Play

जेठदेखि शनिबार र आइतबार बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

गुरुकुल खबर


काठमाडौँ — जेठदेखि आइतबार पनि बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ । आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ । जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय समय हुनेछ । तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९:३० देखि साँझ ४:३० सम्म हुनेछ ।

‘दसैं तिहारको सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि आवश्यकीय बैकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई, अत्यावश्यक सेवा, राजस्व कारोबार गर्ने शाखा/काउन्टर, क्लियरिङ काउन्टर र नेपाल क्लियरिङ हाउस खुला गर्ने व्यवस्था मिलाउने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । सेवाग्राहीको एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सृजना हुन नदिने सुनिश्चतता सहित सेवा प्रवाहको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

२८ बैशाख २०७९, बुधबार २१:३६ मा प्रकाशित
Nabintech