मिनेटमै निसिम त्यही अपार्टमेन्ट निर्माणस्थलमा खस्न पुगे । सराङकोटमै रहेको आर्मीको मेडिकल टिमले उनलाई तत्काल पोखराको मेट्रोसिटी अस्पताल ल्यायो । उनको टाउको र छातीमा चोट थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।
पोखराको आकाशसँग चिरपरिचत २६ वर्षीय निसिम अनुभवी पाइलट थिए । उनले १७/१८ वर्षको उमेरमै प्याराग्लाइडिङ सुरु गरेका थिए । भारतमा प्रशिक्षण लिएका उनी विश्व हवाई खेलकुद महासंघ (एफएआई) को लाइसेन्स प्राप्त खेलाडी थिए । भारत, इन्डोनेसिया, कोरिया र चीनमा भएका विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेका थिए । पछिल्लोपल्ट पोखरा एड्रेनलाइन प्याराग्लाइडिङमा व्यावसायिक पाइलटका रूपमा कार्यरत थिए ।
निसिमले टेक अफपछि धेरै उचाइ लिन पाएकै थिएनन् । त्यति नै बेला हावाको चाल अस्थिर बन्यो । त्यसले ग्लाइडरको एकापट्टिको भाग खुम्चाइदियो । ग्लाइडर असन्तुलित भयो । ५०/६० मिटरको उचाइबाट अनियन्त्रित हुँदै उनी जमिनमा नराम्रोसँग बजारिए । प्याराग्लाइडिङको भाषामा यसलाई ‘एसिमेट्रिक कोल्याप्स’ भनिन्छ । ‘आकाशमा उड्दा कहिलेकाहीँ हावामा टर्बुलेन्स आउँछ । कहिलेकाहीँ ग्लाइडर खस्छ । फेरि सन्तुलनमा ल्याउन मिल्थ्यो,’ गुरुङ भन्छन्, ‘आफूसँग भएको एक्स्ट्रा प्यारासुट खोल्न मिल्थ्यो । तर उचाइ कम हुँदा न ग्लाइडर नियन्त्रणमा आयो न रेस्क्यु ग्लाइडर फाल्न मिल्यो ।’
क्रस कन्ट्रीतर्फ टिम इभेन्टमा आर्मी, एपीएफ, गण्डकी, वाग्मती र प्रदेश १ सहभागी छन् । पाँच टिमका २० र ३ व्यक्तिगत गरी २३ खेलाडी प्रतियोगितामा सहभागी थिए । शुक्रबारको तालिमका क्रममा निसिम व्यक्तिगततर्फ पहिलो नम्बरमा थिए । शनिबारको टास्कमा उनले आर्मीका लागि व्यक्तिगत ७ सय १०.८ अंक जोडे । २ हजार ४ सय ८ अंकसहित आर्मी दोस्रो स्थानमा थियो भने २ हजार ७ सय ५० अंकसहित गण्डकी पहिलो स्थानमा थियो । व्यक्तिगततर्फ उनी आठौं नम्बरमा थिए । यद्यपि, आइतबार र सोमबारको टास्क पूरा भएपछि मात्रै पदक निर्धारण हुन्थ्यो ।
गोरखाको पालुङटार ठाँटीपोखरीका निसिमको परिवार पोखरा सरेको दुई दशकभन्दा बढी भयो । पृथ्वीनारायण क्याम्पस पोखरामा एम ए समाजशास्त्र दोस्रो सेमेस्टरमा अध्ययनरत निसिम परिवारका एक्ला सन्तान हुन् । उनका बुबा प्रकाश थापा साहसिक गतिविधिमा रुचि राख्छन् । पृथ्वीनारायण क्याम्पस, एसओएस हर्मन माइनरमा प्राध्यापन गरेका उनका बुबाले ‘लाङटाङदेखि लन्डनसम्म’ नियात्रा संग्रह प्रकाशित गरेका छन् । हाल पोखराकै अमरसिंह चोकमा मन्टेश्वरी चलाउँछन् ।
उनका बुबा गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट लौरो चिह्न लिएर चुनाव लड्दै छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।