Play

कास्कीमा एमालेको गढ भत्किदै, बहुसंख्यक वडामा काँग्रेस विजयी

गुरुकुल खबर


रीता गुरुङ 

पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत कास्की जिल्लामा यस पटक नेपाली काँग्रेसले विगतको भन्दा राम्रो नतिजा निकालेको छ । कास्कीमा चार वटा गाँउपालिका र एक महानगरपालिका रहेकोमा सबैजसो पालिकामा नेकपा एमालेको प्रभाव बढीरहेको मानिन्थ्यो । यसअघि ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सबैजसो पालिकामा आफ्नो बहुमत सिद्ध गरेको थियो ।

अन्नपुर्ण गाँउपालिकाको अध्यक्ष र केही वडाध्यक्षमा जितेको नेपाली काँग्रेसले माछापुच्छ्रे गाँउपालिकामा भने एक वडाध्यक्षमा मात्रै चित्त बुझाउनु परेको थियो । मादी गाँउपालिकाका केही वडा र रुपागाँउपालिकाका ३ वटा वडामा मात्र जितेको काँग्रेसले पोखरा महानगरपालिकाका ३३ वडा मध्ये ११ वडामा मात्रै विजय प्राप्त गरेको थियो ।

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यस पटक भने पोखरा महानगरपालिका सहित गाँउपालिकाहरुको नतिजा फरक आएको छ । माछापुच्छ्रे गाँउपालिकामा अध्यक्ष उपाध्यक्षसहित ७ वटा वडामा काँग्रेसले जितेको छ । यसअघि उक्त गाँउपालिकामा एक वडा मात्रै जितेको थियो ।

अन्नपुर्ण गाँउपालिकामा यसअघि अध्यक्ष र ४ वटा वडा काँग्रेसले यसपटक अध्यक्ष उपाध्यक्ष सबै गुमाउन पुग्यो र तीन वटा वडामा चित्त बुझाउनु पर्यो । मादी गाँउपालिकामा ६ वटा वडासहित अध्यक्ष काँग्रेसले जित्न सफल भयो । यसअघि ३ वटा वडामा मात्र काँग्रेस विजयी भएको थियो ।

रुपा गाँउपालिका एमालेको गढ मानिद्ै आएकोमा यस अघि ३ वटा वडा मात्र जितेको काँग्रेसले यस पटक २ वडामा मात्र चित्त बुझाउनु पर्यो ।

कास्कीका अन्नपुर्ण गाँउपालिकामा विष्णुबहादुर केसी एमालेबाट र माछापुच्छ्रे गाँउपालिकामा मिनबहादुर गुरुङ नेपाली काँग्रसबाट विजयी भए भने मादी गाँउपालिकामा नेपाली काँग्रेसका देवीजंग गुरुङ दोस्रो प्रयासमा गाँउपालिका अध्यक्ष बन्न सफल भए । रुपा गाँउपालिकामा एमालेका नवराज ओझाले दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने मौका पाए ।

अन्नपुर्णमा काँग्रेसका युवराज कुँवरले दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने प्रयास गरेपनि सफल हुन सकेन । माछापुच्छ्रेमा एमालेका विक्रम गुरुङ र मादीमा एमालेका महेन्द्र गुरुङ अध्यक्षमा पराजित भए भने रुपामा काँग्रेसकी गीमाया गुरुङ अध्यक्षमा पराजित बनिन् । उनी यसअघिको निर्वाचनमा गाँउपालिकाको उपाध्यक्षको उम्मेदवार थिइन् ।

पोखरा महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहदै नेपाली काँग्रेसले पोखरा महानगरका ३३ वडा मध्ये बहुमत वडामा विजयको नजिक पुगीसकेको छ । पोखरा महानगरको प्रमुख र उपप्रमुखमा समेत गठबन्धन दलका उम्मेदवारले नेकपा एमालेलाई कडा चुनौती दिईरहेका छन् । जसका कारण महानगरको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा पा्रँच दलिय गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका धनराज आचार्यसंग् पराजित हुने करिव निश्चित भएको छ भने उपप्रमुखमा एमालेका उम्मेदवार मन्जुदेवी गुरुङ र नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाट बीच कडा प्रतिष्पर्धा देखिएको छ ।

