पोखरा,पोखरामा रहंदा संचारकर्म अनि सामजिक काममा सक्रिय कान्ति गुरुङ श्रेष्ठ करिब डेढ दशकदेखि बेलायत बस्दै आएकी छन। बेलायतमा रहेपनि बिभिन्न सामजिक कामको शिलशिलामा पटक पटक नेपाल आइरहने उनले गत बर्ष आंफ्नो बुवालाई गुमाएकी थिईन। बुवा गुमाएको एक बर्षमा अर्थात बार्षिकी मनाउन नेपाल आएकी उनले बुवाको सम्झना गर्दै लेखेको हृदयस्पर्शी पत्र जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।
मेरो प्यारो बाबा
समय त बर्ष दिन नै नै बितेछ बाबा, तर तपाईं हामीबाट टाढा हुनुभएको कुरा यो मनले आजसम्म स्वीकार गर्न सकेको छैन। तपाईंलाई गुमाएको एक वर्ष पूरा भएछ, तर मलाई त हिजोअस्ति जस्तै लाग्छ। तपाईंको सम्झना, तपाईंको माया, तपाईंले मलाई बोलाउने त्यो प्यारो आवाज—सबै कुरा आज पनि मेरो मनमा उस्तै ताजा छन्, बाबा।
लक्ष्मीपूजाको पूजा सकेर भर्खरै बसेकी थिएँ। त्यही बेला नेपालबाट ठूलो छोरा अर्जुनको फोन आयो। फोन देख्नेबित्तिकै मेरो मन चिसो भयो, बाबा। त्यो फोन अनूपतिर फालिदिएँ। त्यो क्षण मेरो मनमा कस्तो आँधी चल्यो, म शब्दमा कसरी भनूँ? एकछिन त आकाश नै मेरो टाउकोमाथि खसेजस्तो भयो। मन सुनसान भयो, आँखा रसाए, अनि फेरि त्यही पीडाले मुटु चिरियो। आज मेरो बाबा हामीमाझ हुनुहुन्न भन्ने सत्यले फेरि एकपटक मलाई भित्रैदेखि भत्कायो।
आज दसैँको दिन, मेरो प्यारो बाबा हामीबाट बिदा हुनुभएको एक वर्ष पूरा भयो। बाबा, तपाईंलाई थाहा छ नि, तपाईंकी सानु कति भावुक छे। सानासाना कुरामा पनि तपाईंलाई सम्झिन्छे, तपाईंलाई कति माया गर्छे। त्यसैले जहाँ हुनुहुन्छ, मन सानो नबनाउनुहोला है, बाबा। हामीले तपाईंलाई बिर्सेका छैनौँ, कहिल्यै बिर्सने पनि छैनौँ। तपाईंको माया हाम्रो मुटुभित्र छ, तपाईंको रगत हाम्रो शरीरमा बगिरहेको छ। यो जीवन रहुन्जेल तपाईं हामीभित्रै रहनुहुनेछ।
“अर्को दसैँमा आउँछु है” भन्दै परदेशिनुभएको तपाईंकी सानु यो दसैँमा त आइपुगी, बाबा, तर तपाईं आउनुभएन। मनले अझै पनि तपाईंलाई कतै जान दिन मानेको छैन, बाबा। कहिलेकाहीँ लाग्छ, अब ढोका खोल्दा तपाईं मुस्कुराउँदै आउनुहुन्छ कि, मलाई पहिलेजस्तै बोलाउनुहुन्छ कि! तर अर्को पलमै वास्तविकताले मन चुँडाएर लैजान्छ। तपाईं फर्केर आउनुहुन्न भन्ने सत्यले फेरि मन रुवाउँछ। यो एक वर्षमा मैले कति पटक तपाईंलाई सम्झिएँ, कति पटक मनमनै तपाईंसँग कुरा गरेँ, कति पटक आँसु लुकाएर हाँसेँ—त्यसको हिसाब मसँग पनि छैन, बाबा।
अरूका अगाडि आफूलाई बलियो देखाउन खोज्छु, तर मनको कुनामा बसेको तपाईंको अभावले मलाई बारम्बार कमजोर बनाउँछ। नेपालमा आमालाई भेट्न आउँदा किनमेल गर्न गएँ। सबैका लागि केही न केही किनेँ, सबैको भाग सम्झिएँ। तर अचानक झस्किएँ, बाबा—मेरो बाबाका लागि त मैले केही पनि किनिनँछु!
