काठमाडौं । कांग्रेसमा आन्तरिक विवाद बढिरहेका बेला सत्ता गठबन्धन दलले अन्ततः सीट बाँडफाँटमा करिब करिब सहमति जुटाएका छन् । सत्ता गठबन्धन दलको बैठकले सीट बाँडफाँटमा अन्तिम सहमतिको तयारी गरेका छन् ।
कार्यदलका एक सदस्यका अनुसार, निर्वाचन क्षेत्र यताउता गर्ने विषयमा शीर्ष नेताहरुले एकचरण छलफल गरेपछि सीट भागबन्डाको औपचारिक घोषणा गर्नेछन् । ‘अहिले शीर्ष नेताहरुबीच सीट बाँडफाँटबारे टुंग्गो लाग्नेछ त्यसपछि सार्वजनिक हुनेछ’, स्रोतले भन्यो । केही जिल्लाका निर्वाचन क्षेत्र यताउता गर्ने या नगर्ने भन्ने विषयमा मात्र सामान्य छलफल पछि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।
गठबन्धनका शीर्ष नेता तथा कार्यदलका सदस्यहरुबीच आज पनि छलफल जारी रहनेछ । प्रदेशसभामा सीट बाँडफाँट कार्यदलले ०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र ०७४ को समानुपातिक सीटलाई आधार बनाउने सहमति गरेको हो । प्रतिनिधिसभा तर्फको भने करिब सबै निर्वाचन क्षेत्र कुन दलले कहाँ लिने भन्ने गरी समझदारी बनेको छ । केही जिल्लाका निर्वाचन क्षेत्रमा भने अहिले लगाइएको समझदारी अनुसार क्षेत्र साटफेर गर्ने की भन्नेमा मात्र केन्द्रीत रहेर आज छलफल हुनेछ ।
चुनावमा गठबन्धन दलहरुले तालमेल गरेरै लड्ने निर्णय गरेका थिए । त्यसपछि उनीहरुले कांग्रेसका तीन र अन्य दलका दुई दुई जना रहने गरी सीट बाँडफाँटका लागि कार्यदल बनाएका थिए । त्यसयताको ५४ दिन गठबन्धनका दलहरुले सीट बाँडफाँटमा अलमलिएका थिए । सहमतिको धेरै नजिक पुगेर मंगलबार साँझ अबेर नेताहरु बैठकबाट उठेको ती नेताले बताए । दलहरुका बीचमा सबैभन्दा सीट बाँडफाँटमा सकस परेको मधेस प्रदेश थियो । त्यहाँका प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमा दलहरुका बीचमा सीट संख्या भागबन्डामा मंगलबार टुंगो लागेपछि दलहरु सहमति नजिक पुगेका हुन् ।
मधेसका ३२ निर्वाचन क्षेत्रमा अब जनता समाजवादी पार्टी (जसपा)ले सबैभन्दा धेरै १३ सीट पाउनेछ । त्यसपछि कांग्रेसले १२, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र पाउने गरी समझदारी बनेको छ । राष्ट्रिय जनमोर्चाले भने मधेस प्रदेशमा कुनै पनि सीट पाउने छैन । एकीकृत समाजवादीले रौतहट १ मा पार्टी अध्यक्ष माधव नेपाललाई चुनाव लडामउने छ । अर्को एउटा क्षेत्र पनि मधेसको एकीकृत समाजवादीले पाउने छ ।
माओवादीले भने सिराहमा १, रौतहट १, धनुषामा १, महोत्तरीमा १ र सर्लाहीमा १ सीट पाउनेछ । अन्य मधेसका बारा, पर्सा र सप्तरीमा माओवादीले प्रतिनिधिसभातर्फ सीट पाउने छैन । धनुषामा मातृका यादव, महोत्तरीमा गिरिराजमणि पोखरेल, सर्लाहीमा नरेन्द्र साह, रौतहटमा युवराज भट्टराई र सिराहमा विश्वनाथ साहलाई टिकट दिने गरी माओवादीले मधेस प्रदेशका ५ वटा निर्वाचन क्षेत्र पाउने भएको छ । मधेसमा कांग्रेस र जनता समाजवादी तथा पहाडका क्षेत्रहरुमा कांग्रेस र माओवादीका बीचमा सीट बाँडफाँट अलिक धेरै संख्याको पाउने गरी समझदारी बनेको पनि नेताहरुको भनाई छ ।
यद्यपि, कुन दललाई कति सीट संख्या भन्ने बारेमा पनि नेताहरुले केही बताएका छैनन । तर कांग्रेस ८५, माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १६, जनता समाजवादी १५ र राष्ट्रिय जनमोर्चाले २ निर्वाचन क्षेत्र लिने गरी प्रतिनिधिसभातर्फ सीट वाँडफाँट हुन लागेको स्रोतको दावी छ । ‘कांग्रेसभित्र आन्तरिक विवाद नमिलेपनि सीट बाँडफाँड टुङग्याउन लागेको हो आन्तरिक विवाद कांग्रेस आफैले मिलाउछ’, बैठकमा सहभागी एस पार्टीका एक नेताले भने ।
उनका अनुसार विवाद मिलाउने जिम्मा कांग्रेसको भएकाले बैठकले त्यसबारेमा केही बोल्नै मिलेन । तर विवाद नमिलेसम्म गठबन्धनको सीट बाँडफाँडले खासै महत्व नराख्ने भएकाले छिटो आन्तरिक विवाद मिलाउन देउवामाथि गठबन्धनमा सामेल अन्य दलका नेताहरुले दवाव दिएका छन् ।