नेकपा एमालेको प्रभाव क्षेत्र मानिने गण्डकी प्रदेश र त्यसमा पनि कास्की जिल्लामा नेकपा एमाले कमजोर बन्नुका पछाडि धेरै कारण हुन सक्छन् । यस अघिको निर्वाचनमा पोखरा लगायत सबैजसो गाँउपालिकामा नेकपा एमालेका तर्फबाट जनतालाई दिएका आश्वासन र प्रतिबद्धता पुरा गर्नुको सट्टा एमालेका जनप्रतिनिधिहरु आर्थिक अनियमितता र आफ्ना विपक्षी अर्थात मतभेद राख्नेहरुलाई दबाउनमा केन्द्रीत भए । भ्रष्टाचार बढ्दै गयो, जनताले सुशासन र पारदर्शिताको अनुभव कास्कीका कुनै पालिकामा पनि गर्न पाएनन् ।

पोखरा महानगरपालिकामा मेट्रो रेल, मेट्रो बस व्यवस्थित पार्किङ , सुविधा सम्पन्न अत्याधुनिक बसपार्क, शहरको सौन्र्दयीकरण, फेवतालको संरक्षण, आन्तरिक र बाह्य पर्यटकको बसाई लम्ब्यउने खालका गतिविधि लगायतका कामहरु हुन नसक्दा नगरबासीहरु एमालेको नेतृत्वप्रति उदासिन रहन पुगे । अझ अघिल्लो चुनावको बेला भनिएको स्मार्ट सिटी र स्मार्ट सेवा जस्ता विषय पुरै ओझेलमा रहे । यसका साथै महानगरका बासिन्दाहरुले अपेक्षा गरेअनुसारको सेवा र सुविधा एमालेको नेतृत्वमा रहेको महानगर सरकारबाट पाउन नसकेको भनेर असन्तुष्टि जनाईरहदाँ नेकपा एमालेले उम्मेदवारी चयनमा पनि आफ्ना कार्यकर्ता र शुभचिन्तकको मनोभावना बुझ्न सकेन ।

पोखरा महानगरपालिका भित्रको कुरा गर्ने हो भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापा २०४९ सालदेखि करिव सबैजसो निर्वाचनमा सहभागि छन् । पहिलो पटक तत्कालिन पोखरा नगरपालिकाको उपप्रमुखमा प्रतिष्पर्धा गरेका थापाले त्यसबेला जित्न नसकेपनि २०५४ को निर्वाचनमा भने पोखरा नगरपालिकाको प्रमुख बन्ने अवसर पाए । त्यसपछि संविधानसभाको निर्वाचनमा पनि प्रतिष्पर्धा गरेका उनी पछिल्लो पटक भएको प्रदेश सभाको निर्वाचना गण्डकी प्रदेशको सांसद बन्न सफल भए । प्रदेश सांसदको पदावधि ६ महिना बाँकी रहेकै अवस्थाा उनले पोखरा महानगरको मेयर बन्ने सपना बोकेर प्रदेश सांसदबाट राजीनामा दिए ।

नेकपा एमालेले पोखराको मेयरमा शिक्षक पेशाबाट राजनीतिमा उदाएका दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको भएपनि पौडेल माथि केही वर्ष अघि सुन पसलबाट सिक्री चोरी गरेको घटनाको भिडियो सार्वजनिक गराएर उनको उम्मेदवारी फिर्ता गर्न बाध्य गराउने काम पौडेल विरोधी खेमाका एमाले नेता कार्यकर्ताहरुले गरेका थिए । त्यसपछि मात्र थापा मेयरको उम्मेदवार बन्न पाएका हुन् ।

यो घटनापछि नेकपा एमालेभित्र एक किसिमको असन्तुष्टि र विद्रोह समेत पैदा भयो । जसले गर्दा पौडेलको उम्मेदवारी खोसेर थापा उम्मेदवार बनेको सन्देश पार्टी भित्र व्यापक रुपमा फैलियो । यसले थापालाई चुनावमा जिताउने भन्दा पनि हराउने भन्दै पार्टीभित्र विभिन्न तहका कार्यकर्ताहरु सक्रिय रहन पुगे । यतिबेला एमालेका पोखरा र कास्की जिल्ला स्तरका केही कार्यकर्ताहरुले एमाले उम्मेदवार थापालाई हराउने र आचार्यलाई जिताउने गरी भएका टेलिफोन कुराकानीको अडियो रेकर्ड विभिन्न संचारमाध्यममा सार्वजनिक भईरहेको छ ।

