Play

नुवाकोटको बाढी पहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन कांग्रेसका प्रवक्ता डा. महतको माग

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार र बिहिबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन ।

साउन २४ गते राति परेको भीषण  बर्षाले नुवाकोट क्षेत्र नं १ को तादी खोलामा आएको बाढीले  दुप्चेश्वर ३ राउतबेशी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल , पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उनले भनेका छन,”साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनीय विनास निम्त्याएको छ । पन्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पूल क्षतिग्रस्त भएको  छ । सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ। बाढी पहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन म सरकारसंग जोडदार माग गर्दछु ।”


आफ्नो गृह जिल्लाको प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुग्नुभएका पूर्वमन्त्री डा. महतले सातबिसेर थप्रे जोड्ने तादी खोलाको पुलको निरीक्षण पछि  उनले भनेका छन,”बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ । आवागमन सहज बनाउन जतिसक्दो छिटो यस्को पुनर्निर्माण गर्नुपर्दछ। यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।”

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसंग प्रत्यक्ष भेट्ने,राहत, क्षतिपूर्ति,पुनस्थापना तथा पुननिर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा.महत पुगेका थिए । उनले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भनेका छन,”बाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ । यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसंग माग गर्दछु ।”

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरे । निरीक्षणपछि उहाँले भनेका छन”बाँधस्थल,  क्यानल , पावरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ । अहिले उत्पादन बन्द भएको छ । बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको ब्यबस्था गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु।”

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि डा.महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत,पुनस्थापना र पुनर्निर्माणको बारमो छलफल पनि गरेका थिए ।

उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिए । डा.महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका छन ।

२७ श्रावण २०७९, शुक्रबार २०:१५ मा प्रकाशित
Nabintech