पोखरा, शाहवंशीय शासनको पहिलो दरबारको रुपमा मानिएको पोखरा -२४ कास्कीकोटमा अबस्थित कास्कीकोट दरबारमा शनिबार विधिवत् रूपमा पूजाआजासहित फूलपाती भित्र्याइएको छ। राष्ट्र शान्तिको कामना गर्दै कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव पनि चलिरहेको छ। यस वर्ष कोतघरमा पाणा पुजारीसहित १० दिनसम्म राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा जारी राखिएको छ।
पोखराको रामघाटबाट लगिएको फूलपत्रको डोली दरबारमा प्रवेश गराइएको हो। परापूर्वकालदेखि नै रामघाटबाट फूलपाती लैजाने परम्परा रहँदै आएको छ। फूलपाती भित्र्याएसँगै यहाँका कुँवर समुदायले सैन्य अभ्यासमा आधारित परम्परागत सरुन खेल प्रदर्शन गरेका थिए।

यसपटक कास्की दरबारको टूँडिखेलस्थित कुलमण्डन पार्कमा नेपाली सेनाले पहिलो पटक फूलपाती बढाइँसमेत गरेको छ। गुप्तकालिका काश्यप धार्मिक क्षेत्र विकास समितिले पुरानो रीतिरिवाज जोगाउन हरेक वर्ष प्राचीन शैलीमै दसैँ मनाउँदै आएको छ।
पहिले राजा, देश र जनताको भलोका लागि तान्त्रिक तथा वैदिक पूजा गरिन्थ्यो। यो वर्ष भने देशमा भइरहेका विपत्ति र प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामना गरिएको समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए।

गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि नै पर्व विशेषमा विभिन्न पूजाआजा गर्ने चलन रहेको समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए। उनका अनुसार मन्दिरमा प्राचीन कालदेखि नै तान्त्रिक र वैदिक विधिबाट पूजा हुँदै आएको छ।