एमालेका उम्मेदवार थापा र गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनेका आचार्यको कुरा गर्ने हो भने आचार्यलाई नेपाली काँग्रेसका सबैजसो कार्यकर्ताले इमान्दारीपुर्वक मतदान गरे । काँग्रेसको अत्यन्त न्युन संख्याका मतदाताले मात्रै आचार्यको विरोधमा अन्य चुनाव चिन्हमा मतदान गरेको मतगणनाको परिणामबाट देखिन्छ । त्यसो हुनुमा कतिपयले नजानेर वा केहीलाई अर्को चुनाव चिन्हमा मत दिन मन नलागेर पनि हुन सक्ने अनुमान धेरैले गरेका छन् ।

एमालेका थापालाई एमालेभित्रैबाट मत कम खस्नु तर नेकपा एसका उम्मेदवार आचार्यलाई काँग्रेसका मतदातासहित नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादी लगायत गठबन्धनका दल र एमालेको असतुन्ष्ट मतदाताले समेत मत दिएकोले आचार्य पोखरा महानगरको मेयरमा विजयोन्मुख अवस्थामा छन् ।आचार्यले नेकपा एमालेभित्रको अन्तरसंघर्ष राम्रैसंग बुझेको र एमालेमै रहेर लामो समय काम गरेको कारण पनि उनलाई एमालेहरुले समेत मत दिने अवस्था सिर्जना भएको हो । यतिबेला आचार्यले ३ हजार बढी मतले थापालाई पछि पारेका छन् । अब पोखरा महानगरका एमाले प्रभावित वडाहरुको मतगणना हुन बाँकी रहेपनि ती वडाबाट समेत आचार्यले राम्रै मत पाउने अपेक्षा गरिएकोले उनको विजयमा शंका गर्ने ठाँउ देखिदैन ।

तर उपमेयर पदका प्रतिष्पर्धी मन्जु गुरुङ र कोपिला रानाभाटबीचको प्रतिष्पर्धामा काँग्रेस प्रभावित पोखराको मुख्य बजार क्षेत्रका वडाको मतगणनामा रानाभाटले अग्रता लिएपनि एमाले प्रभावित वडामा गुरुङले अग्रता लिदाँ अनि एमाले प्रभावित वडाको मतगणना बाँकी रहेकोले मन्जुलाई नै फाइदा पुग्ने अवस्था छ । रानाभाटले विजयपुर पारि अर्थात पहिलेको लेखनाथ क्षेत्रबाट राम्रो मत प्राप्त गर्न सकेको भए उनको सम्भावना बढी थियो तर उनको आफ्नो भुगोल मानिने लेखनाथका विभिन्न वडाहरुबाट अपेक्षा गरिए अनुसार मत आउन नसक्दा रानाभाटको विजयी माथि चुनौति थपिएको छ ।

यसपटक नेपाली काँग्रेसले पोखरा महानगरपालिकाका २० भन्दा बढी वडा जित्ने सम्भावना थियो तर वडा नं १, ६, ८ र १५ मा काँग्रेसले सोचेअनुसारको नतिजा पाउन सकेन । तर वडा नं ७, १३, १४, २४, २५, २६ र २८ लगायतका वडामा काँग्रेसले ऐतिहासिक विजय प्राप्त गरेको छ ।

वडा नं ७ मा करिव ४० वर्षपछि काँग्रेसका राममोहन आचार्यले वडाध्यक्ष जितेका छन् भने वडा नं १३ मा यस अघिको निर्वाचनमा नेपाली काँग्रेसका तत्कालिन नगरसभापति बजिरमान श्रेष्ठ करिव १ हजार भोटले वडाध्यक्ष हारेकोमा यसपटक करिव १ हजार मतान्तरले काँग्रेसका किरण बराल वडाध्यक्ष निर्वाचित भए ।

वडा नं १४ मा यसअघिको निर्वाचनमा १ सय २७ ले मतले चुनाव हारेका काँग्रेसका बोधराज कार्की यस पटक १ हजार ५ सय भन्दा बढी मतान्तरले वडाध्यक्ष निर्वाचित भए ।

