काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशभरीका पालिकाहरुमा गरिने सभा सम्मेलनको संयोजन गर्ने जिम्मेवारी पाएका छन् गुरुङको संयोजकत्वमा कांग्रेसले देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरी त्यसको जिम्मा उनलाई दिइएको हो ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ’देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गर्दै शनिबार उपसभापति धनराज गुरुङको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।
उपसमिति सदस्यहरूमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार उपसमिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्नेछ । निर्वाचन अवधिभर सवै पालिकामा यस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
यसैबीच कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।
आमसभा हुने स्थान र मिति
मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते