पोखरा, कास्की कारागारबाट यहि कात्तिक १ गते फरार भएका एक कैदीलाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको छ । ज्यान र डाका सम्बन्धी मुद्दामा जन्मकैदको सजाय भोगिरहेका कास्की कारागारका फरार कैदी सन्तोष जलारीलाई पक्राउ गरेको हो ।
जलारीलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एक गेस्ट हाउसबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो। पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय जलारी कात्तिक १ गते राति करिब २ बजे कास्की कारागारबाट फरार भएका थिए।
फरार कैदीको खोजी गर्ने क्रममा प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक ३ गते दिउँसो पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
ज्यान र डाका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट जन्मकैदको फैसला भएपछि उनी कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए। पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए।