यसैगरी नेकपा एमालेको गढ मानिने पोखरा २४ कास्कीकोटमा काँग्रेसका भरतबहादुर अधिकारीले ३ सय बढी मतले वडाध्यक्ष निर्वाचित भए । उक्त वडामा काँग्रेसले विजय प्राप्त गरेको पहिलो पटक हो ।

यसैगरी वडा नं २५ हेम्जामा पनि यसपटक काँग्रेसले करिव ३ दशकपछि आफ्नो गुमेको साख फिर्ता गरे । २०४९ सालमा नेपाली काँग्रेसका रामचन्द्र त्रिपाठीले तत्कालिन गाविस अध्यक्ष निर्वाचित भएपछि यसपटक महानगरको वडाको रुपमा चुनाव हुदाँ काँग्रेसका मोतीराज तिमिल्सिना वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

वडा नं २६ नेपाली काँग्रेसका नेताहरु तारानाथ रानाभाट, यज्ञबहादुर थापा लगायतको वडा हो । यसअघिको चुनावमा नराम्रोसंग काँग्रेस पराजित भएकोमा यस पटक भने काँग्रेसका उम्मेदवार नरेन्द्र थापा लोकप्रिय मतका साथ विजयी बनेका छन् ।

वडा नं २८ पनि एमालेको गढ मानिन्थ्यो । गाविस रहदा मात्र नभएर महानगरमा जोडिएपछि पनि एमालेले विजयी प्राप्त गर्दै आएको यस वडामा पहिलो पटक नेपाली काँग्रेसका उम्मेदवार श्रीकृष्ण लामिछाने वडाध्यक्षमा निर्वाचित भए । वडा नं २८ नेकपा एमालेका नेता एवम् पोखरा महानगरका निर्वतमान प्रमुख मानबहादुर जीसीको वडा पनि हो ।

हालसम्मको मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेसले वडा नं २ मा दिवसमान प्रधानांग, ३मा प्रकाश उदास, ४ मा देवकृष्ण पराजुली, ७ मा राममोहन आचार्य, ९ मा दिपेन्द्र मर्सानी, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १४मा बोधराज कार्की, २३ मा रामकाजी गुरुङ, २४मा भरतबहादुर अधिकारी, २५ मा मोतीराज तिमिल्सिना, २६ मा नरेन्द्र थापा, २७ मा पुर्णकुमार गुरुङ र २८ मा श्रीकृष्ण लामिछाने गरी १४ वटा वडामा विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वडा नं १ मा सहारा प्रधान, ५मा विष्णु बराल, ६ मा विष्णु भट्टराई, ८ मा रुद्रनाथ बराल र २० मा गंगाबहादुर केसी गरी ५ जनाले विजय प्राप्त गरेका छन् ।

वडा नं १० मा काँग्रेसका राजेश गुरुङ, ११ मा काँग्रेसका प्रेम कर्माचार्य विजयको नजिक पुगेका छन् भने वडा नं १६ मा काँग्रेसका अमृत तिमिल्सिना र वडा नं ३१मा ढकनाथ कँडेलले अग्रता लिईरहेका छन् । वडा नं ३० मा काँग्रेसका दुर्गाप्रसाद सुवेदीले अग्रता लिईरहेका छन् । वडा नं १७, १८, १९, २१, २२, ३२ र ३३ को भने मतगणना हुन बाँकी छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार शनिबार साढे चार बजेसम्मको मतगणनाको परिणाम अनुसार मेयर पदमा धनराज आचार्यले ३५ हजार २ सय ६, कृष्ण थापाले ३१ हजार ७ सय २८, राप्रपाका शंकर खरालले ३ हजार ९ सय ५२ र स्वतन्त्र उम्मेदवार लौरो चिन्हका गनेश पौडेलले २ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् भने उपमेयरमा कोपिला रानाभाटले ३५ हजार ६ सय २९, मन्जुदेवी गुरुङ। ले ३६ हजार २ सय ३६ र राप्रपाकी रञ्जनाकुमारी सेनले ३ हजार ८ सय २४ मत पाएका छन् ।

७ जेष्ठ २०७९, शनिबार १६:३७ मा प्रकाशित
Nabintech