पोखरा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा बिहिबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा एकैसाथ मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका स्थित जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना भएसंगै, निर्वाचन गतिविधि बारे राजनितिक दललाई समन्वय तथा परामर्श लिन सहयोग पुग्ने जनाईएको छ ।
कार्यालय स्थापनाको पहिलोदिन कार्यालय स्थापना स्थापना संगसंगै आसन्न स्थानीय तह निर्वाचन कार्यक्रम बारे जानकारी,निर्वाचन आचार सहिंताको पालना र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सर्वदलीय बैठक गरिएको मुख्य निर्वाचन अधिकृृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।कार्यक्रममा विगतका स्थानीय तह निर्वाचन र संघ प्रदेशको निर्वाचनमा भए गरेका गतिविधिलाई न्यूनिकरण गर्न निर्वाचनमा खटिने कर्मचारी,सुरक्षा निकाय र राजनितिक दल सचेत रुहनुपर्ने सुझाव पेश गरिएको थियो ।कार्यालय स्थापनाको अवसरमा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण,जिश्पक्ष,पारदर्र्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन लक्षित सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीले निर्वाचन सुरक्षाका लागि आवश्यक सयन्त्र तयार भएको बताए । उनले जिल्लाका ३८ मतदान केन्द्रमा ३÷३ जना प्रहरी कमाण्ड खटाईने छ भने त्यसका साथमा ५ देखि ६ जनाको संख्यामा म्यादी प्रहरी परिचालन हुने बताए ।उनका अनुसार म्यादी प्रहरी र नेपाल प्रहरी गरी प्रत्येक पालिकामा २÷२ वटा मोवाईल टिम खटाईने छ । यसका साथ निर्वाचन कार्यक्रम अघि र निर्वाचन कार्यक्रम सम्पन्न नभईन्जेलसम्म प्रहरी कमाण्ड सेन्टर परिचालन हुँने प्रहरी निरीक्षक दानीले उल्लेख गरे ।
यस्तै,सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षालाई केन्द्रित गरी सुरक्षाकर्मी परिचालन गर्ने सशस्त्र प्रहरी प्रमुख मोहनजंग कार्कीले कार्यक्रममा जानकारी दिए । उनका अनुसार ५ वटै पालिकामा निर्वाचन अधिकृतलाई सुरक्षागार्ड पिएसओ खटाईएको छ भने ५ वटै तहमा ३÷३ वटा मोवाईल टिममा ३ जना सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने बताए । प्रत्येक पालिकामा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्रले सुरक्षा दिने उनको भनाई छ । मुस्ताङको ५ स्थानीय तहमा १० हजार ४ सय ८५ जना मतदाता छन् ।