Play

टिकट वितरणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला नेतृत्वले खबरदारीसभा गर्ने

गुरुकुल खबर


काठमाडौं , समानुपातिकतर्फको टिकट वितरणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै यसको बिरोधमा नेपाली कांग्रेस  संस्थापनइतर समूले शनिवार गर्ने भनेको खबरदारीसभा थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा तय भएको छ । संस्थपनइतर पक्षका नेता डा. शेखर कोइराला नेतृत्वको समूहका नेता सम्मिलित शुक्रबारको बैठकले भोलीको खबरदारीसभा बानेश्वर ब्याक्वेटमा गर्ने तय गरेको हो ।

दिउँसो १ बजे राखिएको खबरदारीसभामा पार्टीका भातृ संगठन र शुभेच्छुक संस्थालाई पनि निम्ता गरिएको छ । सभामा केन्द्रीय तथा जिल्लाका नेतासहित कोइराला पक्षका जिल्ला सभापतिहरुसमेत उपस्थित रहने बताएको छ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि चुलिदै गएको छ ।

संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट समानुपातिक सूची बुझाएको भन्दै इतर समूह प्रतिकारमा उत्रने तयारीमा छ । पार्टीमा संस्थापन पक्षले इतर समूहलाई उपेक्षा गरेको भन्दै खबरदारी सभाको आयोजना गरिएको समूहका नेता जगदिश्वर नरसिंह केसीले नेपालबहसलाई बताए । उनले भने,‘समानुपातिक सूचीमा सभापतिले एकलौटी गर्नुभयो । हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भएको छ । यसरी पार्टीभित्र मनपरित्रतन्त्र हावी हुनुभएन । सभापतिले एकलौटी गरेपछि हामीले खबरदारी सभाको आयोजना गरेका हौँ ।’

उनका अनुसार समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेजस्तै प्रत्यक्ष तर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने देखिएपछि सभापति देउवालाई दबाव दिने र सम्माजनक भागबण्डा लिन खबरदारी सभा बोलाइएको हो । कोइराला समूहले अरू दलका विषयमा समान सीटको कुरा गर्ने सभापति देउवाले पार्टीभित्रै अर्को समूहलाई चाहिँ समान हैसियत दिन नचाहेको र जिम्मेवार नेताहरूलाई समेत पाखा लगाउने काम भएको बताएको छ ।

अन्य दलसँग १८ घण्टा मिटिङ गर्न सक्ने देउवाले फरक समूहको नेतृत्व गर्ने समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको गुनासो इतर समूहको छ । केसीका अनुसार सभामा इतर समूहबाट प्रतिनिधित्व गर्ने भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु उपस्थित हुनेछन् । खबरदारीपश्चात् पनि निरन्तर आफूहरूलाई पाखा लगाए सभालाई सशक्त बनाउँदै लगिने सो समूहको तयारी छ ।

७ आश्विन २०७९, शुक्रबार १७:४२ मा प्रकाशित
Nabintech