Play

एमालेको दाबी – गठबन्धन बिरुद्द एक्लैले ३९ क्षेत्रमा जित्ने र ७० क्षेत्रमा कडा प्रतिष्पर्धा हुने

गुरुकुल खबर


काठमाडौं , सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने काममा जुट्न थालेका छन् । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले गठबन्धनभित्र सिट बाँडफाँटको बारेमा छलफल गरिरहेका छन् । कुन दलले कहाँ–कहाँ उम्मेदवारी दिने, सिट बाँडफाँटको मोडालिटी के हुने भन्ने बारेमा उनीहरू घनिभूत छलफलमा छन् । संसदको प्रमुख पक्ष नेकपा एमाले भने कमिटीको बैठकहरू बोलाएको निर्वाचनको तयारीमा जुटेको छ ।

एमालेलाई सत्तारूढ दलहरूले चुनावमा घेराबन्दीको प्रयास गरिरहेका छन् । संसदमा रहेको एमाले बाहेकका सबै ठूला दलहरूले गठबन्धन गर्ने र एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकारमा प्रधानमन्त्री रहँदा दुई पटक संसद विघटन सिफारिस गरेर संघीय प्रणाली, संविधान र गणतन्त्र नै धरापमा पार्न खोजेको आरोप गठबन्धनमा रहेका दलहरूले लगाउने गरेका छन् । ओलीले त्यसबखत प्रतिगमनको प्रयास गरेको र सत्ता गठबन्धनमा रहेका दलहरूले त्यसलाई निस्तेज पार्न सफल भएको तर्क गर्ने गर्छन् । एमालेले भने त्यस्तो तर्कलाई खण्डन गर्दै आएको छ ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमालेविरूद्ध गठबन्धन गरेका थिए । गत चुनावमा एमालेले क्षति व्यहोरेको थियो । २०७४ को निर्वाचनमा २९८ स्थानीय तहका जित निकालेको एमालेले गत निर्वाचनमा २०६ स्थानीय तहमा मात्रै चित्त बुझाउनुपर्ने अवस्था आयो । स्थानीय तहको चुनावमा भाग लिँदाकै अवस्थामा एमाले संसदीय निर्वाचनमा सहभागी हुँदै छ । प्रतिगमनको आरोपसहित चौतर्फी घेराबन्दीका बीच चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको एमालेले आगामी निर्वाचनमा कति सिट जित्न सक्ला भन्ने सबैमा चासोको विषय छ ।

२०७४ को मंसिरमा भएको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले देशव्यापी गठबन्धन गरेका थिए । त्यसबेला उनीहरू पार्टी एकताको नारा लिएर चुनावमा गएका थिए ।  उक्त चुनावमा एमाले र माओवादी केन्द्रले ६०–४० को अनुपातमा सीट बाँडफाँट गरेका थिए । एमालेको भागमा ९९ सीट थियो । त्यसबाहेक, हृदयेश त्रिपाठी, पशुपति दयालमिश्र, वृजेशकुमार गुप्ता र ईश्वरदयाल मिश्रले सूर्य चिह्नबाट चुनाव लडेका थिए । त्यसो हुँदा सूर्य ध्वजाबाहक उम्मेदवारको संख्या १०३ थियो ।  सूर्य चिह्न लिएर उम्मेदवार भएकामध्ये ८० जनाले चुनाव जितेका थिए । उक्त जीतमा माओवादी केन्द्रको पनि मत समावेश भएको थियो ।  माओवादी केन्द्रले ५९ सीटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये माओवादीले ३६ स्थानमा मात्रै जितेको थियो ।