त्यो क्षण मन कति दुख्यो, कसरी भनूँ? पहिले तपाईंका लागि पनि केही किनूँ, तपाईंलाई यो मन पर्ला, त्यो मन पर्ला भनेर सोच्न पाइन्थ्यो। आज तपाईंका लागि केही किन्न खोज्दा मनले हजारौँ कुरा सोध्छ—बाबा, अब तपाईंलाई के किनिदिऊँ? कहाँ लगाइदिऊँ? कसलाई दिऊँ? आँखाबाट आँसु झर्न थाले, बाबा। तपाईंलाई सम्झिएर मनमनै रोएँ।
तपाईंको भागको माया अझै पनि मेरो मनमा उस्तै छ, तर तपाईंको हातमा राखिदिन पाउँदिनँ। यो पीडा सायद आफ्ना बाबालाई गुमाउने सन्तानले मात्र बुझ्न सक्छ। तैपनि मन बुझाएकी छु, बाबा। तपाईंले जीवनभर धेरै दुःख गर्नुभयो। अब जहाँ हुनुहुन्छ, शान्तिसँग हुनुहुन्छ होला, कुनै पीडा छैन होला, कसैले तपाईंलाई दुःख दिन सक्दैन होला भनेर आफ्नो मनलाई सम्झाउँछु। तपाईंको आत्माले चिरशान्ति पाओस्, बाबा।
अनि बाबा, तपाईंको प्यारो नाति कृत आकुले मलाई तपाईंको धेरै झल्को मेटाइदिएको छ। उसले मलाई ‘सानु’ भन्छ, ठ्याक्कै तपाईंले बोलाएजस्तै। उसको मुखबाट ‘सानु’ सुन्दा एकछिन त तपाईं नै बोलाउनुभएको जस्तो लाग्छ, बाबा। घरमा खाने, हिँड्ने, बोल्ने र व्यवहार गर्ने उसका सानासाना बानीमा तपाईंलाई भेट्छु। कहिलेकाहीँ उसलाई हेरेर मनमनै भन्छु—बाबा, तपाईंको माया त यही बच्चाभित्र पनि जीवित रहेछ। आकुलाई माया गर्दा तपाईंको माया सम्झिन्छु। उसलाई अँगालो हाल्दा तपाईंको न्यानोपन खोज्छु। उसको सानो बोलीमा तपाईंको आवाज सुन्न खोज्छु। सायद त्यसैले होला, बाबा, आकु मेरो लागि तपाईंको सम्झनासँग जोडिएको मेरो मुटुको एउटा टुक्रा पनि हो।

(आंफ्नो श्रीमान अनुप र छोरा आकुसंग कान्ति गुरुङ)
बाबा, तपाईंलाई फेरि एकपटक अँगालो हाल्न पाए, तपाईंको छातीमा टाउको राखेर मनभरि रुन पाए, तपाईंको हात समातेर केही बेर बस्न पाए—मलाई अरू केही चाहिँदैनथ्यो। तपाईंलाई कति कुरा भन्न बाँकी छन्, कति माया देखाउन बाँकी छ, कति पल तपाईंसँग बिताउन बाँकी थिए। तर जीवनले त्यो अवसर फेरि दिएन, बाबा।
तपाईंकी सानु आज पनि उही सानु हो, बाबा। तपाईंको माया खोज्ने, तपाईंलाई सम्झेर रुने, मन दुख्दा तपाईंलाई नै खोज्ने सानु। समयले तपाईंलाई मेरो आँखाबाट टाढा लग्यो, तर मेरो मुटुबाट कहिल्यै टाढा लैजान सक्दैन।
बाबा, तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट आफ्ना छोराछोरी, बुहारी, ज्वाइँ, नातिनातिना र हाम्रो परिवारलाई सधैँ आशीर्वाद दिइरहनुहोला। हाम्रो दुःखमा साथ दिनुहोला, हाम्रो खुसीमा मुस्कुराउनुहोला। हामीलाई सधैँ सही बाटो देखाइरहनुहोला। तपाईंको अभाव सधैँ रहनेछ, तर तपाईंले दिनुभएको माया, संस्कार र सम्झना पनि सधैँ हामीसँग रहनेछन्। तपाईंले सिकाउनुभएका कुराहरू हाम्रो जीवनका अमूल्य सम्पत्ति बनेर रहनेछन्। एक वर्ष बित्यो, बाबा, तर तपाईंलाई बिदाइ गर्न सकेकी छैन मैले। किनकि तपाईं मेरो सम्झनामा मात्र होइन, मेरो हरेक सासमा हुनुहुन्छ।
मेरो प्यारो बाबा, तपाईंकी सानुको मनमा तपाईंप्रति अनगिन्ती माया छ। तपाईं जहाँ भए पनि शान्तिसँग रहनुहोला। अर्को जुनी हुन्छ भने फेरि पनि तपाईंकी छोरी भएर जन्मिन पाऊँ, फेरि तपाईंको काखमा बस्न पाऊँ, फेरि तपाईंले मलाई ‘सानु’ भनेर बोलाउन पाऊँ। मेरो प्यारो बाबा, तपाईंको पहिलो वार्षिक पुण्यतिथिमा भावपूर्ण श्रद्धासुमन। तपाईंकी सानु, जसको मनमा तपाईंको ठाउँ कसैले कहिल्यै लिन सक्नेछैन।
तपाइंको छोरी
कान्ति गुरुङ श्रेष्ठ
बेलायत (हाल पोखरा)













