Play

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने,जे बन्ने हो, त्यही पढ्ने’

गुरुकुल खबर


पोखरा । अनिल केशरी शाहको परिचय ‘सेलिब्रेटी बैंकर’ मा मात्र सीमित छैन । युवाहरुका प्रेरक पनि हुन् शाह । उनको सफलताको कथाबाट युवा पुस्ताले धेरै सिक्न सक्छन् । सफल जिन्दगी जिउने कलादेखि आफ्नो देशको माटोलाई गर्ने मायासम्म सिक्न सकिन्छ शाहबाट । आजभोलि शाहको परिचय बैंकर होइन, मोटिभेशनल स्पीकर । तीन दशक बिताएको बैंकिङ क्षेत्र, जहाँबाट करोडौं तलब मिल्थ्यो, त्यही क्षेत्र छाडेर अब उनले मोटिभेशनल स्पीकरकै रुपमा आफूलाई उभ्याएका छन् । आफ्नै जिन्दगीको कथा, संघर्ष र सफलताको कथा सुनाउनमै शाह व्यस्त छन् ।

उनै युवा पुस्ताका उत्प्रेरक शाहलाई पोखराको प्रतिभा माविले शुक्रबार विद्यार्थीमाझ उभ्यायो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतका लागि आयोजित कार्यक्रममा शाहलाई प्रमुख वक्ताका रुपमा विद्यालयले निम्त्याएको हो । शुक्रबार व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीको स्वागत र शनिबार विज्ञान संकायका विद्यार्थीलाई स्वागत समारोह विद्यालयले आयोजना गरेको छ । दुवै दिन शाहले विद्यार्थीमाझ प्रेरणामूलक वाणी राख्नेछन् ।

एसईई उत्तिर्ण गरेपछि विभिन्न विद्यालयमा ११ कक्षामा भर्ना हुने विद्यार्थीलाई शाहले ‘यही बेला हो, सही विषय छान्ने’ भनेर सुझाए । भविश्यको ढोका खोल्ने ठाउँ नै यही भन्दै उनले आफ्नो रोजाईको उपयुक्त विषय छनोट गर्नुपर्ने बताए ।

शाहको थप सुझाव थियो ‘कपितयले पढ्न पनि पाएका छैनन् । चाहेर पनि पढ्न नपाउने धेरै छन् । कतिपयले पढ्ने अवसर पाएपनि कष्टका साथ पढेका छन् । केहीले पढ्न नपाएरै परिवारको पेट पाल्ने चिन्तामा दौडधुपमा छन् । धेरै युवा परिवार पाल्नका लागि खाडिमा पुगेर मेहनत गरेका छन् । त्यसैले आफुलाई र परिवारका लागि मात्र नभई पढ्न नपाएका व्यक्तिका लागि पनि पढिदिनुपर्नेछ ।’

बैंकमा जागिर सुरु गरेदेखि तीनदशक अवधिमा गरेको संघर्ष, आफूप्रतिको विश्वास, आफ्नै निर्णयका बारेमा जीवन कथा पनि शाहले विद्यार्थीमाझ सुनाए । शाह भन्छन्, ‘अबको समय यस्तो आयो, तपार्इंको घर कहाँ हो भनेर कसैले सौध्दैन, तपाईंले के गर्नुभयो ? भनेर सोध्नेछन् । त्यसैले लक्ष्य समात्नुस् । आफू के काम गर्छु भनेर भन्न नसक्नेले कतै पनि सफलता पाउँदैन ।’

उनले विद्यार्थीलाई सुझाव दिँदै अभिभावक र गुरुको सन्देश सुन्ने तर निर्णय आफै गर्नुपर्ने बताए । ‘के गर्दा राम्रो हुन्छ भनेर सोच्नुस्। आफ्नो जिन्दगीको बारेमा आफै निर्णय गर्नुस,’ उनले भने ।

संसारको आकर्षण मानिने अमेरिकामा २० वर्षकै उमेरमा बीबीए उत्तीर्णपछि अवसर पाउँदा पनि अनिलले नेपाललाई नै रोजेको सुनाए । ‘म अमेरिका बसेको भए नेपालमा भन्दा सम्पन्न हुन्थेँ, अथाह कमाउँथे तर आजको अनिल हुने थिइनँ । तपाईंहरुले यसरी बोलाउनुहुन्थेन ।’ उनी भन्छन् – ‘महिनाको ३ हजार ५ सय तलबबाट काम सुरु गरेँ । बनिरहेको ठाउँ होइन, आफैले बनाएर काम गरेका बैंकहरुलाई नम्बर वान बनाएँ । जुन मेरै परिवारले पनि पत्याउने विषय थिएन । मलाई नेपालमै काम गर्छु भन्ने थियो । धेरै वैदेशिक अवसरहरु त्यागेँ ।’

