पोखरा, पोखराको जनप्रिय बहुमुखि क्याम्पस र एनवाइसि रत्नचोकको सहकार्यमा १० किलोमिटर खुल्ला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । ४ सय जना महिला तथा पुरुष धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ गौतम श्रेष्ठ, अजय पाण्डे र आशिष कुवँरले क्रमश पहिलो दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल भए भने महिलातर्फ मनकुमारी लामा, सपना परियार र सजना परियार क्रमश प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरेका छन।
पुरुष र महिलातर्फका बिजेतालाई क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैया नगद, मेडल, टफ्रि र प्रमाणपत्र प्रदान गरिएको थियो । जनप्रिय बहुमुखि क्याम्पसबाट परिसरबाट सुरु भएर रत्नचोक, सृजनाचोक, लेकसाइडको फुटट्रयाक, सहिद चोक, ड्यामसाइड, विरौटा चोक, मुस्ताङ्गचोक, हर्कचोक हुँदै जनप्रिय बहुमुखि क्याम्पस परिसरमा पुगेर दौड टुंगिएको थियो ।

बिजयी धावकलाई पुरस्कार वितरण गर्दै जनप्रिय बहुमुखि क्याम्पसका अध्यक्ष राजेन्द्र पहारीले खेललाई अनुशासन, स्वास्थ्य, शिक्षा र पर्यटनसँग जोड्ने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगितामा भएको उल्लेखनीय सहभागिताले कार्यक्रमको औचित्य पुष्टि गरेको भन्दै यस किसिमका कार्यक्रमहरुले पोखरालाई पर्यटकीय नगरीको रुपमा चिनाउन थप सहयोग पुग्नेमा जोड दिए ।
जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले समुदाय र क्याम्पसको विचमा सुमधुर सम्बन्ध स्थापित गर्ने कार्यक्रमको रुपमा एनवाइसि
रत्नचोकसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। क्याम्पस प्रमुख बरालले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेलप्रेमी, प्रतियोगिहरु, नेपाल प्रहरी, ट्राफिक प्रहरी, आइएनएफ हरियो खर्कको मेडिकल टिम र एनवाइसि रत्नचोकका युवाहरुप्रति आभार प्रकट गरे ।
दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने धावकहरुलाई प्रमुख अतिथि क्याम्पसका अध्यक्ष पहारीको साथै क्याम्पस प्रमुख बराल, एनवाइसि रत्नचोकका अध्यक्ष आशिक गुरुङ्ग, नेपथ्य व्याण्डका गायक गौतम गुरुङ्ग, दौड प्रतियोगिताका संयोजक शुसिल गुरुङ्ग लगायतले नगद पुरस्कार, मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरेका थिए ।
एनवाइसि रत्नचोकका अध्यक्ष आशिष गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कार्यक्रम संयोजक शुसिल गुरुङ्ग र आयोजक समितिको सदस्य जेनिशा गुरुङलगायतले आआफ्नो भनाई राखेका थिए ।













