काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैँको शुभसाईत पारेर टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान अर्थात १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए। आफूले टीका ग्रहण गरेपछि राष्ट्रावाती पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमाबुधबार बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए। गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले भने यस बर्ष आंफ्नो पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै बडादसैँ मनाएका छन् । वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव गत मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुर्ख्यौली गाउँ सपही पुगेका थिए । यस वर्ष गाउँमा पुगेर परिवारजन र दाजुभाइसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिएका छन ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरिन्। पूर्वराष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन।













