Play

नवलपुर १ बाट लगातार चुनाव जितेका कांग्रेस नेता डा शशांक चौथो पटक संसद प्रवेश गर्ने तयारीमा

गुरुकुल खबर


नवलपुर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि देशै भरका निर्वाचन क्षेत्रमा राजनीतिक जोड घटाउ चलिरहेको छ । दुई वटा निर्वाचन क्षेत्र भएको नवलपुरमा पनि दलका नेताहरुले आफ्नो उम्मेदवारी दाबी गर्न शुरु गरेका छन् ।

चासोको रुपमा हेरिएको नवलपुरको संघीय क्षेत्र नं १ मा भने नेपाली कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला चौथो पटक पनि चुनाव जितेर संसद प्रवेश गर्ने तयारीमा छ्न् ।

कोइराला आफैं हेविवेट नेता भएका र पार्टी सभापति शेरबहादुर देउवासँगको निकटताको कारण यस पटक कांग्रेसबाट यो क्षेत्रमा उनैले टिकट ल्याउने पक्कापक्की जस्तो देखिएको छ । पार्टीको चौधौं महाधिवेशनमा डा शेखर कोइराला र शेरबहादुर देउवा सभापति पदको चुनाव लड्दा मौन बसेर देउवालाई सहयोग गरेको आरोप आफ्नै परिवार भित्रैबाट खेपेका शशांकलाई देउवाबाट टिकट लिन कुनै समस्या नरहेको देउवा निकट नेताहरु नै बताउँछन् ।

कोइरालाको निर्वाचन क्षेत्र भएका कारणले यो क्षेत्रमा नवलपुरका कांग्रेस नेताहरुले पनि इच्छा जाहेर गर्न सकेका छैनन् । नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क बाट चुनाव लडेर मुख्यमन्त्री बनेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल यस पटक यसै क्षेत्रबाट संघीय सांसदका लागि इच्छुक देखिए पनि कोइरालाले नै लड्ने बताएपछि उनी पछि हटेका छन् ।

कोइराला यस क्षेत्रबाट लड्ने भएपछि मुख्यमन्त्री पोखरेल संघीय समानुपातिकमा बस्ने या पुनः प्रदेश सभामा लड्ने भन्ने निर्णयमा पुगिनसकेको उनी निकट स्रोतले बताएको छ ।

त्यस्तै यही क्षेत्रका लागि अर्का दावेदार भनिएका कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसीले पनि प्रदेश सभातर्फ उम्मेदवारी गर्ने तयारी गरेका छन् । अघिल्लो पटक निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ख मा पराजित भएका जिसी यस पटक भने कांग्रेसको बलियो मानिएको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क मा उम्मेदवारी दिने गरी तयारीमा रहेका छन् ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार भन्दा ४ हजार २४ मतले अगाडि रहेर निर्वाचन जितेका कोइराला यस पटक पाँच दलीय गठबन्धनको उम्मेदवार बनेर सहज जित निकाल्ने दाउमा रहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई हेर्दा कोइरालाको क्षेत्रमा कांग्रेस नै अगाडि देखिएको छ ।

वडाध्यक्षहरुले पाएको मत अनुसार कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादीको १ हजार ९२१, जसपाको १८८ मत रहेको छ ।

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर चुनाव लड्दा यो क्षेत्रमा कोइरालालाई थप सहज हुने देखिएको छ ।

१५ भाद्र २०७९, बुधबार ०९:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा