पोखरा । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि सथा र प्रदेश सभा सदस्यको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउनका लागि भएको बताएका छन् ।
पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको बताए। “बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उहाँहरुको माग सम्बोधन गर्नु पर्छ”, उपाध्यक्ष श्रेष्ठले भने, “पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ ।”
शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताउँदै लोकतन्त्रको अभिन्न अङ्ग निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएको दावी गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि सफलरूपमा सम्पन्न गर्न अगाडि बढेको बताए । आसन्न निर्वाचन सम्पन्न पछि पाँचदलीय गठबन्धन पनि सकिने भन्ने बजार हल्ला चलिरहेको बेला केन्द्रिय सदस्य महरले गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै रहने दावी गरे ।
लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ति पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आबद्ध सबै दलले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्नसमेत महरले आग्रह गरे ।
नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामाले आगामी निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धितर्फ कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न जरुरी भएको बताए । विगतमा कुन राजनीतिक दलले के गरे र कोसंग गठबन्धन गरे भन्ने तर्फ नलागी वर्तमान पाँच गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पार्दै उपाध्यक्ष लामाले कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका नौवटै सिटमा गठबन्धनका उम्मेदवार विजय हुने दाबी गरे ।
नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका युवा नेता एवम् नेपाली काँग्रेस कास्की जिल्ला सदस्य गङ्गाधर पराजुलीलगायतले मुलुकमा शान्ति, समृद्धि र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनलाई जिताउनु पर्ने आवश्यकता औल्याएका थिए ।