काठमाडौं । हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनाव अघि समाजवादी केन्द्र बनाउने बहस भयो । नेकपा एमालेबाहेक कम्युनिस्ट पार्टीलाई जोड्ने गरी समाजवादी केन्द्र बनाउने उद्घोष गरियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र वामदेव गौतम समूह मिलाएर समाजवादी केन्द्र बनाउने चर्चा थियो ।
नेकपा एकीकृत समाजवादी पार्टीले एकता संयोजन समितिसमेत बनाउने निर्णय गर्यो । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा रहेको समितिका सदस्यमा झलनाथ खनाल, महासचिव बेदुराम भुसाल थिए । तर, चुनाव लगत्तै नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन टुटेपछि समाजवादी केन्द्र बनाउने बहस किनारा लाग्यो ।
अहिले नेकपा एमाले, माओवादी केन्द्र सहितको सात दलीय गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै समाजवादी केन्द्र बनाउने विषयले फेरि प्रवेश पाउने देखिएको छ ।
जसपाले पार्टी एकता र सहकार्यका विषयमा छलफल गर्न तीन सदस्यीय कार्यदल बनाइसकेको छ । राजेन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन् ।
पार्टीको मूल सिद्धान्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीको प्रतिकुल नहुने गरी पावर सेयरिङमा सम्मानजनक भएमा प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय जसपाले गरिसकेको छ । प्रचण्ड नेतृत्वको सरकारमा गएमा सहकार्य, एकता र समाजवादी केन्द्रको बहसले समेत मूर्तरूप लिने उसले बताएको छ ।
जसपा प्रवक्ता मनिष सुमनले विचार, सिद्धान्त र दृष्टिकोण मिल्ने जुनसुकै पार्टीसँग एकता वा सहकार्य हुन सक्ने बताए ।
‘हाम्रो वार्ता समिति आपसमा बस्छ । आफ्नो विचार, सिद्धान्त मिल्नेहरू सूचीकृत हुन्छ । त्यसपछि एकीकृत समाजवादी, माओवादी कुन कुन दल हुन्छ भन्ने विषयमा प्राथमिकीकरण हुनेछ,’ सुमनले भने, ‘हामीले कुनै दल विशेषलाई लक्षित गरेर समिति बनाएका छैनौँ । विचार, सिद्धान्त र दृष्टिकोण मिल्ने जुनसुकै पार्टीसँग सहकार्य वा एकता हुन सक्छ ।’
समाजवादी केन्द्र बनाउने विषयमा भने पार्टीको कुनै एजेण्डा नभएको सुमनले जिकिर गरे ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले विचार र सिद्धान्त मिल्नेसँग सकेसम्म पार्टी एकता गर्ने, त्यो सम्भव नभए मोर्चा बनाउने निर्णय गरेको छ । पार्टी एकता र सहकार्य हतारमा गर्ने पक्षमा भने नभएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए ।
‘अब माओवादी र एमालेको जस्तो एकता हुँदैन । सिद्धान्त, विचार दृष्टिकोणमा आधारित भएर एकता हुनेछ,’ तुलाधारले भने, ‘उदाहरण, माओवाद मार्गदर्शक सिद्धान्त हुन सक्छ कि सक्दैन ? नामै माओवादी रहन्छ रहँदैन । यावत कुरा टुङ्गो लगाएर एकता हुन्छ । एकता प्रक्रियाको क्रममा विचार, सिद्धान्तका हिसाबले माओवादीसँग हुन सक्छ । मोर्चा बनाउने हिसाबले कम्युनिस्ट फ्लेभर आउने वाम झुकाव भएका दलसँग कार्यगत एकता वा मोर्चा बनाउने हुन सक्छ ।’
