Play

गम्भिर समीक्षा नगरी हतारमा गठबन्धन गर्दा आम कार्यकर्ताको भावनामा चोट पुग्छ-कोइराला

गुरुकुल खबर


जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलीय गठबन्धन गर्दा पार्टीका आम कार्यकर्ताको भावनालाई आत्सात गरी सोच विचार पुर्याएर मात्रै निर्णयमा पुग्न सभापति देउवालाई आग्रह गरेका छन् ।

डा. कोइरालाले अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुसँग आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाँदा हुने फाइदा र बेफाइदाको गम्भिर समीक्षा नगरी हतारमा दलीय गठबन्धन गर्दा आम कार्यकर्ताको भावनामा चोट पुग्ने र यसले नेपाली कांग्रेसको संगठन निर्माणमासमेत असर गर्ने भएकाले नेतृत्वलाई सोचर मात्रै निर्णयमा पुग्न आग्रह गरेका हुन् ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दूरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए । उनले कांग्रेसलाई धेरै फाइदा हुने र यसबाट कार्यकर्तामा निरासा पनि नआउने गरी निर्णय लिन सभापति देउवालाई सुझाएका छन् ।

अधिकांश कांग्रेसी कार्यकर्ताहरु गठबन्धनको पक्षमा नरहेको दावी गर्दै कोइरालाले मधेसका जिल्लाका सभापतिहरूसमेत गठबन्धनको पक्षमा नरहेको तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्ने बताए । उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्ने बताए ।

कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उनले जिकिर गरे ।

३१ असार २०७९, शुक्रबार ११:१६ मा प्रकाशित
Nabintech