Play

६५ सीटमा मात्रै गठबन्धन गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्ड र नेपालको असहमति

गुरुकुल खबर


काठमाडौं । सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको र कांग्रेसले सय सीट आफूले राखेर ६५ सीटमा गठबन्धन गर्ने जनाएपछि बामपन्थी पार्टीहरु अलमलमा परेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेसँगै सत्तारुढ दलमा चुनावी सीट बाँडफाँड गर्ने क्रममा कांग्रेसले सो प्रस्ताव गरेपछि सत्तामा रहेका बामपन्थी दलहरु अलमलमा परेका हुन् ।

स्थानीय तहको निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको स्थानमा कांग्रेसले हार व्यहोर्नु परेको तथ्यलाई ध्यान दिदै कांग्रेसले एक सय सीट आफूसँग राखेर बाँकी रहेको ६५ सीटमा मात्रै गठबन्धन गर्ने प्रस्ताव गरेको थियो । तर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले त्यसमा असहमति जनाएका थिए । उनीहरुले असहमति जनाएपनि यसपटक कांग्रेस धेरै नगल्ने बताइएको छ ।

चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलकाे मोडालिटीतिर केन्द्रित बनेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ । पाँच दलहरुले ०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउने नेताहरुले बताएका थिए ।

सोही मोडालिटीमा टेकेर सीट बाँडफाँडका लागि कार्यदल बनाउने गठबन्धनभित्र तयारी छ । गठबन्धन सम्बद्ध दलको प्रतिनिधित्व हुने गरी कार्यदल बनेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड गर्न ११ सदस्यीय समिति बनाएको छ । समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट ११ सदस्य राखिएको छ ।

जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन । यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् । उनीहरुलाई भदौभित्र सीट बाँडफाँडको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ ।

गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने तयारी गरेको भएपनि कांग्रेसले सीट बाँडफाँडबारे गरेको प्रस्तावमा बामपन्थी पार्टीहरुको असहमति रहेकाले यो विषय कसरी अघि बढ्छ भन्ने बारेमा केही बताइएको छैन । गत बुधबारको बैठकमा मोडललगायतका विषयमा प्रारम्भिक छलफल मात्र भएको थियो ।

बुधबारको बैठकसँगै गठबन्धन दलमा आगामी निर्वाचनका कसरी जाने भन्ने विषयमा छलफलले स्थान पाउने बताइएको भएपनि त्यसले शुक्रबार प्रारम्भिक चरणमै बामपन्थीहरुलाई कांग्रेसले एक धक्का दिएको थियो । ’ स्थानीय तहका निर्वाचनमा गठबन्धनभित्र अविश्वासको वातावरण पैदा भयो भन्ने कुराले नै प्रवेश पाएपछि शुक्रबारको बैठक अलि असमान्य जस्तै भयो’, बैठकमा सहभागी एक नेताले भने –‘यसमा एकअर्काबीच देखिएको अविश्वासलाई हटाएर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।’ प्रदेश र प्रतिनिधिसभा चुनावको मिति घोषणापछि पाँच दलीय गठबन्धनकाे बैठक बसेको हो ।

बैठकमा भागबण्डाका विषयमा शीर्ष नेताहरु आफ्नो धारणा राखेका थिए । सीट बाँडफाडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुख लगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने गठबन्धनको तयारी छ । असार २७ गते सुरु भइ साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेस आम चुनावमा पनि पाँच दलीय गठबन्धनसँग चुनाव तालमेलको पक्षमा उभिएको थियो ।

कुसुम सेञ्चुरी / नेपालबहस डटकम

२१ श्रावण २०७९, शनिबार २१:५४ मा प्रकाशित
Nabintech