पार्टी एकता र मोर्चा बनाउन स्थायी समितिलाई अधिकार दिएको तुलाधरले बताए । सकेसम्म एकता, नभए बृहत् मोर्चा बनाउने तयारी रहेको उनको भनाइ छ ।
माओवादी केन्द्र र नेपाल समाजवादीबीच छिटै एकता हुँदै
नेपाल समाजवादी पार्टीले पुस २४ गते बस्ने गरी राजनीतिक समितिको बैठक बोलाइसकेको छ । बैठकले पार्टी एकता र मोर्चाबन्दीका विषयमा महत्त्वपूर्ण निर्णय लिने गंगानारायण श्रेष्ठले बताए ।
राजनीतिक समितिको बैठकपछि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने गरी दुवै पक्षबाट समिति बनाएर जान सकिने श्रेष्ठको भनाइ छ ।
नेपाल समाजवादीका केही नेताले गत निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभामा तीमध्ये केहीले प्रतिनिधित्वसमेत गरेका छन् । उनीहरू माओवादी केन्द्रकै सांसदको हैसियतमा रहने छन् । त्यसैले पार्टी एकता गर्न ढिला गर्न नहुने भन्दै कतिपय नेता–कार्यकर्ताले बाबुराममाथि दबाब बढाएका हुन् ।
‘तत्काल हाम्रो पार्टी र माओवादीबीच एकता गर्ने भन्ने छ । त्यसमा पार्टीको नाम र चुनाव चिह्न तत्काल टुङ्गो लगाउनुपर्छ भन्ने छ । अरू वैचारिक र कार्यदिशाको सवालमा महाधिवेशनमा बहस, छलफलबाट किनारा लगाउनुपर्छ भन्ने छ,’ श्रेष्ठले भने, ‘हाम्रो जोड समाजवादी केन्द्र बनाउने र चुनाव चिह्न समेत फेर्नुपर्छ भन्ने छ । त्यसमा दुवै पक्षको सहमतिमा एउटा निष्कर्षमा पुग्नुपर्छ भन्ने छ ।’
अरू देशभक्त कम्युनिस्ट पार्टीहरुबीच एउटा फोरम बनाएर सहकार्य गरेर जाने योजना बनाएको श्रेष्ठले बताए । त्यसमा एमाले, एकीकृत समाजवादी र जसपा लगायतका दललाई समेट्न सकिने बताइएको छ ।
यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग तत्काल एकता हुने गरी छलफल भइरहेको बताए । ‘बाबुरामजी नेतृत्वको पार्टीसँग चुनाव अघि नै एक खालको सहकार्य भइसकेको हो । प्राविधिक रूपमा एकता गर्न मात्रै बाँकी छ,’ पौडेलले भने, ‘संसद्मा भएका अरू कम्युनिस्ट शक्तिहरूलाई जोडेर बृहत् कम्युनिस्ट केन्द्र बनाउने योजनामा छौँ ।’
पार्टीको नाम र चुनाव चिह्न आपसी सहमतिमा टुङ्गो लगाउने पौडेलको दाबी छ ।
प्रचण्ड र बाबुरामबीच गत साउन ३१ गते एउटै चुनाव चिह्न र घोषणापत्र लिएर जाने सहमति भएको थियो । एउटै चुनाव चिह्न र घोषणापत्र मार्फत नेपाल समाजवादीका नेता महेन्द्रराय यादव प्रतिनिधिसभामा र गंगानारायण श्रेष्ठ, फनिन्द्र देवकोटा प्रदेशसभामा निर्वाचित भएका छन् ।
यी दुई पार्टीबीच एकता भएमा पुनः समाजवादी केन्द्र बनाउने विषयमा बहसले प्रवेश पाउने बताइएको छ । माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकता भएर एउटा पार्टी बन्ने, अर्कोतिर जसपा र एकीकृत समाजवादीबीच एकता गरेर एउटा शक्ति भएमा समाजवादी केन्द्र बनाउने दिशातिर कोर्स अघि बढ्ने नेताहरू बताउँछन् ।
रातो पाटीबाट