Play

बाल अस्पताल, क्यान्सर अस्पताल र मृर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्ने योजनामा गण्डकी प्रदेशसरकार

गुरुकुल खबर


पोखरा । गण्डकी सरकारले प्रदेशबासीलाई स्तरीय सेवा दिन ३ अस्पताल स्थापना गर्ने भएको छ । बालबालिकालाई स्वास्थ्य सेवा सहज र प्रभावकारी रुपबाट उपलब्ध गराउन प्रदेश स्तरमा बाल अस्पताल, क्यान्सर अस्पताल र मृर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्ने योजना सरकारले बताएको छ । यी ३ अस्पताल स्थापनाका लागि को सम्भाव्यता अध्ययन गरिनेछ ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बिहीबार आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा यो योजना सार्वजनिक गरेका हुन् ।
प्रदेशले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयको भौतिक एवं शैक्षिक पक्षको विकास गरी प्रदेशको समृद्धि र विकासका लागि आवश्यक पर्ने विषयमा केन्द्रित गरी पठनपाठन सञ्चालन गर्ने प्रदेशको योजना छ ।

मन्त्री बरालले बजेटका सिद्धान्त र प्राथमिकता निर्माण गर्दा चुनावी घोषणापत्र लगायत माध्यमबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई प्रमुख मार्गदर्शनका रुपमा लिएको बताए । ‘प्रभावकारी अन्तरसरकारी समन्वय र पारस्पारिक सहयोगमार्फत प्रदेश सरकारको भूमिकालाई थप क्रियाशील बनाई नागरिकको सुशासन, शान्ति र समृद्धिको चाहना पूरा गर्ने गरी संघीयताको कार्यान्वयन र सुदृढीकरण गर्दै लगिनेछ ।’

उत्पादकत्व वृद्धि, उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना हुने गरी विकास आयोजनामा स्रोत परिचालन गरिने उनले उल्लेख गरे।

वित्तीय हस्तान्तरण भएर स्थानीय तहमा विनियोजन भएको बजेट कार्यान्वयन अवस्थाको र प्रगतिको विवरण तत्काल प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिने बरालको भनाइ छ । उनले भने, ‘प्रदेश गौरवका आयोजना तथा प्रदेशका रणनैतिक महत्वका आयोजनालाई सयममा नै सम्पन्न गर्न स्रोतको व्यवस्थापन गरिनेछ ।’

सहकारी संस्थालाई परिचालन गरी समुदायमा आधारित बिउ उत्पादनको लागि सिड बैंक स्थापनाका लागि काम थालिने मन्त्री बरालले बताए । ‘कृषि उत्पादन मूल्य सुनिश्चित गरी वितरण प्रणालीलाई सहज बनाइनेछ,’ उनले भने ।

पर्यटन मजदुरलाई पेशामा टिकाईराख्न र प्रवाहित सेवालाई भरपर्दाे र गुणस्तरीय बनाउन विशेष सहुलियत तथा सुविधाका कार्यक्रम सञ्चालन गर्ने गण्डकी सरकारको योजना छ । प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानीको सेवा प्रदान गर्न एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई आगामी वर्षभित्रमा सबैलाई आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरिने भएको छ ।

वन्यजन्तुका लागि आवश्यक पानीको उपलब्धता तथा जैविक विविधताको संरक्षण गर्न उच्च पहाडी क्षेत्रमा वर्षाको पानी संकलन हुने गरी एक सामुदायिक वन एक पोखरी निर्माण गर्ने योजना  छ ।

उद्यमी युवा समृद्ध प्रदेश निर्माणमा टेवा पुर्‍याउने कार्यक्रमलाई निरन्तरता दिई युवामा सीप, क्षमता र नेतृत्व विकासमा जोड दिने सरकारको योजना छ ।

१३ जेष्ठ २०७९, शुक्रबार १४:२९ मा प्रकाशित
Nabintech