काठमाडौँ, नेपालको लागि भारतीय राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई भारत सरकारले नियुक्त गरेको छ । भुटानका लागि भारतको राजदूतका रूपमा काम गरिसकेका र भारतीय विदेश मन्त्रालयमा नेपाल–भुटान मामिला हेरेका दलेलाले छिट्टै आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।
भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी दलेला हाल भारतको विदेश मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्। भारत सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनले छिट्टै नेपालका लागि राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।
नेपालको राजनीतिक तथा कूटनीतिक परिवेशबारे उनको जानकारीले दुवै देशका आर्थिक र रणनीतिक हितका दृष्टिले महत्त्वपूर्ण सम्बन्धमा रहेका अवसर र चुनौती सामना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। काठमाडौं र नयाँदिल्लीले व्यापार, सम्पर्क सञ्जाल, ऊर्जा तथा क्षेत्रीय मामिलामा द्विपक्षीय सहकार्य अघि बढाउन खोजिरहेका बेला उनको नियुक्ति भएको हो।
उनले सन् २०२२ जुन २५ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका नवीन श्रीवास्तवको स्थान लिनेछन्। श्रीवास्तवले काठमाडौंमा चार वर्षभन्दा बढी समय बिताइसकेका छन्। उनको कार्यकालमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, सीमापार ऊर्जा सहकार्य र आर्थिक साझेदारीका क्षेत्रमा सम्बन्ध थप सघन बनेको थियो।
दलेलाको नियुक्तिलाई महत्त्वपूर्ण मानिएको छ। उनले यसअघि भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटानसम्बन्धी मामिला हेरेका थिए। साथै, उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा काम गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापार वार्तामा पनि अनुभव हासिल गरेका छन्। उनको कूटनीतिक अनुभवमा भुटान, बंगलादेश, अमेरिका, इजरायललगायतका देशमा गरेका काम पनि समावेश छन्।