अहिले एमाले २०७४ मा जस्तो सग्लो छैन । एमाले विभाजित भएर अर्को दल नेकपा एकीकृत एकीकृत समाजवादी बनेको छ । त्यसबेला सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव जितेका १३ जना र समानुपातिकतर्फका १० जना गरेर २३ जना सांसद एकीकृत समाजवादीतिर लागेका छन् ।  एकीकृत समाजवादी भने एमालेका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले सत्तारूढ गठबन्धनमा सामेल छ । एमालेले भने अन्य दलहरूले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन बनाएको तर्क गर्ने गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा रहेका दलहरू राजनीतिलाई प्रतिस्पर्धामा भन्दा शत्रुतामा लगेको भनेर टिप्पणी गरेका छन् ।  लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरू प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन् ।३९ सिटमा जित्ने दाबी

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये एमालेले ३९ ठाउँमा एमालेविरूद्ध सबै दल मिल्दा पनि जित्ने तथ्यांक एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सुनाएका छन् ।  शनिवार नयाँ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सबै दल एमालेविरूद्ध हुँदा पनि ३९ सिट एमालेले नै जित्ने दाबी गरेका हुन् । त्यसबाहेक ७० निर्वाचन क्षेत्रमा भने कडा प्रतिस्पर्धा हुने उनले बताए । भट्टराईले भने, ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्यांक अध्यक्षलाई बुझाएका छौँ । त्यसबाहेक, ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुन्छ ।’

एमालेले ढुक्कले जित्ने ती ३९ निर्वाचन क्षेत्र कुन–कुन हुन भन्ने चाहिँ उनले खुलाएनन् । तर, उनले उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा कडा टक्कर हुने ७० निर्वाचन क्षेत्रमा पनि एमालेले नै जित्ने अवस्था आउने बताए तर, एमालेका एक सचिवालय तहका सदस्यले भने केही दिन अघि अनौपचारिक कुराकानीमा सबै दलले एमालेविरूद्ध गठबन्धन गर्दा एमालेले प्रत्यक्षतर्फ २० देखि २५ सिट जित्न सक्ने आँकलन सुनाएका थिए ।

प्रमुख सचेतक भट्टराई भने स्थानीय तहको मत विश्लेषण गर्दा पनि एमाले कमजोर नरहेको तर्क गर्छन् । स्थानीय तहमा एमालेको ‘पपुलर’ मत आएको र त्यस आधारमा पनि आगामी चुनावमा एमालेको जित कमजोर नहुने उनको तर्क छ । ‘सबै दल एकातिर लाग्दा पनि ३८ लाख मत पाएको छ, २०६ स्थानीय तह जितेको छ’, भट्टराईले भने ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भने स्थानीय तहको चुनावमा एमाले आफ्नै खुट्टामा अल्झेर लडेकाले आगामी चुनावमा त्यस्तो अवस्था आउन दिन नहुने बताउँछन् । पार्टी भित्रकै अन्तरघातका कारण स्थानीय तहको चुनावको नतिजा प्रभावित भएको र आगामी आम चुनावमा त्यस्तो अवस्था आउन नदिनेमा सचेत हुनुपर्ने उनले बताए ।

खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘हामीविरुद्ध अरु दलहरू एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ? २५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ? आगामी चुनावमा त्यस्तो गल्ती हुन हुँदैन’, नेम्वाङले भने ।

एमालेको चुनावी तयारी 

एमालेले चुनावलाई लक्षित गरेर भेला, छलफल र बैठकहरू बोलाउन थालेको छ । त्यसबाहेक, एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिसकेको छ । गत बिहीवार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने निर्णय भएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । त्यसबाहेक, जनसंगठनका अध्यक्ष र महासचिवहरू, पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू पनि निर्वाचन परिचालन कमिटीको सदस्य रहनेछन् ।
बैठकले चुनावका लागि तयारीका लागि भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटीको बैठक एमालेले बताएको छ । ती बैठकमा निर्वाचन तयारीका बारेमा घनभूत छलफल हुने गुरूङले जानकारी दिए ।

२८ श्रावण २०७९, शनिबार २१:२२ मा प्रकाशित
Nabintech