काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । तीनै जनाले बडादसैँका अवसरमा नेपालीहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकता सुदृढ गर्नुका साथै सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्न मद्दत गरेको राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले बाढी प्रभावितको पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न सबै पक्षलाई अपिल गरेका छन् ।
यसैगरी उपराष्ट्रपति यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन् । सत्य, न्याय, धर्म र सदाचारको विजयको सन्देश बोकेको यस पर्वले लोभ, घृणा, अहंकार र वैमनस्य त्यागी सहकार्य, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न प्रेरणा दिने उनको भनाइ छ । उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी सम्मानलाई सुदृढ गर्दै समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन पनि आग्रह गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष दाहालले पनि बडादसैँले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान, सहिष्णुता र सद्भाव राख्दै विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।













