Play

संविधानमा व्यवस्था भएका मानवअधिकार कार्यान्वयन नहुनु दुखद- मुख्य न्यायाधिश आचार्य

गुरुकुल खबर


पोखरा । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधिश डिल्लीराज आचार्यले मानवअधिकारका बारेमा संविधानमा धेरै कुरा उल्लेख भएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।

नेपालको संविधानको धारा २६ र ३७ लगायत अन्य धारामा मानवअधिकारसंग सम्बन्धित धेरै विषय राखिएको भएपनि कानुनमा व्यवस्था भए बमोजिम हुने भनिएको तर कानुन नबन्दा कार्यान्वयन हुन नसकेको कुराको चर्चा गर्दै मुख्य न्यायाधिश आचार्यले प्रतिबद्धता गरिएका कुराहरुलाई व्यवहारमा उतार्न सके मानवधिकार सुनिश्चिित हुनेमा जोड दिए ।

एम्नेष्टी इन्टरनेशनल नेपालले पोखरामा आयोजना गरेको विषयगत समितिहरुको रणनितिक योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको उदघाटन गर्दै न्यायाधिश आचार्यले आफुले गर्न सकिने योजना मात्र बताउन आग्रह गरे । कुनै पनि योजना कागज र कल्पनाको विषय मात्र नबनोस व्यवहारिक बन्न सकोस भन्दै उनले मानवअधिकारको संरक्षण र प्रबद्ध्र्रनका लागि तहगत रुपमा सरकारले अनुगमन समिति बनाए पनि ती प्रभावकारी बन्न नसकेको बताए । विधिको शासन र मानवअधिकारको संस्कृतिमा सुधार आएको चर्चा गरिए पनि भ्रष्टचार नियन्त्रण गर्ने संयन्त्र भित्रै भ्रष्टाचारको कुरा चल्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

एम्नेष्टी ईन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकार र एम्नेष्टीको अभियानको सवल र कम्जोर पक्षको निमर्म समिक्षा गर्दै आगामी वर्षकालागि योजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।
विश्वमा १ करोड र नेपालमा ८ हजार अभियन्ता एम्नेष्टीसंग आबद्ध रहेको जानकारी दिदै अध्यक्ष बुढाथोकीले विषयगत समितिमा रहेका सदस्यहरुले समेत एम्नेष्टी र मानवअधिकारको विषयमा नेतृत्वदायी भूमिका खेल्न सक्नु पर्नेमा जोड दिए ।

एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर अधिकारीले विश्वका ६५ मुलुकमा एम्नेष्टीको शाखा रहेको र नेपाल शाखाले दक्षिण एशियाका अन्य मुलुकहरुको मानवअधिकारको अवस्थाको अनुगमन गर्नु पर्ने दायित्व रहेको बताए ।
एम्नेष्टीमा आबद्ध अभियन्ताले मानवअधिकारको अभियानलाई सक्रियतापूर्वक निरन्तरता दिन उनले आग्रह गरे ।

अर्का पूर्व अध्यक्ष राजन कूईकेलले एम्नेष्टीले सदैव शान्ति र मानवअधिकारको पक्षमा वकालत गर्दै पञ्चायति शासनकालमा तथा शसस्त्र द्धन्द्धका क्रममा माओवादी र राज्य पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा शसक्त आवाज उठाउदै आएको स्पष्ट पारे । आगामी दिनमा एम्नेष्टीले अन्तराष्ट्रिय स्तरमा नेतृत्व लिन सक्नु पर्ने कुईकेलको भनाई थियो ।
कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपालका रणनीति तर्जुमा समितिका संयोजक पार्वता आचार्यले यसअघि समितिहरु गठन मात्र हुने र काम नहुने अवस्था रहेकोमा अबका दिनमा समितिलाई प्रभावकारी बनाईने बताईन ।

एम्नेष्टी ईन्टरनेशनल निर्देशक निराजन थपालियाले मानव अधिकारको सवाल विश्वव्यापी रुपमा परिवर्तन भईरहेको कुराको चर्चा गर्दै पछिल्लो समयमा जलवायु परिवर्तन,सामाजिक संजाल, आदिबासी जनजाति, अल्पसंख्याक लगायतका क्षेत्रमा मानवअधिकारको प्रवद्र्धनको काम गरिरहेको जानकारी गराए । कार्यक्रममा एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, महासचिव सञ्चिता कुईकेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा एम्नेष्टि नेपालका आमसञ्चार तथा मानवअधिकार समितिका संयोजक दिलिप पौडेल नेपाल प्रेस युनियनको महासचिव र सदस्य मिथिलेस यादव युनियनको केन्द्रीय सदस्यमा निर्वाचित भएकामा सम्मान गरिएको थियो । उच्च अदालत पोखराका मुख्य न्यायधिश आचार्यले पौडेल र यादवलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

गोष्ठीमा एम्नेष्टी ईन्टरनेशनल नेपाल अन्तर्गत गठित मानवअधिकार अभियान समिति, आम सञ्चार र मानवअधिकार समिति, युथ पावर एक्सन सञ्जाल, संस्थागत विकास र सदस्यता परिचालन समिति, अन्तराष्ट्रिय मानवअधिकार विषय समिति र नीति रणनीति र योजना तर्जुमा सल्लाह समितिका संयोजक र सदस्द साथै बोर्डका पदाधिकारीहरु गरी करिव ५० को सहभागिता छ ।

 

२५ भाद्र २०७९, शनिबार १४:०९ मा प्रकाशित
Nabintech