Play

देउवाले न्यायोचित निर्णय नगर्ने भएपछि अस्तित्वको लडाइँ लड्नुपर्ने कोइराला समूहको निष्कर्ष

गुरुकुल खबर


काठमाडौं , नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन दबाब दिएका छन् । केही दिनयता कोइराला समूहले आन्तरिक भेला समेत गर्दै आएकामा आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर आन्तरिक शक्ति सन्तुलन मिलाउन दवाव दिएका हुन् ।

कोइराला आइतबार दिउँसो देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । गत महाधिवेशनदेखि नै देउवाको पेलानमा रहेको शेखर कोइराला समूह काँग्रेसभित्रका कमिटीमा बलियो अवस्थामा छैन । त्यही कमजोरपन तथा कोइरालाले महाधिवेशनलगत्तै आफूले ६०–४० को भागबण्डा नमान्ने घोषणा गरेपछि देउवाले एकपक्षीय रुपमा पार्टीमा निर्णय गर्दै आएको नेताहरु बताउँछन् । विगतमा काँग्रेसभित्र ६०–४० को आन्तरिक भागबण्डा हुँदै आएको थियो ।

अहिले देउवाले एक पछि अर्को गर्दै मनोनयन गर्दै जाँदा कोइराला समूहलाई नसमेटिएपछि शनिबारको भेलामा सो समूहका युवा नेताहरुले ६०–४० को भागबण्डा खोज्ने बेला आएको बताएका थिए । पार्टीभित्र अस्तित्व रक्षाका लागि संघर्ष गर्ने निष्कर्ष पनि युवा नेताहरूले निकालेका थिए।

शनिबारको भेलाको संयोजन नेता जगदीश्वर नरसिंह केसीले गरेका थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ ।

भेलाको संयोजन गरेका नेता केसीका अनुसार ८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि देउवाले समेटेका छैनन् । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगरेको उनले आरोप लगाए ।

आगामी संसदीय निर्वाचनमा पनि देउवाले न्यायोचित निर्णय नगर्ने कोइराला समूहको निष्कर्ष छ । ‘न्यायोचित निर्णय गर्नुहुन भने ४० प्रतिशत चाहियो’ केसीले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो ।’

देउवाले पाँचवटा भ्रातृसंस्थाको अध्यक्ष मनोनयन गरिसकेका छन् । तर, देउवाले एकलौटी गरेको भन्दै कोइराला समूह आक्रोशित छ । सो कुरा कोइरालाले आइतबारको भेटमा पनि स्पष्ट राखेका छन् । जवाफमा देउवाले अहिलेसम्म भएका निर्णयलाई स्वीकार गर्न आग्रह गर्दै भविष्यमा परामर्श गरेर अघि बढ्ने बताएको कोइराला निकट एक नेताले बताए ।

३० श्रावण २०७९, सोमबार ०७:२६ मा प्रकाशित
Nabintech