नेपालको बैंकिङ इतिहासमा पहिलो सीईओ शाहले नेतृत्व लिएको ५ वर्षमा नविल बैंकलाई नम्बर वान बनाए । त्यसपछि, अपरेटिङ लाइसेन्ससमेत नपाएको मेगा बैंकको सिईओ भएर आठ वर्षमा स्थापित बनाई पुनः नबिल नै फर्के । दोस्रो ईनिङमा पनि उस्तै स्तर कायम गर्न सके । लगातार १६ वर्ष बैंकहरुको सिईओका रुपमा रहे र ३ दशकको बैंकिङ करिअरको सुखद अन्त्य गरे । उनले यी सफलता र संघर्षका कथा विद्यार्थीमाझ सुनाए ।

उनका अनुसार अनिल केशरीले खुसीका पाँच तत्व पनि पहिचान गरेका छन् । एक– परिवार र साथीभाइ । दुई– पैसा । तीन– स्वास्थ्य । चार– पावर (पद) । र, पाँच– सेवा । यीमध्ये जसलाई जुन तत्वबाट खुशी मिल्छ त्यही गर्नुपर्ने बताए । उनी भन्छन्, ‘मचाहिँ यीमध्ये पहिलो अर्थात् परिवार र साथीभाइलाइ बढी महत्व दिन्छु ।’

बैंकिङमा करिअर बनाउनेहरुका लगि शाह ‘आइडियल’ व्यक्ति पनि हुन् । त्यसैले, यहाँको स्तरीय विद्यालय प्रतिभाले शाहलाई विद्यार्थीमाझ उपस्थित गराएको हो ।

कार्यक्रममा प्रतिभा माविका निर्देशक किरण सापकोटाले विद्यार्थीले ११ र १२ कक्षा राम्रोसँग अध्ययन गरेर जीवनको बाटो तय गर्न विद्यार्थीलाई सुझाए । ‘११ र १२ कक्षालाई भविष्यको माध्यम बनाउनुपर्छ । भविष्य कता लैजाने भनेर यहीबेला निर्णय गर्ने हो,’ उनले भने ।

उनले प्रतिभा माविले भविष्यमा पोखरामै प्रतिभा स्पोर्ट्स एकेडेमी बनाउने तयारी अघि बढाएको जानकारी दिए । त्यस्तै बीबीए, इन्जिनियरिङ लगायतका कक्षा पनि संचालनको तयारी गरिरहेको उनले जानकारी दिए । उनले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन जस्तोसुकै काम गर्न पनि तयार रहेको बताए ।

प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भविष्य उनीहरु आफैले तय गर्ने भएकोले त्यही अनुसार अध्ययन गर्न सुझाए । शिक्षाको गुणस्तरलाई अब्बल बनाउन विद्यालयले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश दूतराजले आफ्ना हिट गीत प्रस्तुत गरे । विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुति राखेका थिए।

म्यानेजमेन्ट र होटल म्यानेजमेनेट पढ्नका लागि आवेदन दिएका १३ सय ७२ जनामध्ये ५१२ जनाले मात्रै प्रतिभामा पढ्न पाएका छन् । यस्तै, विज्ञान संकायमा पढ्न आवेदन दिनेमध्ये ३ सय ५२ जनालाई मात्र प्रतिभाको ढोका खुलेको छ । गण्डकीमा यस वर्ष एसईईमा ४ जीपीए ल्याउने ३ जनामा २ जनाको रोजाई प्रतिभा नै बनेको छ । डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेल र बालमन्दिर, लुम्लेका अभिषेक न्यौपानेले प्रतिभा छाने । साविक धौलागिरी प्रथम बब्लू शाह र तनहुँका टपर डेककुमार श्रेष्ठले पनि प्रतिभा नै चयन गरेका छन् ।

मन्टेश्वरीदेखि १२ कक्षासम्म विद्यालयमा करिब २९ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । यहाँ ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा अध्यापन हुन्छ । विद्यालयले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गर्दै आएको छ ।

 

 

३ भाद्र २०७९, शुक्रबार २३:०२ मा प्रकाशित
Nabintech