Play

यो लकडाउनले इमेल चलाउन सिकायो, घरको काम पनि सिक्दैछु

गुरुकुल खबर


प्रगति खनाल
कक्षा ३, सेन्ट मेरिज हाई स्कुल जावलाखेल , ललितपुर

सबैजनालाई नमस्कार । म आज लकडाउन र मेरो पढाईको बारेमा केही कुरा लेख्दैछु । कक्षा दुईबाट तीन कक्षाको पढाईको लागि म निकै उत्सुक थिएँ । चैतको २० गते मेरो दुई कक्षाको ‘रिजल्ट आउट’ हुने दिन थियो । चैतको ११ गतेबाट लकडाउन सुरु भयो । परीक्षाको नजिता लिन अभिभावक सहित विद्यालय जानुपथ्र्यो । तर, यो पटक कोरोना भाइरसका कारण परीक्षाको नतिजा विद्यालयको एपमा नै सार्वजनिक भयो । लकडाउन सुरु हुने बित्तिकै केही दिनमा लकडाउन खुल्छ, त्यसपछि विद्यालय जान पाइन्छ जस्तो लागेको थियो । तर, मैले सोचेजस्तो भएन ।

नतिजा प्रकाशन भएको केही दिनपछि विद्यालयको वेभसाइटबाट गृहकार्य दिन सुरु गर्नुभयो शिक्षिकाले । सुरु त एकदमै गाह्रो भएको थियो । त्यस होमवर्क गर्ने बानी थिएन । गाह्रो लागेको त्यो काम गर्न अहिले त बानी परिसकेको छ । यो लकडाउनको बारेमा धेरै जना ठूला मान्छेले नकारात्मक कुरा मात्रै गरेको सुन्छु । मलाई त यो लकडाउनले धेरै कुरा सिकाएको छ । इमेल चलाउन जान्ने भएकी छु । जुम पनि आफैं चलाउँछु । मेरो भाइ पनि छ । उ एक कक्षामा पढ्छ । उसलाई पढाउँछु । होमवर्क सिकाउँछु । जुम मार्फत हुने उसको क्लासमा मैले नै ज्वाइन गराइदिन्छु । यो लकडाउनले मलाई इमेल चलाउन सिकायो । जुम चलाउन सिकायो । भाइलाई पढाउन पनि सक्ने भएकी छु ।

विद्यालय कहिले खुल्छ, अझैै थाहा छैन् । त्यसैले यो समयको सदुपयोग गरेर घरको काम पनि सिक्ने विचार गरेको छु । हुन त यस अघि पनि सकेसम्म आफ्नो काम आफै गर्थे । अब यो समयमा ममीसँग भान्साको काम पनि सिक्छु । चिया पकाउन त अहिले पनि आउँछ । सानो सानो भाँडा पनि सफा गर्न सक्छु । तरकारी पखाल्न, काट्न पनि ममीले अस्ती सिकाइदिनु भएको छ । आफ्नो कोठा मिलाउन म सिपालु छु रे ममीले भन्नु भएको छ । कोठा त दिन दिनै मिलाउँछु । हप्ताको तीन पटक मात्रै बढार्छु ।

मलाई ममीसँग भान्सामा काम गर्न एकदमै रमाइलो लाग्छ । गफ गर्दै काम गर्दा क्या रमाइलो हुन्छ । ममी पनि आफ्नो कुरा खुशी भएर हामीसँग सेयर गर्नु हुन्छ । म, दिदी र भाइ छौ । हामीपनि हाम्रो कुरा ममीलाई भन्छौं । ममी त मलाई साथी जस्तै लाग्छ । गल्ती गर्दा गाली गर्नु हुन्नन् । सम्झाउनु हुन्छ । गल्ती नदोहोर्याउन सल्लाह दिनु हुन्छ । दिनदिनै साथीहरु भेट्ने मलाई लामो समयसम्म कोही नभेट्दा निकै बोर भयो त्यसैले साताको तीन पटक साथीहरुसँग फोनमा वा म्यासेन्जर कलमा कुरा गर्छु । रबिशा, रियाना र जोत्सनासँग कुरा गर्छुृ । उनीहरुसँग होमवर्कको बारेमा कुरा हुन्छ । कोरोनाको बारेमा कुरा हुन्छ । परिवारका सदस्यको बारेमा सोध्छु । साथीहरुसँग फोनमा कुरा गर्दा स्कुल कम मिस भएको छ ।

८ असार २०७७, सोमबार १९:१६ मा प्रकाशित
Nabintech