Play

पाँच दलको साझा घोषणापत्र बोकेर हिडेपछि काँग्रेसको घोषणापत्रको अर्थ छैन- पूर्व गृहमन्त्री जोशी

गुरुकुल खबर


दमौली , नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको आरोप लगाउनु भएको छ । बीपी विचार समाजको छैंटो जिल्ला अधिवेशनको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले सो कुरा बताउनु भएको हो ।

आफ्नो भन्दा पनि पाँच दलको घोषणापत्र बोकेर काँग्रेसले बाटो विराएको जोशीको भनाई थियो । ‘रुख पनि नचाहिने, चारतारे झण्डा पनि नबोकेर काँग्रेस कतातिर जाँदै छ कुन बाटोमा हिँडेको छ ? नेता जोशीले प्रश्न गर्नुभयो ।

गत स्थानीय चुनावमा चितवनको भरतपुरको आम सभामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्रको मन्त्यव्यबाट पुष्टि भएको जोशीको भनाई थियो । बीपी विचार बोकेका मान्छेलाई रुखमा भोट हाले कारबाही हुन्छ हसिया हथौडामा भोट हाल भन्दै सार्वजानिक सभामा भन्नु एक उदाहरण भएको जोशीको भनाई थियो ।

‘नेपाली काँग्रेसले सिद्धान्तलाई छोडेर सत्ताको पछि लाग्छ त्यो दिन पार्टी सिद्धिन्छ भनेर बिपीले भन्नुभएको छ अहिले त्यस्तै भईरहेको छ’ नेता जोशीले भन्नुभयो ।

काँग्रेसले सिद्धान्त छोडेर सत्ताको पछि लागेको उहाँको आरोप थियो । ‘पाँच दलको साझा घोषणपत्र बोकेर हिडेपछि पार्टीको घोषणापत्रको अर्थ नै रहेन’ नेता जोशीले भन्नुभयो । आफ्नो समुहलाई कसैले हल्याउन नसक्ने गरी अघि बढ्न नेता जोशीले कार्यकतालाई आग्रह गर्नुभयो ।

आगामी संघ तथा प्रदेशको चुनावमा आफ्नो समुहको सम्मानजन तरिकाबाट स्थान दिएमा तालमेल हुन सक्ने जोशीको भनाई थियो। गएको चुनावबाट अनुभवबाट पाठ सिकेर अघि बढ्ने उहाँको भनाई थियो । एमालेसँग गएको चुनावसँग मात्रै तालमेल भएको र अबको चुनावमा अरुसँग हुन सक्छ नहुन पनि सक्छ एक्लै लड्न पनि सक्ने जोशीको भनाई थियो ।

‘हामी एक्लै पनि चुनाव लड्न सक्छौं त्यसको लागि पनि तयार हुनुपर्छ’ नेता जोशीले भन्नुभयो प्रत्येक वडामा एक जना विश्वासिलो मान्छे तयार गरेर दरो मान्छे राख्नु पर्ने जोशीले बताउनुभयो । अरुले के भन्छन् भन्दा पनि पहिचानको लागि लड्न पर्ने जोशीको तर्क थियो ।

गत चुनावमा पाटीसँग मेलमिलाप गर्न चाहेपनि एकलौटी ढंगले अघि बढेको उहाँले स्पष्ट पार्नु भयो । ‘गत चुनावमा पाटी मिल्छ भने मिलोस् भने र पाँच पाँच जनाको कमिटी बनाएको तर उहाँहरुले वास्ता गर्नु भएन, फेरी गर्छ भन्ने पनि छैन त्यसैले एक्लै भएपनि चुनाव लड्ने तयारी गर्नु पर्छ’ । जोशीले भन्नुभयो ।

समाजको सभापतिमा पण्डित

बीपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन हुनुभएको छ । दमौलीमा सम्पन्न समाजको १२ औं साधरण सभा तथा छैटौं अधिवेशनले पण्डितलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो । सभापति पण्डित समाजको निर्वतमान सचिव हुनुहुन्छ ।

नव गठित समाजको उपसभापतिमा क्याप्टेन रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ र सहसचिवमा केशमाया गुरुङ (केशु) चयन हुनु भएको छ । सदस्यहरु पछि मनोनित गरिने समाजले जनाएको छ ।

सो अवसरमा नव निर्वाचित सभापति पण्डितले बीपी विचार समाज नै नेपाली काँग्रेसको आत्मा भएको उल्लेख गर्दै शरिरबाट आत्मा हटे शरिर मुर्दा तुल्य भए जस्तै बीपीको विचार विना काँग्रेस र लोकतन्त्र दुवै अघि बढ्न नसक्ने बताउनुभयो ।

वर्तमान काँग्रेस नेतृत्व बीपीको विचारबाट विचलित भएकोले पार्टी कमजोर भएको उहाँले बताउनुभयो । बीपी विचार समाजमालाई पालिका हुँदै सबै वडामा यसको जरा पु¥याईने पण्डितको भनाई थियो ।

व्यास नगरपालिका–६ साँगेमा जन्मनु भएका सभापति पण्डित २०३५ साल देखि नै राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१० स्थित चण्डिदेवी राष्ट्रिय माविको माध्यामिक तहको सस्थापक प्रअ समेत हुनु भएका पण्डित २०५२ सालमा राष्ट्रिय शिक्षा पुरस्कारबाट विभुषित हुुनु भएको थियो ।

नेपाल विद्यार्थी संघ तनहुँको उपसभापति, ट्रेड युनियन काँग्रेसको प्रथम सचिव हुनु भएका पण्डित नेपाल शिक्षक संघ संगठन विभागको केन्द्रीय सदस्य समेत रहुनु भएको थियो । समाजसेवामा विशेष रुची राख्ने पण्डित नेपाल रेडक्रस सोसाईटी तनहुँको कोषाध्यक्ष हुनुहुन्छ ।

उहाँ तनहुँ सञ्चार सहकारी सस्थाको समेत अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला संयोजक एंव गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । मानविकी तथा शिक्षा शास्त्रमा स्नाकोत्तर सम्मको अध्ययन गर्नु भएका पण्डित हाल व्यास नगरपालिका–४ शितलचोक, दमौलीमा बस्नुहुन्छ ।

अधिवेशन सस्थाका निर्वतमान अध्यक्ष डिल्लीराम अधिकारीको सभापतित्वमा भएको थियो । अधिवेशनमा नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपीबहादुर गुरुङ, समाजका सहसचिव सोलबहादुर चित्रौरे, सदस्य शुकुमलाल गुरुङ, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, युवा नेता दीपकराज जोशी, समाजका क्षेत्र नं.२ का सभापति नरेन्द्र थापा, १ का सभापति केशरबहादुर गुरुङ, व्यास नगर सभापति क्या.रेशमबहादुर गुरुङ लगायतले तनहुँमा नेपाली काँग्रेस एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

२० श्रावण २०७९, शुक्रबार २१:५२ मा प्रकाशित
Nabintech