Play

कांग्रेस महामन्त्री गगन सर्लाही ४ बाट निर्वाचन लड्ने, सिङ्गो मधेस उत्साही भएको प्रदेश मन्त्री सिंहको भनाई

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।

महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् ।

त्यसो त उनी सर्लाही ४ बाट पनि एकल सिफारिस भएर आएका थिए । उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले सर्लाही ४ नै रोजेका हुन् ।

सर्लाहीका सभापतिदेखि नेता कार्यकर्ताले पटक पटक गगनको घरमा आएर समग्र मधेस बनाउने जिम्मा तपाईको भन्दै आग्रह गरेपछि ती नेता कार्यकर्ताको आग्रह टार्न नसकेपछि उनले सर्लाहीबाटै उम्मेदवारी दिने भएका हुन् ।

गगनले पनि सर्लाही आफ्नो घरजस्तो भएकाले चुनाव लड्न आउन सक्ने संकेत गरेका  थिए ।

नेपाली कांग्रेसका महामन्त्री थापा सर्लाही ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएपछि मधेसमा कांग्रेसी नेताहरुमा खुशीयाली छाएको छ । उनको स्वागतका लागि समेत विशेष तयारी गरिएको छ ।

मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले गगन थापालाई भव्य स्वागतको तयारी भइरहेको बताउँदै भने, ‘उहाँलाई भव्य स्वागतको तयारी भइरहेको छ । भोलिको नोमिनेसनले नै हाम्रो अब कस्तो मतान्तरले उहाँ विजय हुनुहुन्छ भन्ने देखाउँछ।’

गगन सर्लाहीबाट चुनाव लड्ने भएपछि सिङ्गो मधेस नै उत्साही भएको मन्त्री सिंहले बताए । उनले भने, ‘एकदम हाम्रो प्रदेश नै उत्साही भएको हो । त्यस्तो राष्ट्रिय स्तरका नेता पाउनु हाम्रो लागि एउटा सुखद कुरा हो । त्यसले गर्दा यहाँका सम्पूर्ण हामी उत्साही भएका छौं ।’

मन्त्री सिंहले गगन थापाले नेपालकै सबैभन्दा फराकिलो अन्तरले विजयी हुने दाबीसमेत गरे । उनले भने, ‘मैले त भन्छु नेपालकै सबैभन्दा बढी मत ल्याएर मतान्तरले गगन थापाजी निर्वाचित हुनुहुन्छ भन्ने हामीले आशा राखेका छौं ।

उनले कांग्रेस र गठबन्धनले मात्र नभइ सबै युवाले गगन थापालाई भोट हाल्ने दाबीसमेत गरे ।उनले भने, ‘कांग्रेस र गठबन्धनले मात्र हैन कि एउटा युवामा ठूलो उत्साह थपिएको छ उहाँको आगमनले गर्दा । त्यसैले उहाँको विजय त निश्चित छ ।’

गगन थापा भोलि बिहान आउँदै गरेको भनेर आफूलाई सम्पर्क गरेको उनले बताए । मन्त्री सिंहले भने, ‘मलाई पनि भन्नुभएको छ । आउँदै हुनुहुन्छ नि । अब भोलि नोमिनेसन छ । आज नभनेर त यत्रो तयारी कसरी गर्याछौं ?’

उनले उम्मेदवारी दर्ताको दिन आइतबारको कार्यक्रमबारे भने, ‘भोलि उहाँ आउनु हुन्छ । १० बजेतिर पुग्नुहुन्छ । दिउँसो २ देखि ३ बजेसम्म हाम्रो नोमिनेसनको टाइम छ निर्वाचन आयोगले दिएको । अनि हामी गठबन्धनका तीन वटै उम्मेदवार संयुक्त रुपमा हामी गएर त्यहाँ नोमिनेसन गर्छौं । त्यसपछि अन्य कार्यक्रमहरु तय हुन्छन् ।’

कांग्रेस नेता सिंहले आफू फेरि पनि प्रदेशमै उम्मेदवारी दिने बताएका छन् । गगन थापा मधेसमा गएसँगै हेभिवेटकाे चुनाव विशेष हुने अपेक्षासमेत गरिएको छ ।

२२ आश्विन २०७९, शनिबार २२:२७ मा प्रकाशित
Nabintech